झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम « Khabarhub

झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तम्घास– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । 

जिल्ला सदरमुकाम तम्घासबाट सिमटारीसम्म पर्ने उक्त पक्की सडक किनारमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग उम्रिँदा दुर्घटनाको जोखिम बढेको हो । 

अहिले सडकको छेउकुनामा घाँस, रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गएर जम्मा हुनेलगायत समस्या देखिएको छ । ढल तथा नाला व्यवस्थापन नहुँदा वर्षायाममा पानी नालीबाट नभई सडकबाट बग्दा बीचबीचमा खाल्डा परेका छन् । 

वर्षायाममा गएको पहिरो र बाढीले बगाएर ल्याएको फोहर सफा नगर्दा सडक साघुँरिँदै गएको स्थानीय बताउँछन् । तम्घासबाट सिमलटारीसम्म पाँच मिटर चौडाइको २८ किमी उक्त सडक छ वर्षअघि विसं २०७६ मा स्तरोन्नति गरिएको थियो । 

कुल८७ करोड ९१ लाख रुपैयाँ रकममा निर्माण गरिएको उक्त सडकबाट पुर्कोट दह, प्युठानलगायत स्थान पुग्ने सवारीसाधन सञ्चालन हुन्छन् ।

अहिले सडकको छेउकुनाबाट घाँसपात, स–साना रुख, पातपतिङ्गर पलाउँदा सडकको सौन्दर्य मेटिन थालेको इस्मा गाउँपालिका–६ का सुजन विष्टले बताए । 

‘दुईतर्फी सवारी सञ्चालन हुनुपर्नेमा सडक साँघुरिँदा एकतर्फी मात्र सञ्चालन भइरहेको छ’, उनले भने, ‘सोही कारणले सडक दुर्गन्धित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।’ 

उनले वर्षायाममा गएको पहिरो र बाढीले बगाएको फोहर नहटाउँदा सडक साँघुरिएको बताए । सडकको माथिबाट आएको पहिरोले साँघुरो भएको भन्दै सम्बन्धित निकायले ध्यान नदिँदा समस्या बढ्दै गएको उनको भनाइ छ ।

धुर्कोट गाउँपालिका–५ का गणेश पाण्डेले सडकमा गएको पहिरो र छेउछेउमा उम्रिएका घाँसपात हटाएर सफा गर्न सरोकार भएका निकायलाई आग्रह गरे । 

‘सडक सफा गरे दुइतर्फी सवारी सञ्चालनमा सजिलो हुन्थ्यो, हामी मोटरसाइकल लिएर हिँड्नेलाई पनि सजिलो हुन्थ्यो’, उनले भने । 

सोही राजमार्गमा सवारी व्यवसाय सञ्चालन गर्दै आएका चालक राजु खत्रीले सडकमा भएको लाहपर्वाहीले गर्दा तोकेको समयमा यात्रुलाई सम्बन्धित गन्तव्यमा पुर्‍याउन नसकिएको गुनासो गरे  । 

उम्रिएका घाँसपात सफा नगर्नु, वर्षायाममा गएको पहिरो नहटाउनु, सडकको बीचमा परेका खाल्डाखुल्डीको व्यवस्थापन नगर्नुलगायत कारणले यात्रु र सवारी धनी दुवैलाई यात्रामा सास्ती हुने गरेको उनको भनाइ छ ।

बिरामीलाई समयमा अस्पताल पुर्‍याउनुपर्नेमा कहिलेकहीँ सडक साँघुरो भएकाले कारण बाधा हुँदै आएको खत्रीले बताए । सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन बिग्रने समस्या देखिन थालेको उनको भनाइ छ । 

तम्घासबाट सिमलटारीसम्म २८ किमीअन्तर्गत रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका पर्दछन् । 

उक्त खण्ड भएर ती पालिकाका साथसाथै मदाने गाउँपालिका– ढोरपाटन हुँदै प्यूठानसम्मका दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिकले यात्रा गर्छन् । 

सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले उक्त खण्डमा दुई जना कामदार खटाएर काम भइरहेको जनाएको छ । कामदार पर्याप्त नहुँदा उनीहरूले निश्चित क्षेत्रमा काम गरे पनि सबैतिर सफाइ नभएको स्थानीयको गुनासो छ । 

कार्यालय प्रमुख रमेश चौधरीले सडकको निश्चित खण्डमा ठेक्कामार्फत काम भइरहेको बताए । अहिले निश्चित ठाउँमा मात्रै कामदारले झाडी सफाइ गरे पनि अन्य ठाउँमा यथाशीघ्र कामसक्ने गरी योजना बनाइएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ३६ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै