रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन् « Khabarhub

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

जेन–जीका माग यही सरकारले पूरा गर्नुपर्ने अडान



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।

पार्टीका शीर्ष नेताहरूसहित रविले प्रधानमन्त्री कार्कीलाई भेटेर कांग्रेस–एमालेले चुनावी वातावरण बिथोल्न खोजेको पोल लगाए । उनले यसतर्फ प्रधानमन्त्री सजग हुनुपर्ने बताए ।

उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतमसहित पुगेका उनले चुनाव र त्यसका कानुनी जटिलताबारे पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

आफूमाथि कांग्रेस–एमालेले राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाएको बताउँदै उनले त्यसलाई डटेर सामना गरिरहेको प्रधानमन्त्रीलाई जानकारी गराए। अदालतको निर्णय मान्ने तर राजनीति प्रतिशोधबारे प्रधानमन्त्रीले पनि चासो राख्नुपर्ने रविको अडान थियो।

‘निर्वाचन होस्’

लामिछानेले देशलाई थप द्वन्द्व र मुठभेटतिर नलान तोकिएको समयमा निर्वाचनको वातावरण बनाइरहेकोमा आफू उत्साहित भएको बताए । तर निर्वाचन बिथोल्न कांग्रेस–एमालेले ठूलै षड्यन्त्र गरिरहेकाले त्यसतर्फ सजग हुन पनि प्रधानमन्त्रीलाई रविको आग्रह थियो।

‘यहाँलाई थाहै छ, कांग्रेस–एमाले जुन किसिमले गतिविधि गरिरहेका छन्, त्यो पछिल्लो पुस्ताको मागविपरीत हो । अब पुनर्स्थापना गरेर पुरानो संसद् चल्ने अवस्था छैन’, उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई थाहै छ, यो नवपुस्ताले यसलाई स्वीकार्दैन ।’

‘प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई लिएर सर्वोच्च अदालतमा बहुमत सांसदको हस्ताक्षर बुझाइँदै गरेको यहाँलाई पनि सूचना भयो होला, मलाई पनि छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यू यो देशलाई थप संकटतिर नलान भूमिका खेल्नुपर्छ । यहाँ सबैको प्रधानमन्त्री बन्नुहोस्, तर सत्यको बढी ।’

रविले सरकार गठन असंवैधानिक भए पनि तत्कालको जनादेशले यस्तो परिकल्पना गरेकाले यसलाई आफूहरूले साथ दिएकोसमेत बताए ।

‘हामीले यही देशको संविधान कानुन र शासन मान्दै आएका छौँ । तर जुन किसिमले भदौ २३ र २४ गते घटना भयो, त्यो एकदमै दुःख छ । हामीले सदनमा प्रतिनिधित्व गर्दा पनि पटक–पटक यी आवाज उठाएका थियौँ’, उनले भने, ‘हाम्रो आवाजको सुनुवाइ नभएपछि जनताले सहेर बसेनन् ।’

‘सबै कुरा ठिकठाक रूपमा चलेको थियो भने साँच्चिकै प्रतिनिधि सभा विगठन असंवैधानिक थियो। तर परिस्थिति देश नै खतरामा जाने थियो’, उनले भने, ‘जटिल अवस्थामा बनेको सरकार भएकाले यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ, बढेका छौँ । देशको तत्कालीन अवस्था र परिस्थितिलाई बुझेर जुन तरिकाले यहाँले देशलाई अगाडि बढाउनुभएको छ, त्यो एकदमै प्रशंसनीय छ । प्रधानमन्त्रीज्यू यहाँमाथि ठूलै षड्यन्त्र गरेर हटाउन खोजिएको छ, सजग रहनुहोला ।’

उनले देशको कानुन र संविधानमाथि प्रहार हुँदा त्यसलाई बचाउन रास्वपा सँगै रहने बताउँदै उपयुक्त निकास निर्वाचन नै भएको जिकिर गरे ।

‘जेन-जीका माग सम्बोधन हुनुपर्छ’

छलफलमा जेन–जी जेनजी आन्दोलनपछि सरकारसँगको सम्झौता पत्रमा उल्लेखित मागहरू सरकारले पूरा गर्न लिखित प्रतिबद्धता गर्नुपर्ने कुरा सबिता गौतमले उठाइन् ।

उनले यो सरकारले नै आन्दोलनका मुद्दा संस्थागत गरेर अगाडि बढ्नुपर्ने बताइन् । भावी दिनहरूमा अन्य दलले उनीहरूमाथि प्रतिशोध साँधेर व्यवहार गर्न नसक्ने सम्झौता हुनुपर्ने सुझाव दिइन् ।

‘जेन–जीले उठाएका जायज माग र मुद्दा सम्बोधन गरेनौँ भने अर्को सरकारले उनीहरूमाथि प्रतिशोध साँध्ने अवस्था छ। त्यसपछि उनीहरू अपराधी करार भएर जुनसुकै बेला निशानामा पर्न सक्छन्’, गौतमले भनिन्, ‘प्रधानमन्त्रीज्यू कानुनको व्याख्याता भएकाले यतातिर ख्याल गर्नुभएको लागेको छ। आन्दोलनलाई संस्थागत गर्ने र जायज माग पूरा गर्ने सन्दर्भमा यहाँ डराउनु हुने छैन ।’

जेन–जीले बुझाएको सम्झौता पत्रलाई वैधानिकता दिन राष्ट्रपतिको उपस्थितिमा हस्ताक्षर हुनुपर्ने रास्वपा नेताहरूको माग थियो।

निर्वाचनमा भाग लिने स्वतन्त्रतालाई सरकारले रोक्न नहुने र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने मागसमेत रास्वपाले गरेको थियो।

‘निर्वाचनमा जान सबै पार्टीका लागि स्वतन्त्र वातावरण सिर्जना होस् । यसका निम्ति प्रधानमन्त्रीले कति सुरक्षाकर्मी थप्नुपर्ने, अन्य व्यवस्थापन कति गर्नुपर्ने, त्यो गर्नु हुने हामीलाई लागेको छ’, नेता शिशिर खनालले भने, ‘निर्वाचनमा पार्टी नेता र उम्मेदवारको सुरक्षाको ग्यारेन्टीसहित मतदाताको सुरक्षा पनि हुनुपर्छ । मतदाताले आफ्नो मत चाहेको पार्टी वा व्यक्तिलाई स्वतन्त्र रूपले राख्न पाउने वातावरण बनाउने जिम्मेवारी सरकारको हो।’

प्रधानमन्त्रीले के भनिन् ?

प्रधानमन्त्री कार्कीले सबै दललाई समेटेर निर्वाचनमा जान दिनरात खटेको बताएकी थिइन्। लामिछानेको स्वास्थ्य स्थितिबारे चासो राखेकी उनले अदालतमा विचाराधीन विषयमा आफूले नबोल्ने बताइन्।

राजनीतिक प्रतिशोध हो होइन अध्ययन गरिरहेको उनले बताइन् । कार्कीले जनता र दलसँगै नेताको पनि सुरक्षाको प्रत्याभूति सरकारले गराउन पहल गरिरहेको बताइन्।

‘जसरी बाहिर चर्चा गरिरहेको छ, त्यति धेरै देशमा असुरक्षा छैन। प्रहरीको मनोबल उच्च हुँदैछ । यहाँहरूलाई थाहै छ, ३०–३५ वर्ष शासन गरेका व्यक्तिहरूले नै प्रहरीको मनोबल गिराए’, उनले भनिन्, ‘अहिलेको सरकारले मनोबल गिराउने काम गरेको छैन।’

प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने बाटो सरकारले बन्द नगर्ने बताए । ‘त्यो उहाँहरूको अधिकार हो । सरकार कुनै हिसाबले चुनाव फागुन २१ मै गरी छोड्ने प्रयत्नमा छ’, उनले भनिन्, ‘उहाँहरूले देशबारे सोच्नुहुन्छ भन्ने लागेको छ । म निरन्तर संवादमा छु । सोमबार पनि संवाद गर्दै छु ।’

कार्कीले सरकारले चुनाव पछाडि सार्नका लागि कुनै पनि तयारी नगरेको बताउँदै जेन–जीको जायज माग र मुद्दालाई पनि सम्बोधन गरेर अगाडि बढ्ने बताइन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ५६ बजे

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग