याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन् । सेन राजाहरूका सन्दर्भमा पनि एकमात्र महारानीको उल्लेख भएको भेटिन्छ । सेन राजाहरूको महारानी मद्यमीधाता इन्दुराजेश्वरीबारे इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘किरातकालीन विजपुरको संक्षिप्त इतिहास’ मा उल्लेख गरेका छन् ।
यही पुस्तकमा चेम्जोङले माहारानी थाङसामाको बारेमा उल्लेख गरेका छन् । इतिहासको पुस्तकहरूमा अन्य महारानी तथा रानीहरूको उल्लेख गरिएको कहीँ भेटिँदैन । उल्लेखित पुस्तक अनुसार; १५औं शताव्दीको सुरुमा मोरङ तराई क्षेत्रमा साङलाइङ नाम गरेको याक्थुङ/लिम्बू राजाले शासन गर्दथे । बारातप्पामा उनको दरबार थियो । यीनीहरूको पुर्खाहरू पनि कामरुपबाट आएका थिए ।
साङलाइङपछि उनको छोरा पुङलाइङले शासन गरे । पुङलाइङले हिन्दु मतलाई ग्रहण गरे र आफ्नो नाम अमर राय राखे । सोही समयदेखि याक्थुङ/लिम्बूहरूले आफ्नो शान बढाउन हिन्दु मत ग्रहण गरी राय (राजा) लेख्न सुरु गरेको पाइन्छ । पुङलाइङ (अमर राय) पछि कीर्तिनारायण राय, अपनारायण राय, जोरनारायण राय, इङदिन नारायण राय र अन्तिम राजाको रूपमा विजयनारायण राय गरी सात पुस्ताले मोरङ्गमा शासन गरेका उल्लेख भएको पाइन्छ । यसले तराई समतल भूभागमा थाक्थुङ/लिम्बूहरूले शासन गरेको राज्यलाई मोरङ भनिन्थ्यो भन्ने पुष्टि गर्दछ ।

फ्रान्सीस बुचन हेमिल्टनको ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ अनुसार राजा विजयनारायण रायले स्थापना गरेको राजधानीलाई विजयपूर भनिन्छ । राजा विजयनारायणले नै बारातप्पाबाट मोरङ राज्यको राजधानी फेदापका राजा मुरेहाङको सल्लाहमा विजयपुरमा सारेका थिए । आफूले बनाएको दरबारको स्थान वा ठाउँलाई आफ्नो नाममा विजयनारायणबाट विजयपूर राखेको इतिहासविदहरूको मत रहेको पाइन्छ । यिनै विजयनारायणले नै आफ्नो शक्ति बलियो बनाउन पहाडी भेगमा राज्य संचालन गर्ने शासकहरूसँग सम्बन्ध बढाएको देखिन्छ ।
राजा विजयनारायणले फेदाप हालका राजा मुरेहाङ खेवांग/खेवाङ/खेवाहाङसँग सन्धिसम्झौतामार्फत् फेदापका राजा मुरेहाङका सन्तती युगाँैयुगसम्म विजयपुरका चौतारीया हुनेगरी मोरङ विजयपुर राज्यकोे थिति सुरु गरेका थिए । राजा विजयनारायणको शासनकालमा मुरेहाङहाङलाई उनको छोरी बलात्कार गरेको आरोपमा फाँसी दिएपछि उनका छोरा बाजाहाङले विद्रोह गरेका थिए । उनले मकवानपुरका लोहाङ सेनको सहयोग लिएका थिए ।
युृद्धमा बाजाहाङको मृत्यु भएको र विजयनारायणको मृत्यु भएको मौका छोपी राज्यमा भएको वैमनश्यता उपयोग गरी मोरङ विजयपुर राज्य मकवानपू्का लोहाङ सेनले आफ्नो अधीनमा लिएका थिए । त्यसपछि मोरङ विजयपुरमा सेन राजाहरूले शासन गरेको पाइन्छ । विजयपू््र राज्यमा क्रमशः लोहाङ सेनपछि हरिहर सेन, इन्दुविधाता सेन, पद्मामिधाता इन्दु राजराजेश्वरी सेन, महिपति सेन, कामदत्त सेन र बुद्धिकर्ण रायले विक्रम सम्बत १८३१ सम्म शासन गरेका थिए ।
सेनकालका स्याहामोहरमा लिम्बूहरूलाई राय भनी सम्बोधन गरेकोमा शाहहरूको आगमनको पछिल्लो कालमा राई भनी लालमोहरहरू लिम्बूलाई दिएको पाइएको छ । यही क्रममा थिन्दोलुङ खो?याहाङको सन्तान दर सन्तानको चेली थाङसामा मोरङ विजयपुर राज्यको महारानी थिइन् भन्ने इतिहासमा उल्लेख गरिएको पाइन्छ ।
इतिहासकार इमानसिंह चोम्जोङले पुस्तक ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ मा विजयपुरका राजा कामदत्त सेनले मुहाङकेप राजाको बहिनी थाङसामासँग विवाह भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘त्यसपछि उनले (कामदत्त सेन) अठार थुमको आङबोहाङ रायको वंशमध्ये मुहाङकेप राजाकी बहिनी थाङसा रायसँग विवाह गरी पहाडी किरात वंशसित नजिकको नाता सम्बन्ध जोडे’, (चेम्जोङ २०५९ दोस्रो संस्करण, पृ. ६०) ।
थाङसामाको बारेमा अर्को पुस्तक ‘किरात इतिहास र संस्कृति’ मा पनि चेम्जोङले उल्लेख गरेका छन् । ‘उनले (कामदत्त सेन) अर्को लिम्बू प्रमुख आठराई जिल्लाको मुहाङखेपको बहिनी थाङसामालाई विवाह गरे । उनी आङबोहाङ परिवारका थिए । त्यसरी उनले आफँै किरात प्रमुखहरूसँग सम्मिलित भई आफ्नो सुरक्षाको लागि उनीहरूको विश्वास प्राप्त गरे’ (चेम्जोङ, २०६३, दोस्रो सस्करण, पृ. १४६/१४७) ।
शिवकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘लिम्बू वानको ऐतिहासिक अध्ययन’ मा थाङसमको बारेमा यसरी उल्लेख गरेका छन्, ‘कामदत्तसेनले आठराई हाङपांगका राजा मुहांगकेप आङबुहाङकी बहिनी थाङसामासँग बिहे गरी किरातीहरूसँग आफ्नो सम्बन्ध बढाएका थिए । महारानी थाङसामा माइती भेट गर्न हांगपांग आउँदा तेह्रथुमको पाटी गाँउमा एउटा कुवा बनाएकी थिइन्, जसको भग्नावशेष अझसम्म छ ।’
माथिका इतिहासको अक्षरहरूले थाङसामा विजयपुर राज्यको महारानी थिए र उनी थिन्दोलुङ खो?याहाङका सन्तान आङबुहाङ, मेन्याङबो, फा?लेछुवा, खिम्दिङ, उसुक र खोयाहाङ थरका चेली रहेकी पुष्टि गर्दछ । तर वंशावलीको पुस्ताहरूको साल सम्बत केलाउदा थाङसामाको विवाह कामदत्त सेनसँग भएको तथ्यमा संशय पैदा हुन्छ ।
थाङसामाको बारेमा पु्रानो हस्तलिखित वंशावलीहरूमा पनि उल्लेख भएको भेटिएको छ । हालसम्म भेटिएको सबैभन्दा पुरानो ऐतिहासिक हस्तलिखित वंशावली सुबा जगविर मेन्याङबो लिम्बूले वि.सं. १९३७ सालमा लेखिएको छ । उक्त हस्तलिखित वंशावलीमा ‘नाहांवाको छोरि थाहांसयमा’ भनेर लिखिएको छ ।
बज्रध्वज लिम्बू मेन्याङ्बोले वि.सं. १९५० सालमा लेखिएको हस्तलिखित वंशावलीमा ‘मुहांकेतको छोरी थाङसामा युमा विजैपुर मोरांग राजाले लग्यो’ भनेर लेखिएको छ ।
वि.सं. १९३७ मा लेखिएका हस्त लिखित वंशावलीमा केरमेट गरिएको थिन्दोलुङ खोयाहाङका सन्तानहरू मेन्याङबो, आङबुहाङ, फा?लेछुवा, खिम्दिङ, उसुकहरूले मोरङ विजयपुरको महारानी थाङसामा मुहाङकेपकै छोरी हो भनेर मान्नुपर्छ ।
सम्वत १८८० साल माघ सुदी ६ रोज ६ शुभम् भनी मिति लेखिएको रुक्का कास्य पत्रमा ‘आगे चेतसिं राईके हिजो लीम्बुषांको अपुताली पर्दा तेसैले षाया पायाको जगा तेरा पुर्षालाई मोरंग्या राजाले मोहर गरी दियाको रहे … हि वमोजिम….बाट लालमोहरहरू पाई लिनु भयाको रहेछ…’ भनी उल्लेख गरेको छ । यसले पनि मोरङ राज्यका राजाहरूसँग थिन्दोलुङ खो?याहाङका वंशहरूको प्रत्यक्ष रूपमा सम्बन्ध रहेको प्रमाणित हुन्छ ।

मिति स्पष्ट रूपमा उल्लेख नभएको महत्वपूर्ण दस्तावेजको रूपमा चेतसिंले श्री ५ को सरकारमा चढाएको अर्जि फर्द (पत्र) रहेको भेटिएको छ । उक्त अर्जि फर्द हेर्दा ‘श्री ५ सर्कार – आंम्वहां चेतनसिंले आफ्नो विस्तार. आफैले लेष्याको फर्द उप्रान्तः फेर्उदेन् जगा जसमत् राईले अघि पाउँदाको विस्तार मोरंका. राजा विजैपुरमा आउंदा. ताँहि चाँकरि ढोकामा गर्दथ्यो । सर्दुषोलामा. सिम् तावो पाउँदा, तेहि सिम् तावो राजालाई चह्राउँदा. तेस्को सिरपार्उ जगा दिन्या हो भन्दा । र्उरवराड जगा काहा छ भनी दस लिम्बू गैह्रलाई राजावाट सोधनि हुदामा. र्उरवराड जगा. चाग्या. फेर्उदेन्. भन्याको छ. तेस जगाको. किपटया. जिमिदार लिंमुषां भन्याको मर्यो. त्यो जगा अपुतालि पर्याको छ भनि. मेवा. मयावा. तमोरषोला. यांरुप. फेदाप, को. गैह« राई सुव्वाले .राजा थै वित्ति गर्दा. त्यो अपुतालि पर्याको जगा. चार किला गरि. मोहर गरी दिया. सधियार भाईले. साँधवालाई दियाथ्या. जसमत् राईले षाई. चर्चि. विहोरि आयाको हो. तांहां पछि. मकवानी राजा रजाया. तेस्समयमा पनि चार किला गरि. फेरि मोहर गरी वक्स्या. षादै थिया हिंन्दूपति राजा रजाया. तेस समयमा पनि. चाँग्याको. फेर्उदिंन् जगा षाँदै थिञ्युं. सेन राजा रजाया थ्या. तेस समयमा पनि जगा. हामिले. विहोर्याकै थियो. लासावाट पनि थामि दियाको हो. सुषिम्ले पनि थामि दिया कै हो. एति. राजा रजार्उदा पनि. कसैसित झगडा थिएन. ताँहा पछि. गोर्षाको प्रवेश भया पछि पनि……बाट पनि थामि वक्सनु भयाको ३/४ लालमोहर छ. मोहर वमोजिमको जगा. वाह्र पुस्तासम्म षाई. विहोरि. आयाथ्या. झगरा कसैसँग भएनथ्यो. ७४ सालमा भडारि काजिका पालामा सिरिङले. मरो जगामा. झगरा गर्न आयो …..’ भनी लेखेको भेटिन्छ ।
यो दस्तावेजलाई पुरानो हस्त लिखित वंशावलीको कसिमा उभ्याउदा स्वास्ती श्री ..४० सालमा लेषोको राजवंसौंलि हो भनी लेखिएको मिति २०६९/१/२ मा नन्द आङवुहाङ चाँगेबाट प्राप्त हस्त लिखित वंशावली अनुसार मुहांकेपा लाई १ मान्ने हो भने १. मुहांकेपा २. हांसाम ३. जसमत्रे (जसमत) ४.लगेनहां ५. फुनहां ६. हांईछा ७. सुचीहां ८. जसराई ९. जगदीप १०. हजराई ११. जसमन १२. चेतसिं भेटिन्छ । यसले अर्जि फर्दमा उल्लेख भएको वाह« पुस्तासम्म खाई विहोरी आएको प्रमाणित हुन्छ । वाह« पुस्ता माथिको पुस्ता मुहांकेपलाई मानेको देखिन्छ । हाल आङबुहाङको वंशावली अनुसार मुहाङकेप १२औं पुस्ता र चेतसिं २२औं पुस्ताका हुन । हांसाम ् जसमत्रे एकै हुन भनी उल्लेख गरेका छन् । साथै जग्गा पाउने पुस्ता जसमतले सर्दु खोलामा सिम् तावो (ताँमाको ढुङ्गा) मोरङ्गका राजालाई चढाउदा त्यसको बक्सिस्को रूपमा जग्गा पाएको देखिन्छ । र उक्त जग्गा क्रमशः मकवानी राजा, हिन्दुपति राजा, सेन राजा, लासा र सिक्किमका राजाहरूले पनि थामि दिएको भन्ने उल्लेख छ । साथै महत्वपूर्ण कुरा मोरङका राजा विजयपुर आउँदा भनी लेखिएको छ । यसले उक्त जग्गा मोरङका राजा विजयनारायणले ताँमाको ढुङ्गा जसमतले भेट्टाएबापत बक्सिसको रूपमा दिएको पुष्टि हुन्छ । किनभने मोरङका राजा विजयनारायणले नै आफ्नो राजधानी वारातप्पाबाट विजयपुर सारेका थिए ।

यसरी नै मेन्याङबोका पुर्खा थेचम्बुका सुब्बा जश्नसिंले मिति १८९९ मा चैनपुर जिल्ला अन्तर्गत पर्ने धनकुटा अड्डामा आफ्नो रैतहिरूको नामावली ढड्डा तिर्जामा दरिएको विवरण दस्तावेज भेटिएको छ । सुब्बा जश्नसिं मेन्याङ वंशावली अनुसार २२औँ पुस्ताका हुन । जश्नसिंको वि.सं. १९०० सालको पनि अर्को दस्तावेज भेटिन्छ । मेन्याङबो वंशावली अनुसार मुहाङकेप १२ औं पुस्ताका हुन । मुहाङकेप, जश्नसिं भन्दा ११औं पुस्ता अघिका देखिन्छ । यसमा एक पुस्ता कम पाइन्छ ।
हालसम्म भेटिएको थिन्दोलुङ खो?याहाङको सन्तानहरूको सबैभन्दा महत्वपूर्ण दस्तावेज विजयपुरका सेन राजाहरूले प्रदान गरेको स्याहा मोरह पाइएको छ । स्रोत टङ्कप्रसाद आङबुहाङ रहेको स्याहामोहर इति संवत् १७४३ सावन वदि ८ रोज मिति रहेको स्याहामोहर विजयपुरका विचिता राय देवानले चांगेका जस रायलाई जग्गा जमिन दिएको सम्बन्धमा रहेको छ । ‘यो स्याहा मोहर वियपुरका प्रथम राजा विधाता इन्द्रसेनबाट जारी भएको हो ।’ (इङनाम २०८१, पृ. ७) ।
यसरी नै स्रोत टङ्कप्रसाद आङबुहाङ रहेको स्याहामोहर विजयपुरका मन्महीपति (मान्धाता) सेनले जगदीप रायलाई इति सम्वत् (१७)५४ साल माह सावन वदि ९ रोज मितिमा तमोर फाँटको जग्गा उपभोग गर्न दिएको पाइन्छ । यसै स्याहामोहरमा याक्थुङ/लिम्बू प्रमुखहरूलाई स्पष्ट रूपमा राजा भनी सम्बोधन गरिएको पाइएको छ । यसमा थिन्दोलुङ खो?याहाङको सन्तान सुचीहाङलाई ‘सुची राजाकषाउन श्री’ भनी उल्लेख गरिएको छ ।
यी माथिका सबै तथ्यहरूको विश्लेषण गरी संश्लेषण गर्दा थाङसामा थिन्दोलुङ खो?याहाङकै सन्तान मुहांकेपको छोरी भन्ने पुष्टि हुन्छ र उनको विवाह मोरङका सबैभन्दा शक्तिशाली राजा विजयनारायणसँग भएको देखिन्छ । इमानसिंह चेम्जोङले उल्लेख गरेको थाङसामाको विवाह सेन राजा कामदत्त सेनसँग भएको कुरा मेल खाँदैन । स्याहामोहर प्राप्त गर्ने मुहाङकेपको सन्तानहरू सुचीहाङको छोरा जस राय र नाती जगदीप रायको समय काल खण्ड विजयपुरका राजा कामदत्त सेनभन्दा अगाडि भेटिन्छ । राजा कामदत्त सेनको शासनकाल वि.सं. १८१८ देखि १८२६ हो । यसरी सालसम्बत र पुस्ताक्रमलाई नियाल्दा पनि मेल खाँदैन ।
थिन्दोलुङ खो?याहाङको सन्तान चेतसिंको समय कालखण्ड उपलब्ध पुरानो दस्तावेज (कागजपत्र) अनुसार वि.सं. १८७८ देखि १९०० सम्मको भेटिन्छ । वि.सं. १९०० लाई समय विन्दु मानेर पुस्ता जोड्दा १२ पुस्ता मुहांकेपको समय कालखण्ड १२ ह २५ (औसत पुस्ता) बराबर ३०० वर्ष हुन आँउछ । चेतसिंको समय कालखण्ड वि.सं. १९०० बाट ३०० घटाउँदा वि.सं. १६०० को समय कालखण्ड मुहांकेपको मान्न सकिन्छ ।

मेन्याङबो वंशस्रोतको आधारमा गणना गर्दा जश्नसिं भन्दा मुहाङकेप ११ पुस्ता अघिको अनुसार ११ गुणा २५ (औसत पुस्ता) बराबर २७५ वर्ष हुन आँउछ । जश्नसिंको अन्तिम भेटिएको दस्तावेज वि.सं. १९०० नै रहेकाले यसैलाई समय कालखण्ड आधार मान्दा वि.सं. १९०० बाट २७५ घटाउदा वि.सं. १६२५ को समय कालखण्ड मुहांकेपको हुन आउँछ ।
मोरङ विजयपुरको राजा विजयनारायणको शासनको समय कालखण्ड इतिहासकारहरूले वि.सं. १६४१ – १६६६ मानेको भेटिन्छ । यस तथ्यले पनि मुहांकेपको र विजयनारायणको समय कालखण्ड अनुसार ससुरा र जुवाई मान्न सकिन्छ । साथै मोरङ राज्यको राजाहरू मध्ये सबैभन्दा शक्तिशाली विजयनारायण नै इतिहासमा उल्लेख छ ।
विजयनारायणले नै आफ्नो शक्ति बढाउन पहाडी आपुंगी राजाहरूसँग विभिन्न तरिकाले मित्रवत समबन्ध गाँसेका थिए । विजयनारायणले नै दश लिम्बूवानका थुम थुमका हाङ अथवा राजाहरूलाई पालो पालो गरी ६/६ महिनासम्म विजयपुरमा बसी राजकाज गर्ने काममा मद्धत गर्ने भनी सम्झौता गरेका थिए ।
त्यसै अनुरुप फेदापको राजा मुरेहाङ खेवाहाङलाई मोरङ राज्यको सन्तान दरसन्तानसम्म चौतारिया हुने बनाएका थिए । यसले पनि के कु्राको पुष्टि गर्दछ भने विजयनारायणले त्यति बेलाको शक्तिशाली दश लिम्बूवान हस्तपुरको राजा मुहांकेपको छोरीसँग विवाह गरी आफ्नो सम्बन्ध बढाएको हुनुपर्छ ।
यी सबै तथ्यहरूले इमानसिं चेम्जोङको पुस्तकहरूमा उल्लेख भएको आठराई थुमको आङबोहाङ रायको वंशमध्ये मुहाङकेप राजाकी बहिनी थाङसा रायसँग विजयपुरको राजा कामदत्त सेनसँग भएको कुरालाई खारेज गर्दछ र थिन्दोलुङ खो?याहाङको सन्तान मुहाङकेपको छोरी थाङसामाकोे विवाह मोरङ विजयपुरका राजा विजयनारायणसँग भएको थियो भन्ने पुष्टि गर्दछ । मोरङ विजयपुरको महारानी थाङसामा हस्तपुर गढीका राजा मुहाङकेपको छोरी भएको प्रमाणित गर्दछ ।
यो पनि –
प्रतिक्रिया