मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको उद्घाटन गरेका छन् ।
हेटौँडा उपमहापालिका–२ स्थित नेपाली कांग्रेस मकवानपुर कार्यालय परिसरमा निर्मित नेता सूर्यबहादुर डिमडुमको नाममा बनाइएको स्मृति भवनको आज उनले उद्घाटन गरेका हुन् ।
एक सभागृहसहित चार वटा कोठा र शौचालय रहेको स्मृति भवन हेटौँडास्थित विभिन्न सङ्घ संस्था र समाजसेवीको ४८ लाख ५५ हजार रुपैयाँ सहयोगमा निर्माण गरिएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले मुलुकमा संसदीय प्रजातन्त्रको पुनः स्थापना गर्ने क्रममा कांग्रेस नेता डिमडुम नेतृत्वको मोर्चाले पुर्याएको योगदान सधैँ स्मरणीय रहेको बताए । स्मृति भवनले स्वर्गीय नेता डिमडुमको स्मरणलाई चिरस्थायी बनाउने र यस्तो कार्यमा सहयोग गर्ने सबै धन्यवादका पात्र भएको बताए ।
मुख्यमन्त्री बानियाँले सोही अवसरमा विश्वेश्वरप्रसाद कोइराला स्मृति पुस्तकालयको पनि उद्घाटन गरे । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको आयआर्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै समानुपातिक रूपमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति लामाले मुलुकका प्रमुख दलहरूले सत्ताको होडबाजीमा भन्दा जनताको विकासको चाहना सम्बोधन गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।













प्रतिक्रिया