महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै « Khabarhub

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले महोत्तरीको भँगाहा नगरपालिका–७ मा ‘थारू संग्रहालय भवन’ निर्माण कार्य सुरु गरिएको छ।

थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको आयोजनामा बुधबार वडा नं. ७ स्थित तपस्वी तर्सरी बाबा मठको प्राङ्गणमा विशेष समारोहका बीच संग्रहालय भवनको शिलान्यास गरिएको हो। ६० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष राम नारायण चौधरीको अध्यक्षता र संरक्षक इन्जिनियर सुदीप कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि चौधरीले थारू भाषा, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा यो संग्रहालयले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, ‘यो संग्रहालयले हाम्रो थारू इतिहास र पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउनेछ, साथै यस स्थलले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्नेछ।’

उनले भविष्यमा संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र आर्थिक विकासका क्षेत्रमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा पूर्वराज्यमन्त्री नागेन्द्र प्रसाद चौधरी, विघटित प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, थारू कल्याणकारिणी सभाका पूर्व महामन्त्री अमिरी प्रसाद चौधरी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी र जनसमुदायको व्यापक सहभागिता रहेको थियो।

संग्रहालय निर्माण र सञ्चालनका लागि सबै सहभागीहरूले आफ्नो तर्फबाट सहयोग र योगदान गर्ने संकल्प गरेका थिए। साथै, तपस्वी तर्सरी बाबा मठ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव शैलेन्द्र सिंह थारूले गरेका थिए भने स्वागत मन्तव्य थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य चन्द्र नारायण सिंह थारूले दिएका थिए।

थारू समुदाय नेपालको कुल जनसंख्याको करिब ७ प्रतिशत रहेको समुदाय हो, जसको बसोबास पूर्वी झापादेखि पश्चिमी कैलाली–कञ्चनपुरसम्म फैलिएको छ। आफ्नो भाषा, परम्परा, धर्म र संस्कृतिको पहिचान जोगाइराख्न थारू समुदायले विगतदेखि निरन्तर संघर्ष गर्दै आएको छ।

थारू कल्याणकारिणी सभा लगायतका संस्थाहरूले यस अभियानलाई अगाडि बढाउँदै आएका छन्, जसमा महोत्तरीको थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको यो पहल समुदायको पहिचान र गौरवको दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १० : १३ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको