कलामय बन्यो कुश्माको शताब्दी घर « Khabarhub

कलामय बन्यो कुश्माको शताब्दी घर


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो ।

उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको ‘एक दिवसीय कला कार्यशाला’ मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् ।

तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे ।

परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताए । ‘कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो’, उनले भने ।

धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीले बताए ।

कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने उनको भनाइ छ । परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पु¥याएको बताए ।

‘कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बन्यो, कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ’, उनले भने, ‘पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।’

कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको सदस्य सचिव थुम्केलीले बताए । उनले धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकलासम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको सुनाए ।

प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलका अनुसार राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको हो ।

व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने प्राज्ञ सदस्य कँडेलको भनाइ छ ।

नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा राखे । उनले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरुको सहभागिता रहने बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने उक्त प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ ।

बागलुङका कलाकार मछिन्द्र शाक्यले कार्यशाला पुरानो र नयाँ पुस्ताका कलाकारलाई जोड्ने सेतु बनेको धारणा राखे ।

शाक्यसहितका केही कलाकारले शताब्दी घर र त्यहाँ सङ्ग्रहित परम्परागत सामग्रीलाई क्यानभासमा उतारेका थिए । कतिपयले प्रकृति, संस्कृति पर्यावरण, जनजीवन आदि झल्काउने चित्र कोरे । (रासस)

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : २० बजे

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक