पाथीभरामा जन्मियो अर्को विवाद ! | Khabarhub Khabarhub

पाथीभरामा जन्मियो अर्को विवाद !

मानवीय संरचना हटाउन विकास समितिको निर्देशन


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पाथीभरामा हालै युमा धर्मावलम्बीले गाडेको याग्राङसिं र साम्योलुङ

ताप्लेजुङ– केवलकार निर्माण परियोजनाका कारण विवादमा पर्दै आएको ताप्लेजुङको पाथीभरा क्षेत्रमा फरक विवाद सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिले त्यहाँ बनाइएका मानव निर्मित संरचना हटाउन तीन दिने अल्टिमेटम दिएपछि नयाँ विवाद जन्मिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले चैत ८ गते एक विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्रमा बनाइएका संरचना तीन दिनभित्र हटाउन अल्टिमेटम दिएका छन् ।

‘पाटी, पौवा, टहरासहित अन्य संरचना हटाउनका लागि गरिएको सूचना’ शीर्षकमा कार्यकारी निर्देशकका तर्फबाट जारी सूचनामा भनिएको छ, ‘मानव निर्मित संरचना हटाउने निर्णय भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा ०८१ साल चैत्र ६ गते रातको समयमा पाथीभराको डाँडामा गाडिएको मुम्कुम्लुङ (ढुंगा) र यग्राङसिं (फलामको नौ तले भर्‍याङ) हटाउनका लागि सम्बन्धित पक्षलाई तीन दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन गरिन्छ ।’

विकास समितिको सूचनामा अगाडि भनिएको छ, ‘यदि तोकिएको समय सीमाभित्र सम्पर्कमा नआएमा उक्त संरचना पाथीभरा क्षेत्र विकास समितिको तर्फबाट हटाइने जानकारी समेत गरिन्छ ।’

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ

प्रसिद्ध तीर्थस्थल पाथीभराको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने उद्देश्यले नेपाल सरकारले विकास समिति ऐन २०१३ बमोजिम ०५३ सालमा ‘पाथीभरा क्षेत्र विकास समिति गठन’ गरेको हो । समितिलाई पाथीभरा क्षेत्रको प्रत्यक्ष रेखदेख गर्ने जिम्मेवारी रहेको सूचनामा जनाइएको छ ।

पाथीभरा क्षेत्रमा हुने कुनै पनि गतिविधि वा कार्य समितिको स्वीकृति बिना अमान्य हुने भएकाले कुनै पनि गतिविधि वा निर्माण कार्य बिनाजानकारी नगर्नु हुन अनुरोध सूचनामा अनुरोध गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको निर्णय अनुसार पाथीभराको मुख्य प्रवेशद्वारभित्रको क्षेत्रमा मानव निर्मित संरचना निर्माण नगर्ने, उक्त क्षेत्रमा वृक्षारोपण गरी पाथीभराको प्राकृतिक सुन्दरतालाई कायम राख्ने क्षेत्र विकासको योजना रहेको बताइएको छ ।

उक्त क्षेत्रभित्र व्यक्ति, समूह, संघ, संस्था, सरकारी, गैरसरकारी क्षेत्रवाट निर्माण भएका सबै संरचनाहरू १५ दिनभित्र हटाउन वा अन्यत्र सार्न भनिएको छ ।

हेर्नुहोस् विकास समितिको सूचना–

याग्राङसिङ नहटाइदिन अनुरोध

यसैबीच, युमा साम्यो नेपालका सचिव भीमसेन लिम्बुले अर्को वक्तव्य जारी गर्दै याग्राङसिङ नहटाइदिन पाथीभरा क्षेत्र विकास समितिसँग माग गरेका छन् ।

लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङद्वारा चैत ८ गते प्रकाशित विज्ञप्ति अनुसार केही दिनअघि सेमुक्तु मुक्तिफोमाङ (पाथिभरा देवस्थल) क्षेत्रमा स्थापना गरिएको याग्राङसिङ र साम्योलुङ १५ दिनभित्र हटाउन जारी गरिएको निर्देशनप्रति यस संस्थाको ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्वका समस्त युमा धर्मावलम्बीहरूको प्रमुख धार्मिक अनुष्ठान वया तङसिङको लिङ्गो याग्राङसिङ र साम्योलुङ मौलिक मुन्धुमी आस्था र विश्वासको एक पवित्र प्रतीक मानिने हुनाले अब उप्रान्त युमा धर्मावलम्बीहरूले उक्त सेमुक्तु मुक्तिफोमाङ (पाथीभरा देवस्थल) मा पुगी तङसिङ अनुष्ठान लगायत भाकल अनुसारका अन्य पूजाआजा सम्पन्न गर्न सहज हुने भएकोले हालै स्थापित उपर्लेखित संरचनाहरू यथाअवस्थामै संरक्षित गरि राखिदिनहुन पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ समक्ष यस संस्था मार्फत सम्पूर्ण युमा धर्मालम्बीहरूको तर्फबाट हार्दिक विनम्र अनुरोध गर्दछु ।’

याक्थुङ चुम्लुङको अर्को आपत्ति

यसैबीच, याक्थुङ चुम्लुङका तर्फबाट लोकेन्द्र तबेबुङले पनि शनिबार एक विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्र विकास समितिलाई याक्थुङ लिम्बुहरुले खारेज गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘याक्थुङ लिम्बुका लुङयक र यङग्राङसिङलाई ढुङगा र फलामको भ¥याङ भनेर होच्याएको शब्दहरु र तुरुन्त हटाउनु भन्ने धम्कीबाट रत्ति पनि तर्सिएका छैनौं ।… तीनदिने निर्देशन मान्ने हामी याक्थुङ लिम्बुहरु सरकारको कर्मचारी होइनौं ।’

सम्पर्कमा आए दुई निर्माता

समितिका कार्यकारी निर्देशक हाङवाङले खबरहबसँग भने, ‘उहाँहरु लिखित अनुरोध पत्रसहित हामीसँग सम्पर्कमा आइसक्नुभएको छ । हामीले उक्त संरचना हामीले बनाएका हौं, नभत्काइयोस् भनेर अनुरोध गर्नुभएको छ, हामीले यसमा छलफल गरेर निर्णय दिउँला भनेका छौं ।’

किरात धर्मावलम्बीले पूजा गर्ने ठाउँमा पूर्वजानकारी नै नदिई युमा धर्मावलम्बीहरुले संरचना बनाएपछि सूचना जारी गरिएको हाङवाङले बताए ।

पाथीभरा मन्दिरको गेटभित्र बनाइएका मानवनिर्मित संरचनाहरु हटाउँदै जाने विकास समितिले निर्णय गरेको उनले जानकारी दिए । कार्यकारी निर्देशक हाङवाङले भने, ‘हामीले गेटभित्र रहेका हाम्रा कर्मचारीहरु र उनीहरुले प्रयोग गरेको किचेन हटाइसकेका छौं । अब तीनवटा पाटीहरु हटाउने तयारी छ ।’

किरात धर्मगुरु फाल्गुनन्दको प्रतिमा

पाथीभराको शीरमा बनेको फाल्गुनन्दको मूर्ति र अन्य संरचनाहरु भने सर्वदलीय र सर्वपक्षीय छलफल गरेर सबै धर्मावलम्बीहरुको सहमति भएमा मात्रै हटाइने उनले बताए । यसका लागि केही समय लाग्न सक्ने उनले जानकारी दिए ।

पाथीभरामा किरात धर्मावलम्बीले बनाएका संरचना हटाउने हो भने हिन्दू धर्मावलम्बीका मूर्ति पनि हटाइनुपर्ने माग भएकाले यसमा सर्वपक्षीय सहमति आवश्यक रहेको उनले बताए ।

धार्मिक समुदायले बनाएका संरचनाहरु हटाइरहँदा केबलकार निर्मातालाई चाहिँ पाथीभरामा संरचना बनाउन दिन मिल्छ ? खबरहबको प्रश्नमा कार्यकारी निर्देशक हाङबाङले केबलकार कम्पनीले बनाएको नयाँ डीपीआर हेरेर यसबारे निर्णय लिइने बताए ।

पाथीभराको मुख्य स्थलमा रहेका हिन्दू धर्मावलम्बीका संरचना

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : १४ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार