एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनसहित आठ बुँदे प्रस्ताव पारित | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनसहित आठ बुँदे प्रस्ताव पारित


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेशनलगायत समसामयिक विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको छ ।

यसैगरी, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विशेषगरी विधान संशोधनसम्बन्धी प्रस्तावमा घनिभूत छलफल भएको केन्द्रीय कमिटीको बैठकमा २६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेको र बैठकले आठ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिए । 

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक राजनीतिक विकास क्रम, पार्टीलाई अझ सशक्त र लोकप्रिय बनाउने, विधान महाधिवेशनलगायत विषयमा धारणा राखेका थिए । 

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा डा पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामका बारेमा जानकारी गराएका थिए ।

केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

सो बैठकले एमाले र नेपाली कांग्रेसबीच सम्पन्न सात बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरी सुशासनसहित देश र जनताका पक्षमा काम गरेको ठहर गरेको छ ।  

वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढताका साथ लाग्न र  सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन बैठकले आह्वान गरेको छ । 

‘महत्त्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ । निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ । अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको छ,’ एमालेले जारी गरेको प्रस्तावमा उल्लेख छ ।  

एमालेले दैलेखमा ५० वर्षसम्मको नेपालको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय भएको बताएको छ ।

बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति, ‘एजेन्डा’ र भूमिकालाई प्रभावकारी बनाउन वर्तमान सरकार सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

प्रस्तावमा भ्रष्टाचार र अनियमितताप्रति निः सर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा पार्टीको आधारभूत मान्यता रहँदै आएको र यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको बताइएको छ ।

बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धासुमन अर्पण गर्दछ र उनको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सङ्कल्प गरेको छ । 

यसैगरी, जलवायु अनुकूलका कार्यक्रमहरूको विस्तार र चुरे क्षेत्रको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेशको दीर्घकालीन समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले नेपाली किसानहरूले भोग्नुपरेका समस्याहरूको तदारुकताका साथ समाधान गर्न,  किसानको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

यसैगरी, यही असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठूलो क्षति पुर्‍याएकाले पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्रराष्ट्र चीनसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि बैठकले आह्वान गरेको छ । रासस
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ०७ बजे

लाखे प्याखँको नगर परिक्रमा (तस्बिरहरू)

काठमाडौं– लायकू मिप्वा: लाखे पुच: द्वारा सञ्चालन हुँदै आइरहेको सांस्कृतिक

बिहे गरेकी छोरीले अंश पाउने कि नपाउने, के भन्छ अदालत ?

काठमाडौँ – सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाह गरेकी छोरीको

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार

एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

काठमाडौं– एनसेलले विद्यार्थीका लागि ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ