भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने | Khabarhub Khabarhub

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।

सिंहले यसअघि गत मे महिनामा भारतले विकास गर्न लागेको पाँचौं पुस्ताको ‘एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट’ को प्रोटोटाइप स्वीकृत गरेका थिए । उनले यसलाई ‘भारतको आत्मनिर्भर रक्षा क्षमतातर्फको महत्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरेका छन् ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै मन्त्री सिंहले लडाकु विमान इन्जिनको स्वदेशी निर्माणसम्बन्धी थप विवरण प्रस्तुत गरे ।

उनले भने, “हामी भारतमै लडाकु विमानका इन्जिन उत्पादन गर्न अगाडि बढिरहेका छौं । यसका लागि फ्रान्सेली कम्पनीसँग सहकार्य भइरहेको छ ।”

यद्यपि मन्त्री सिंहले कम्पनीको नाम खुलाएनन्, तर भारतीय सञ्चारमाध्यमहरूले यो कम्पनी सफ्रान भएको उल्लेख गरेका छन् । सफ्रान फ्रान्सको एक प्रमुख एयरोस्पेस र रक्षा कम्पनी हो, जसले विगत धेरै वर्षदेखि भारतमा विभिन्न परियोजनामा काम गर्दै आएको छ ।

तर अहिलेसम्म यो सहकार्यको औपचारिक पुष्टि भएको छैन ।

भारत, विश्वकै ठूलो हतियार आयातकर्ताहरू मध्ये एक हो । भारतले आफ्ना सुरक्षा फौजको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यसै सन्दर्भमा स्वदेशमै हतियार तथा रक्षा उपकरण उत्पादनमा जोड दिँदै आएको छ ।

पछिल्लो समय भारतले पश्चिमी मुलुकहरूसँग सैन्य सहकार्य बलियो बनाउँदै आएको छ, जसमा अमेरिका, जापान र अष्ट्रेलियासँगको क्वाड गठबन्धन पनि पर्छ ।

यसै वर्षको अप्रिलमा भारतले फ्रान्सको दसोल्ट एभिएसनसँग २६ वटा रफाल लडाकु विमान खरिद गर्न बहु–अर्ब डलरको सम्झौता गरेको थियो । यसले भारतले पहिले नै खरिद गरेका ३६ वटा रफाल विमानमा थपिनेछ र रूसी मिग–२९के विमानहरूको स्थान लिनेछ ।

रक्षा मन्त्री सिंहले सन् २०३३ सम्म भित्र्याइने स्वदेशी रक्षा सामग्री खरीदका लागि कम्तीमा १०० अर्ब अमेरिकी डलर बराबरको नयाँ सम्झौता गरिने वाचा पनि गरेका छन् ।

हालैका वर्षहरूमा भारतले ठूलो हेलिकप्टर कारखाना सञ्चालनमा ल्याउनुका साथै पहिलो स्वदेशी विमानवाहक जहाज, युद्धपोत र पनडुब्बी निर्माण सम्पन्न गरेको छ। साथै, लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरेको छ ।

भारतको सुरक्षा दृष्टिकोणमा पाकिस्तान प्रमुख चुनौतीको रूपमा रहेको बताइन्छ । पछिल्लो मे महिनामा भारत र पाकिस्तानबीच सन् १९९९ यता कै सबैभन्दा तनावपूर्ण चारदिने सैन्य झडप भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ५ : २० बजे

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत