बागलुङको अर्नाकोटमा खानेपानीको समस्या | Khabarhub Khabarhub

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानीको अभावकै कारण अर्नाकोटवासीहरु गाउँ छोड्न बाध्य छन् । निसीखोला गाउँपालिका– २ देवीस्थानको उच्च भागमा पर्ने अर्नाकोट पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ । खानेपानीको धारामा हिउँदमा मुस्किलले दुई गाग्री पानी पनि नआउने स्थानीयको गुनासो छ ।

खानेपानीको समस्या समाधानका लागि अर्नाकोटमा लिफ्ट आयोजनामार्फत खानेपानी वितरण गर्न खोजिए पनि उक्त आयोजनाले पानीको प्यास मेटाउन सकेको छैन । अर्नाकोटमा बाह्रैमास खानेपानीको अभाव हुने गरेको स्थानीय छलवीर विकले गुनासो गरे ।

‘खानेपानीको ठूलो समस्या छ, दुई गाग्री पानीले दिनभर कसरी पुर्‍याउने सरसफाइ र पशुपालनका लागि त खानेपानी पुग्दैन’, ८१ वर्षे विकले भने, ‘पानीको कारणले समयमा सुत्नसमेत पाइँदैन, सक्नेहरू त गाउँ छोडेर सहर पसिसके, हामी गाउँ छोड्न सकिएन, बाँचुञ्जेल प्रशस्त खानेपानी भएको हेर्नसमेत पाइएन ।’

छलवीर जस्तै नरमती रसाइलीको दैनिकी पानीको जोहो गर्नमै बित्छ । उनले खानेपानी ल्याउनका लागि छिमेकी पालिका ढोरपाटन नगरपालिका– ५ स्थित वसन्तधाराको मूलसम्म पुग्ने गरेको बताइन् । ‘एकदुई गाग्री पानी आउँछ त्यही पनि कहिले आउँदैन, एक घण्टा हिँडेर पानी बोक्नुपर्ने अवस्था छ, वर्खामा पुरानो धारामा जेनतेन पानी आउने भए पनि हिउँदमा झनै सास्ती हुन्छ’, नरमतीले भनिन् ।

केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटकपटक बिग्रिएर समस्या भएको छ । विसं २०४७ मा ल्याएको ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको स्थानीय ओमबहादुर रसाइलीले बताइन् ।

उनले निसीखोलाको पातीहाल्ने नजिकैबाट पानी ल्याउन सम्भव देखिए पनि बजेट अभाव भएको बताए । ढोरपाटन नगरपालिका–५ र निसीखोला–२ मा पर्ने अर्नाकोट क्षेत्रमा करिब चार सय घरधुरी छन् । सबै घरमा खानेपानीको अभाव छ ।

पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताए । विद्यालयमा पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाइदेखि स्वास्थ्यका क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ ।

उच्च भूभागमा रहेको अर्नाकोटमा खानेपानी अभाव रहेको बताउँदै मुहानको अभाव रहेको वडाका अध्यक्ष कुवीर विश्वकर्माले बताए । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २० बजे

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३

राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

काठमाडौं– धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ ।

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु– बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने

किसानको हितमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

पाटन– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार

नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ?

काठमाडौं– जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वमै धनीमध्येको मुलुक हो ।