नर्सको तिहार अनुभव : बिरामीले‍ आईसीयूमै टीका लगाउँछन्, दाजुभाइको एकदमै याद आउँछ « Khabarhub

नर्सको तिहार अनुभव : बिरामीले‍ आईसीयूमै टीका लगाउँछन्, दाजुभाइको एकदमै याद आउँछ


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिभिल अस्पतालमा कार्यरत स्टाफ नर्स पूजा गुरुङ्ग नर्सिङ पेशामा जोडिएको भण्डै २ दशक भएको छ । यो अवधिमा घर परिवार आफन्तसँग दशैंतिहार मनाएको सम्झना उनीसँग छैन ।

दशैं र तिहार दुवैमा बिदा पाउन एकदमै गाह्रो हुन्छ । दशैंमा बिदा पाउनेले तिहारमा पाउँदैनन् । तिहारमा पाउनेले दशैंमा पाउँदैनन् । ‘म दशैंमा छुट्टी बसेको भएर तिहारमा ड्युटी गर्नुपर्छ’ उनले भनिन् ।

चिरायु अस्पतालबाट सेवा सुरु गरेकी पूजाले झण्डै दश वर्ष त्यहाँ बिताइसकेपछि निजामती कर्मचारी ‘सिभिल’ अस्पतालमा प्रवेश गरिन् । लामो समय करारमा काम गरेकी उनी एक वर्षअगाडि मात्रै स्थाई कर्मचारी बनेकी हुन् ।

दशैंतिहारको बिदामा अस्पतालको आकस्मिक कक्ष, आईसीयू र बिरामी भर्ना बाहेकका अन्य सेवाहरु बन्द हुन्छन् । कर्मचारी पनि थोरै हुन्छन् । तर, बिरामीको चाप भने उस्तै हुन्छ । सबै जना चाडपर्वको रमझममा रहँदा आफूलाई भने अस्पतालमा भ्याइनभ्याई हुने उनले बताइन् ।

‘शुरु शुरुमा त अलि गाह्रो लाग्थ्यो, चाडपर्व पनि भन्न नपाइने कस्तो पेशा रोजिएछ ? भन्ने हुन्थ्यो अब भने सामान्य लाग्छ ।’ उनले भनिन्, ‘यो हाम्रो कर्तव्य हो र गर्नैपर्छ भन्ने लाग्न थालेको छ ।’

पहिलेपहिले घरको मान्छेहरुले पनि आफूलाई नबुझ्ने गरेको बताउँदै पूजा भन्छिन्- ‘सारा संसार जसले पनि बिदा पाउने तिमीहरुको कहिल्यै फुर्सद नहुने ? कसैले नपाएको जागिर तिमिले पाएकी रहिछ्यौ भनेर सुनाउँथे । तर अहिले भने बुझ्छन् ।’

धेरै दशैंतिहार परिवारसँग छुट्टिएर अस्पतालमै मनाएको अनुभव पूजासँग छ । ‘त्यस्तो बेलामा दुःख लाग्छ । तर यो पोशाक लागाएर बिरामीको सेवामा लागेपछि यो मैले गर्नुपर्छ है भनेर लागिन्छ, बिस्तारै बिर्सिइन्छ ।’ उनले भनिन्, ‘कतिपय दशैंतिहार त हामीले बिरामीसँगै बसेर पनि मनाएका छौं ।’

वार्डमा भएका आफूभन्दा सानालाई टीका लगाइदिने र आफूभन्दा ठूलाको हातबाट टीका थापेर आशिर्वाद ग्रहण गरेर मनाएको अनुभव पूजासँग छ ।

सुरुमा निजी स्वास्थ्य संस्थामा न्यून पारिश्रमिकमा चाडपर्व केही नभनी २४ घण्टा ड्युटीमा खटिनुपर्दा पूजाको मन साह्रै दुख्थ्यो । सुरुको तीन महिना त खाजाखर्च लिएर मात्रै बिरामीको सेवा गरेको उनले बताइन् ।

तर, अहिले त्यस्तो अवस्था छैन । सिभिल अस्पतालमा जागिर खाइसकेपछि जति खटिनुपरे पनि कामको उचित मूल्यांकन भएको उनले बताइन् ।

‘तिहार बिदामा अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने, आईसीयूमा राखेर उपचार गर्नुपर्ने खालका बिरामीहरु हुन्छन् । त्यस्ता बिरामीहरुका दिदीबहिनी दाजुभाइहरु अस्पतालमै आएर टीका लगाएर जान्छन् । त्यस्तो बेलामा आफ्ना दाजुभाइहरु एकदमै मिस हुन्छ ।’ उनले भनिन् ।

गोरखा घर भएकी पूजा यसपालीको दशैंमा बिदा बसेका कारण ड्युटीमै खटिएकी छिन् । उनका २ जना दाजुभाइमध्ये दाइ क्यानडामा छन् भने भाइ गोरखामै भएकाले यसपालीको तिहार बिरामीकै सेवामा बितेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  २ : १० बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक