यी चार सांसदको जिल्लामा सहरी विकासले कति छुट्याएको छ बजेट ? | Khabarhub Khabarhub

यी चार सांसदको जिल्लामा सहरी विकासले कति छुट्याएको छ बजेट ?


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विननियोजन गरेको बजेटप्रति सत्तापक्षकै सांसदहरूमा चर्को असन्तुष्टि देखिएको छ ।

प्रतिपक्षले गर्ने आलोचनालाई त उसले आफ्नो धर्म निर्वाह गरेको भन्न सकिएला तर सत्तापक्षकै सांसदमा बजेटबारे देखिएको यति चर्को असन्तुष्टि स्वभाविक होइन ।

गत जेठ १५ गे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमाथि अहिले संसद्मा छलफल जारी छ । प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा आ–आफ्नो जिल्लामा बजेट नपरेको भन्दै खासगरि नेपाली कांग्रेसकै सांसदहरूले कडा आपत्ति जनाइरहेका छन् ।

बजेटमाथिको छलफलका क्रममा प्रायः सांसदहरूको असन्तोष कांग्रेसको नेतृत्व गरेर सरकारमा सहभागी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति लक्षित देखिन्छ । सिंहलाई त सांसदहरूले उनका दिवंगत पिता एवम् लौहपुरुष गणेशमान सिंहकै बेइज्जत गरेको टिप्पणीसमेत गरिरहेका छन् । एकजना सांसद एवम् आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आइतबारको बैठमा सिंहप्रति कटाक्ष गर्दै आफू भए मुख छोपेर हिँड्ने टिप्पणी गरे ।

‘हामीले कसरी जनतालाई आश्ववस्त गर्ने यो सरकारले समृद्धि ल्याउँछ भनेर ? यो सरकारले अहिले स्वीकार्नुपर्छ, उहाँहरूले गरेको प्रतिबद्धता पूरा हुँदैन’, उनले आइतबार भने, ‘सहरी विकास मन्त्रालयबारे त बोलिसक्नु छैन । भोजपुरीमा एउटा उखान छ नि, ‘ना मुछ कान बुच’, अहिले त्यस्तै भएको छ यो मन्त्रालयमा ।’

उनको आक्रोश त्यतिमै थामिएन । उनले प्रकाशनमानलाई गठबन्धन सरकारको प्रमुख व्यक्तित्व भन्दै लाजै पचाएको पनि उल्लेख गरे । ‘उहाँ गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । तर उहाँको बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्स !’, उनले भने, ‘उहाँले आफ्नै स्वर्गीय पिता (गणेशमान सिंह)को अपमान गरिरहनु भएको छ । उहाँले गणेशमानलाई बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ ।’

संसद्मा पछिल्लो छलफलका क्रममा प्रकाशमानप्रति चर्को सुनिनेमा कांग्रेसकै सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र सुनील शर्मा छन् । त्यसैगरि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद सूर्यबहादुर थापाक्षेत्री र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि हुन् ।

कांग्रेस सांसद एवम् पूर्वऊर्जा राज्यमन्त्री कान्छारामले त आइतबार संसद्को रोस्ट्रममा उभिएर सहरी विकास मन्त्री सिंहलाई पार्टीको १५ औँ महाधिवेशनमै ठेगान लगाइदिने चुनौती दिन भ्याए ।

उनले भगवान् बुद्ध र पशुपतिनाथलाई पुकारेरै ०८४ को चुनावपछि अर्थमन्त्री विष्णु पौडेल र सहरी विकासमन्त्री सिंह दुवैलाई संसद्मा देख्नु नपरोस् भनेर कामनासमेत गरे ।

आइतबार नै एमालेका सांसद थापाक्षत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहदाई पदबाट हटाउनुपर्ने भन्दै आक्रोश पोखे । सहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग मन्त्रालय बनेको उनको आरोप थियो ।

सहरी विकासले जनताको पक्षमा ध्यान नदिएको टिप्पणी गर्दै सांसद थापाक्षत्रीले भने, ‘प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनभयो । हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन । जय नेपाल भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाए ।’

उता मोरङ क्षेत्र नम्बर ३ का कांग्रेस सांसद सुनील शर्माले आइतबार संसद् बैठकमा मन्त्रीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजनाकेन्द्रित गरेर सरकारी ढुकुटीमा लुट मच्चाएको आरोप लगाए ।

‘राज्यसत्ता हातमा लिएर, राज्य सत्तामा बसेर, पावरको अभिमान देखाएर अनि नागरिकलाई ‘लिगल वे’बाट लुट्न पाइँदैन,’ उनले आक्रोश पोखे, ‘कर नेपालका सबै नागरिकले तिरेका छन् । हेक्का रहोस् यहाँहरुलाई । अनि भकारीको चाबी लिएर बजेट आफ्ना नेताहरुको क्षेत्रमा मात्र हाल्ने ?’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त आइतबार संसद बैठकमा बजेटमाथिको छलफलका क्रममा आपत्तिजनक अभिव्यक्ति दिए । उनले ‘चार–पाँच जिल्लाबाहेक अरू ७२ वटालाई अर्कै देश (भारत, चीन र अमेरिका) लाई लिजमा दिऊँ’ भन्ने अभिव्यक्ति दिएपछि एमालेले नियमापत्ति नै जनाउनुप¥यो ।

सांसद सिंहले सर्लाहीका लागि बजेट नराखेको भन्दै संसद्मा गुनासो गरे । ‘सहरी विकास मन्त्रालयबाट सुरू गर्छु । काठमाडौंमा ३ करोडको दरले १३१ योजना छन् । काठमाडौंमा १३१ वटा हुँदा मेरो जिल्ला (सर्लाही) मा १५–२० वटा योजना त पथ्र्यो । ठीक छ मैले त्यति भाग खोजेको होइन । सर्लाहीका जनतालाई २० वटा राखे हुन्थ्यो,’ उनको भनाइ थियो ।

बजेट बाँडफाँट

के सांसद सिंहले गुनासो गरेको जस्तै उनको गृहजिल्ला सर्लाहीमा सहरी विकास मन्त्रालयबाट बजेट नै नपरेको हो त ? खबरहबलेमन्त्रालयसँग विनियोजित बजेटबारे जिज्ञासा राखेको छ ।

जसअनुसार सहरी विकासमन्त्री सिंहको सचिवालयले स्वतन्त्र सांसद सिंह, कांग्रेसका सांसदद्वय तामाङ र शर्मा तथा एमाले सांसद थापाक्षत्रीको गृहजिल्लामा मन्त्रालयअन्तर्गत परेको योजनाको तथ्यांक दिएको छ ।

सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार स्वतन्त्र सांसद सिंहको गृहजिल्ला सर्लाहीमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि एक अर्ब १३ करोड कूल रकम भएका ९६ वटा कार्यक्रम परेका छन् । अघिल्लोपल्ट सर्लाहीमा ९९ करोड ६१ लाख रुपैयाँ विनियोजन भएको थियो ।

यस्तै मन्त्री सिंहलाई पदच्यूत गर्नुपर्ने अभिव्यक्ति दिएका एमाले सांसद थापाक्षत्रीको गृहजिल्ला प्यूठानमा आगामी आर्थिक वर्षका लागि ४० वटा योजनामा ४८ करोड रुपैयाँ विनियोजन भएको छ । अघिल्लोपल्ट प्यूठानमा सहरी विकास मन्त्रालयबाट २७ करोड बजेट विनियोजन भएको तथ्य मन्त्री सिंहको सचिवालयले उपलब्ध गराएको छ ।

प्यूठानको जनसंख्या– २,३२,०१९
नेपालको जनसंख्या– २,९१,९२,४८०
प्यूठानको जनसंख्या प्रतिशतमा– ०.७९ %
सहरी विकास मन्त्रालयको जम्मा बजेट– १ खर्ब १८ अर्ब
आ.व. २०८१/८२ मा प्यूठानका लागि विनियोजित बजेट :
कार्यक्रम संख्या– ४७ वटा
जम्मा बजेट– २७.०६ करोड
प्रतिशतमा– ०.२९ %
आगामी आर्थिक वर्ष २०८२/०८३ लागि विनियोजित बजेट :
कार्यक्रम संख्या– ४० वटा
जम्मा बजेट– ४८.२० करोड
प्रतिशतमा– ०.४० %

कांग्रेस सांसद शर्माले मोरङमा पनि बजेट नपरेको गुनासो गरे । तर तथ्यले त्यसलाई नकार्ने मन्त्री सिंहको सचिवालयको भनाइ छ । सचिवालयले मोरङमा सहरी विकास मन्त्रालयबाट तीन अर्ब सात करोड बजेट विनियोजन भएको जनाएको छ ।

सचिवालयका अनुसार आगामी आर्थिक वर्षका लागि मोरङमा १७९ वटा कार्यक्रममा तीन अर्ब सात करोड रुपैयाँ विनियोजन भएको छ । यसअघि मोरङमा एक अर्ब ९० करोड बजेट विनियोजन भएको तथ्य मन्त्रालयसँग रहेको सिंहको सचिवालयले जनाएको छ ।

यस्तै कांग्रेसका अर्का सांसद कान्छारामको गृहजिल्ला रामेछापमा सहरी विकास मन्त्रालयबाट ६६ योजनाका लागि ८४ करोड ४७ लाख विनियोजन भएको देखिन्छ ।

मन्त्री सिंहको सचिवालयका अनुसार रामेछापमा तीन करोड वा त्योभन्दा माथिको बजेट भएका ११ वटा कार्यक्रम परेका छन् । यस्तै तीन करोड बजेट भएका आठवटा र तीन करोडभन्दा कम बजेट भएका ५५ वटा कार्यक्रमहरू रामेछापमा परेका सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : २२ बजे

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको