वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण | Khabarhub Khabarhub

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन् । सन् १९७१ मा पृथक भएका दुई राष्ट्रबीच सम्बन्ध सुधार्ने प्रयासस्वरूप भएको यो भ्रमण विगत दशकमा उच्चस्तरीय पहिलो भेटवार्ता हो ।

इस्लामाबादले यस भ्रमणलाई ‘पाकिस्तान–बंगलादेश सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि’ भएको बताएको छ । डार सन् २०१२ पछि बंगलादेश भ्रमण गर्ने सबैभन्दा वरिष्ठ पाकिस्तानी अधिकारी हुन् ।

दुई देशबीच व्यापार लगायत विभिन्न क्षेत्रहरूमा समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डारले बंगलादेशका वर्तमान कार्यवाहक नेता, नोबेल शान्ति पुरस्कार विजेता डा. मोहम्मद युनुससँग भेटवार्ता गर्नेछन् ।

यस्तो पृष्ठभूमिमा छिमेकी राष्ट्र भारतले यस भ्रमणलाई विशेष ध्यानका साथ हेरिरहेको विश्लेषकहरूले बताएका छन् । गत वर्षको मे महिनामा भारत र पाकिस्तानबीच छोटो अवधिको सशस्त्र संघर्ष भएको थियो ।

साथै, सन् २०२४ को जुलाई महिनामा बंगलादेशमा भएको व्यापक जनआन्दोलनले प्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएसँगै उनी भारततर्फ प्रस्थान गरेपछि, ढाका–नयाँ दिल्ली सम्बन्धमा चिसोपन देखिएको हो ।

“बंगलादेश अतीतमा भारतको सबैभन्दा नजिकको साझेदार रहँदै आएको थियो, तर अहिले भारतको मुख्य प्रतिद्वन्द्वी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा रहेको देखिन्छ,” अमेरिकी विश्लेषक माइकल कुगेलम्यानले बताए।

पाकिस्तान र बंगलादेशले विगत वर्ष समुद्री मार्ग हुँदै व्यापार प्रारम्भ गरेका थिए । यस वर्षको मार्च सरकारी तहमा व्यापार विस्तार सम्बन्धी सम्झौता गरिएको थियो ।

पाकिस्तानका वाणिज्यमन्त्री जाम कमाल खान हालै ढाका पुगेका थिए, जहाँ उनले बंगलादेशी अधिकारीहरूसँग व्यापार र लगानी प्रवद्र्धनका लागि संयुक्त आयोग गठन गर्ने सहमति जनाए ।

त्यसैगरी, शुक्रबार दुबै मुलुकका उच्च सैनिक अधिकारीहरूबीच पाकिस्तानमा भेटवार्ता सम्पन्न भएको थियो ।

सन् १९७१ मा पूर्वी पाकिस्तान अलग भई बंगलादेशको स्थापना भएपछि, ती दुबै देशबीचको सम्बन्ध निकै संवेदनशील रहँदै आएको छ । सो युद्धको क्रममा पाकिस्तानी सेनामाथि व्यापक हिंसा र अत्याचारको आरोप लाग्दै आएको छ । बंगलादेशका अनुसार लाखौं नागरिकले ज्यान गुमाएका थिए । धेरै नागरिकहरूले आज पनि पाकिस्तानबाट औपचारिक माफीको अपेक्षा राखेका छन् ।

स्वतन्त्रतापछि बंगलादेशले भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । भारतले चारैतिरबाट घेरेको बंगलादेश हाल झण्डै १७ करोड जनसंख्या भएको मुलुक हो ।

तर वर्तमानमा कार्यरत अन्तरिम सरकारले भारतको भूमिमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई संरक्षण दिइएकोप्रति असन्तुष्टि जनाउँदै आएको छ । हसिनामाथि मानवता विरोधी अपराधको आरोपमा मुद्दा चलिरहेको भए पनि उनी अदालतमा हाजिर हुन अस्वीकार गर्दै भारतमै बसेकी छिन् ।

“शेख हसिनाको सत्ताच्युत हुनु भारतका लागि रणनीतिक दृष्टिले ठूलो धक्का थियो । यसपछि पाकिस्तान–बंगलादेश सम्बन्धमा देखिएको सुधार त्यसको प्रत्यक्ष परिणाम हो,” अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक थोमस कीनले भने ।

हालै ढाकाले भारतमाथि निषेधित घोषित अवामी लिग पार्टीलाई समर्थन गरेको आरोप लगाएको थियो। भारतले भने यस्तो आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट अरू देशविरुद्ध राजनीतिक गतिविधि हुन नदिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  २ : ३२ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने