कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद | Khabarhub Khabarhub

कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई गत चैत २९ मा २४ घण्टे स्पष्टीकरण सोधे ।

ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि राज्यमन्त्री तामाङले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका थिए ।

सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको मञ्चमा पटकपटक बोलाउँदासमेत सचिव उपस्थित नभएको भन्दै राज्यमन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ सचिव आचार्यले कहिल्यै दिएनन् ।

तर, सचिवलाई स्पष्टीकरण सोधेका उनै राज्यमन्त्री तामाङले बुधबार पदबाट हात धुनुपरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवाकै निकटमध्ये एक उनी ऊर्जामन्त्री र सचिव दुवैसँग भिड्न थालेपछि पद गुमाउन पुगेका हुन् ।

उनै तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेपछि योसम्मको समस्या आउन सक्ने आँकलन गरिएको थियो । ‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’, उनले चैत २९ मा सचिव आचार्यलाई सोधिएको स्पष्टीकरणमा भनेका थिए ।

मन्त्री तामाङले विभागीय मन्त्रीलाई अवहेलना गरेको हो भन्दै प्रश्नसमेत गरेका थिए । ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?’, स्पष्टीकरणमा भनिएको थियो ।

संयोग कस्तो भयो भने मंगलबार मात्रै आएका भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर फर्किएलगत्तै तामाङको पद पनि गएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता हुँदा तामाङ कतै देखिएका थिएनन् ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका भारतीय विद्युत्मन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको थियो। दुई देशबीचका मन्त्रीको उपस्थितिमा काठमाडौं र संखुवासभामा विभिन्न कार्यक्रम हुँदा पनि तामाङ भूमिकाविहीन थिए

गरेका थिए कुलमानको बचाउ

नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमै ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन जोडबल गरेका थिए ।

नभन्दै, पटक पटकको स्पष्टीकरणपछि सरकारले गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकमार्फत् घिसिङलाई सरकारले बर्खास्त गर्‍यो ।

घिसिङलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । यो निर्णयमा पनि तामाङले आपत्ति जनाएका थिए ।

उनै तामाङले सार्वजनिक रुपमै कुलमानको बचाउ गरिरहेका थिए । गत फागुन ११ गते सार्वजनिक रुपमै उनले कुलमानलाई स्पष्टीकरण सोध्ने ऊर्जामन्त्री खड्काको कदमको खुलेर विरोध गरेका थिए ।

तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने कुरा उनले संसद् भवन परिसरमै फागुन ११ मा बताएका थिए ।

राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिले नाफाको अवस्थामा ल्याएको भन्दै प्राधिकरणबाट हटाउन नहुने बताएका थिए ।

नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै उनले हटाउने विषयमा आफ्नो असहमति प्रकट गरेका थिए ।

उनले त्यसबेला आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेकाले फेरि चार वर्षका लागि मौका दिनुपर्ने जिकिर गरेका थिए ।

तर उनको यो भनाइ ऊर्जामन्त्री खड्का र गठबन्धन सरकारको स्वार्थविपरीत थियो । कांग्रेसबाटै राज्यमन्त्री बनेका उनी कांग्रेसकै ऊर्जामन्त्रीसँग स्वार्थ बाझिने गरी टिप्पणी गरिरहेका थिए ।

कुलमानलाई हटाउन सारा शक्ति लगाएका कांग्रेस-एमालेका लागि तामाङको गतिविधि र टिप्पणी स्वीकार्य हुन सकेन । त्यहीकारण गृहमन्त्री रमेश लेखकले तामाङलाई मंगलबार मात्रै राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगकै सल्लाहमा बर्खास्त गरेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : २९ बजे

नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार