काठमाडौं- सिभिल अस्पतालमा कार्यरत स्टाफ नर्स पूजा गुरुङ्ग नर्सिङ पेशामा जोडिएको भण्डै २ दशक भएको छ । यो अवधिमा घर परिवार आफन्तसँग दशैंतिहार मनाएको सम्झना उनीसँग छैन ।
दशैं र तिहार दुवैमा बिदा पाउन एकदमै गाह्रो हुन्छ । दशैंमा बिदा पाउनेले तिहारमा पाउँदैनन् । तिहारमा पाउनेले दशैंमा पाउँदैनन् । ‘म दशैंमा छुट्टी बसेको भएर तिहारमा ड्युटी गर्नुपर्छ’ उनले भनिन् ।
चिरायु अस्पतालबाट सेवा सुरु गरेकी पूजाले झण्डै दश वर्ष त्यहाँ बिताइसकेपछि निजामती कर्मचारी ‘सिभिल’ अस्पतालमा प्रवेश गरिन् । लामो समय करारमा काम गरेकी उनी एक वर्षअगाडि मात्रै स्थाई कर्मचारी बनेकी हुन् ।
दशैंतिहारको बिदामा अस्पतालको आकस्मिक कक्ष, आईसीयू र बिरामी भर्ना बाहेकका अन्य सेवाहरु बन्द हुन्छन् । कर्मचारी पनि थोरै हुन्छन् । तर, बिरामीको चाप भने उस्तै हुन्छ । सबै जना चाडपर्वको रमझममा रहँदा आफूलाई भने अस्पतालमा भ्याइनभ्याई हुने उनले बताइन् ।
‘शुरु शुरुमा त अलि गाह्रो लाग्थ्यो, चाडपर्व पनि भन्न नपाइने कस्तो पेशा रोजिएछ ? भन्ने हुन्थ्यो अब भने सामान्य लाग्छ ।’ उनले भनिन्, ‘यो हाम्रो कर्तव्य हो र गर्नैपर्छ भन्ने लाग्न थालेको छ ।’
पहिलेपहिले घरको मान्छेहरुले पनि आफूलाई नबुझ्ने गरेको बताउँदै पूजा भन्छिन्- ‘सारा संसार जसले पनि बिदा पाउने तिमीहरुको कहिल्यै फुर्सद नहुने ? कसैले नपाएको जागिर तिमिले पाएकी रहिछ्यौ भनेर सुनाउँथे । तर अहिले भने बुझ्छन् ।’
धेरै दशैंतिहार परिवारसँग छुट्टिएर अस्पतालमै मनाएको अनुभव पूजासँग छ । ‘त्यस्तो बेलामा दुःख लाग्छ । तर यो पोशाक लागाएर बिरामीको सेवामा लागेपछि यो मैले गर्नुपर्छ है भनेर लागिन्छ, बिस्तारै बिर्सिइन्छ ।’ उनले भनिन्, ‘कतिपय दशैंतिहार त हामीले बिरामीसँगै बसेर पनि मनाएका छौं ।’
वार्डमा भएका आफूभन्दा सानालाई टीका लगाइदिने र आफूभन्दा ठूलाको हातबाट टीका थापेर आशिर्वाद ग्रहण गरेर मनाएको अनुभव पूजासँग छ ।
सुरुमा निजी स्वास्थ्य संस्थामा न्यून पारिश्रमिकमा चाडपर्व केही नभनी २४ घण्टा ड्युटीमा खटिनुपर्दा पूजाको मन साह्रै दुख्थ्यो । सुरुको तीन महिना त खाजाखर्च लिएर मात्रै बिरामीको सेवा गरेको उनले बताइन् ।
तर, अहिले त्यस्तो अवस्था छैन । सिभिल अस्पतालमा जागिर खाइसकेपछि जति खटिनुपरे पनि कामको उचित मूल्यांकन भएको उनले बताइन् ।

‘तिहार बिदामा अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने, आईसीयूमा राखेर उपचार गर्नुपर्ने खालका बिरामीहरु हुन्छन् । त्यस्ता बिरामीहरुका दिदीबहिनी दाजुभाइहरु अस्पतालमै आएर टीका लगाएर जान्छन् । त्यस्तो बेलामा आफ्ना दाजुभाइहरु एकदमै मिस हुन्छ ।’ उनले भनिन् ।
गोरखा घर भएकी पूजा यसपालीको दशैंमा बिदा बसेका कारण ड्युटीमै खटिएकी छिन् । उनका २ जना दाजुभाइमध्ये दाइ क्यानडामा छन् भने भाइ गोरखामै भएकाले यसपालीको तिहार बिरामीकै सेवामा बितेको छ ।
प्रतिक्रिया