काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र बहिष्कारलाई सत्तापक्षले लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुवातमा बोल्दै सांसद निशा डाँगीले गत जेठ १३ गतेदेखि रास्वपाले गर्दै आएको आन्दोलनलाई लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली भएको बताइन् ।
‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउनु चाहन्छु,’ उनले भनिन्, ‘संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन । यो त लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो ।’
सांसद डाँगीले आफ्नो पार्टीले अहिले संसद्मा गरिरहेको अभ्यासलाई सत्तारूढ दलहरूले विगतमा पटक–पटक गरेको पनि बताइन् । ‘विगतमा आज स्वयम् सत्तामा बसेकाहरूले पटक–पटक प्रयोग गरेका छन्,’ उनले भनिन् ।
सांसद डाँगीले भिजिट भिसा प्रकरणमा जारी रास्वपाको आन्दोलन जारी रहेको पनि बताइन् । उनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अनिशा नेपालीले बोलेकी थिइन् ।
उनले पनि पार्टीको आन्दोलन जारी रहेको बताइन् । सांसद नेपालीले बोलिसकेपछि दुवै दल संसद् बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
प्रतिक्रिया