स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार | Khabarhub Khabarhub

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

त्रिवि भन्छ- प्रक्रिया अगाडि बढ्यो, निर्वाचन रोकिँदैन’



काठमाडौं – विद्यालयका शैक्षिक समस्या समाधान गर्ने, विद्यार्थीको सामाजिक मुक्ति, न्याय, अधिकार र प्रतिष्ठाको निम्ति लड्ने संस्थाका रूपमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण परिषद्ले सार्वजनिक गरेको तालिका अनुसार निर्वाचन ५ चैतमा हुनेछ। यस अगाडि फागुन १५ गते तोकिएको निर्वाचन मिति विविध कारणले एक महिना धकेलिएको हो। राजनीतिक दलका छाता संगठनको यो प्रतिस्पर्धालाई नेता उत्पादन गर्ने थालोका रूपमा हेरिन्छ। जसले विगत तीन चार दशकदेखि विभिन्न आन्दोलनमा सिर्जनात्मक तथा रचनात्मक हिसाबले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ। तर पछिल्लो समय विद्यार्थीको निर्वाचन दलीय हस्तक्षेपका कारण समयमै हुन सकेको छैन।

विश्वविद्यालयले तोकेको तालिका अनुसार काम हुने हो भने दलको मिनी निर्वाचनका रूपमा परिचित स्ववियुको मतदान गर्ने दिन आउन अब २४ दिन मात्र बाँकी छ। यसको तयारीका लागि विद्यार्थी संगठन तातेका छन्। तर केही विद्यार्थी संगठन भने आन्तरिक कोलाहलमा फसेका कारण निर्वाचन पछि धकेल्ने जोखिमसमेत उत्तिकै देखिन्छ।

विश्वविद्यालयले तोकेको तालिका अनुसार काम हुने हो भने दलको मिनी निर्वाचनका रूपमा परिचित स्ववियुको मतदान गर्ने दिन आउन अब २४ दिन मात्र बाँकी छ। यसको तयारीका लागि विद्यार्थी संगठन तातेका छन्।

त्रिविले निर्वाचनमा तालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनसंग छलफल नै नगरी निर्वाचनको मिति तोकिएको भन्दै दुई क्यापसका स्ववियु सभापतिले त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्ष र विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए। पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले ६ फागुनमा लगाएको ताला अझै खुलेको छैन। उनीहरूले ताला लगाएर उपकुलपति कपमा आर्थिक अनियमितताको आरोप पनि लगाएका छन्।

यस अगाडि त्रिवि कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त हुने उल्लेख गरेको थियो। उनीहरूले उक्त विषय संशोधन गर्न माग समेत गरेका छन्। तर त्रिविले विद्यार्थी आफैँले बनाएको विषय संशोधन गर्न भन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताइरहेको छ। ताला लगाउने विद्यार्थी नेता नेविसंघ अखिल क्रान्तिकारी निकट संगठनका हुन्।

ताला खोल्न तीन संगठनबीच छलफल
आइतबार तीन ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता र विद्यार्थी संगगनका नेताबीच बालुवाटारमा छलफल भएको छ। ताला खोल्न सहजीकरण गर्ने र समयमै निर्वाचन गराउन तीन दलका विद्यार्थी संगठनले सकारात्मक भूमिका खेल्ने विषयमा छलफल भएको नेपाल विद्यार्थी संघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिए। बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत उपस्थित थिए।

नेताहरूले पनि समयमै निर्वाचन गर्न त्रिवि विद्यार्थी कल्याणकारी परिषद्सँग वार्ता गर्ने र ताला लगाएका स्ववियु अध्यक्षसँग छलफल गरेर उचित निकास निकाल्नुपर्ने बताएका थिए। शेर्पाका अनुसार सबैको भावना समेटेर शान्तिपूर्ण रूपमा निर्वाचन समयमै सम्पन्न गर्न तीन विद्यार्थी संगठनको एक मत छ। ‘ताला खोल्ने र विवाद समाधान गर्न छलफल आजैबाट सुरु गर्ने सहमति भएको छ। हामी तीन संगठन निर्वाचन समयमा होस भन्ने कुरामा एक मुख छौँ’, शेर्पाले खबरहबलाई भने, ‘त्रिविसँग पनि वार्ता हुन्छ। ताला लगाउने विद्यार्थी नेतासँग पनि वार्ता भएर सबैको भावना समेटेर काम हुन्छ।’

यता अनेरास्ववियु अध्यक्ष बडाल ठूला विद्यार्थी संगठन निर्वाचन गराउन सकारात्मक रहेको बताउँछन्। तर निर्वाचन नजिकिँदा विभिन्न व्यक्ति र समूहले स्वार्थ अनुसार खेल्न सक्ने भन्दै यसका लागि पनि ठुला संगठन एक भएको दाबी उनको छ। ‘अनेरास्ववियु निर्वाचन समयमै होस् भनेर सुरुबाट नै तयारीमा छ। नेविसंघ र अखिल कान्तिकारी पनि समयमा होस भन्ने पक्षमा हुनुहुन्छ। विगत वर्षमा लामो समय निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन पछि थियो। यो पटक ताला खोलेर समयमै गर्न छलफल भएको छ’, बडालले खबरहबसँग भने, ‘अहिलेसम्मको परिस्थिति हेर्दा समयमै हुन्छ भनेर लागेका छौँ। आइतबारको बैठकमा पनि त्यही छलफल भएको छ। हामीले पनि ताता लगाएका विद्यार्थी नेतालाई संगठनका अध्यक्षले बसेर छलफल गर्नुपर्ने सुझाव दिएका छौँ।’ बैठकमा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, जसपा, जसपा नेपाल निकट विद्यार्थी संगठनका प्रतिनिधि भने सहभागी थिएनन्।

प्रक्रिया अगाडि बढिसक्यो, निर्वाचन समयमा हुन्छ : त्रिवि

त्रिवि विद्यार्थी कल्याण खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीको कार्यकक्षमा ताला लागेको छ। उनी अहिले त्रिवि अन्तर्गतका अन्य कार्यकक्षमा बसेर काम गरिरहेका छन्। अधिकारीका अनुसार ताला लगाउनेसँग वार्ता चलिरहेको छ। स्ववियु निर्वाचन प्रक्रिया धेरै अगाडि बढिसकेकाले ताला लगाउनुको कुनै अर्थ नभएको उनको दाबी छ। ‘चैत ५ गते नभए १० गतेसम्ममा पनि निर्वाचन गर्न सकिन्छ। त्यहाँभन्दा पर सर्दैन। सबै संगठनका नेता निर्वाचन गराउन सकारात्मक हुनुहुन्छ’, अधिकारीले भने, ‘ निर्वाचन विद्यार्थी संगठनकै लागि हो। हामीले विद्यार्थी र विश्वविद्यालयकै लागि गरेको हो। समग्रमा आफ्नो हितका लागि विद्यार्थीको निर्वाचन हुने हो। जुनसुकै हालतमा निर्वाचन गराउने पक्षमा विद्यार्थी संगठन र त्रिवि छ।’

स्ववियु पदाधिकारीको दुई वर्षको हुने व्याख्या रातो किताबमा भएकाले यसलाई मान्नुपर्ने उनको भनाइ छ। अधिकारी भन्छन्, ‘रातो किताबमा जे छ। त्यहीअनुसार हामीले व्याख्या गर्ने हो।’ निर्वाचन सर्नुपर्ने कुनै कारण नै नभएको उनको दाबी छ। विद्यार्थी नेता निर्वाचन रोक्ने पक्षमा नरहेको भन्दै उनले यो कसैले गरेको भए त्यो गर्नु नहुने बताए। अधिकारीले आफ्नो कार्यकक्षमा नभए पनि निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको स्पष्ट पारेका छन्।

नेपालमा भएका ६४ आंगिक क्यापसमध्ये ६२ वटामा निर्वाचन हुँदै छ। २०७९ को स्ववियु निर्वाचनको आँकडा अनुसार देशभर त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। ती सबैमा एकसाथ निर्वाचन गर्ने तयारीमा त्रिवि छ। २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने गरेको छ। प्रत्येक दुई-दुई वर्षमा हुने भनिए पनि २०६५ यता नियमित निर्वाचन हुन सकेको थिएन। २०६५ चैत ६ गतेपछि एकैचोटी आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भयो। पछिल्लो पटक २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो।

नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ?


सत्तारुढ दलको दाबी : निर्वाचनमा गठबन्धन हुँदैन
हाल कांग्रेस, एमाले र साना पार्टी मिलेर गठबन्धन सरकार चलिरहेको छ। त्यसैअनुसार दुई ठुला दल मिलेर नेपाल पत्रकार महासंघको निर्वाचन भएको थियो। पत्रकार महासंघमा जस्तै स्ववियु निर्वाचनमा यी दुई दलले गठबन्धन गरेर अघि बढ्ने सम्भावना बलियो थियो। तर सम्बन्धित विद्यार्थी संगठनका अध्यक्ष सिङ्गल–सिङ्गल निर्वाचन लड्ने दाबी गर्छन्।

विद्यार्थी संगठन भनेको पार्टीको मेरुदण्ड हो। यसले संस्कार स्थापना गर्छ र पार्टी राजनीतिलाई बलियो बनाउँछ।

कांग्रेसनिकट नेपाल विद्यार्थी संगठनका अध्यक्ष शेर्पाका अनुसार नेविसंघ एक्लै निर्वाचन लड्न तयारी गरिरहेको छ।
‘हाम्रो योजना देशभरका क्याम्पसमा एकल निर्वाचन लड्ने हो। आइतबारको बैठकमा पनि त्यही कुरा भएको छ’, शेर्पाले खबरहबलाई भने, ‘नेताले पनि एकल एकल लड्ने भन्नुभएको छ। कुनै पनि हालतमा गठबन्धन गर्दैनौँ। क्यापसको आवश्यकता अनुसार साथीहरूले सल्लाह गरेर स्थानीय गठबन्धन बनाए अलग कुरा हो। तर माथिबाट गठबन्धन हुँदैन।’

उनी तल्लो तहमा गठबन्धनका लागि ढोका बन्द नगर्ने बताउँछन्। यसो हुँदा विभिन्न क्यापसमा गठबन्धन हुने देखिन्छ। नेविसंघले ०७९ को स्ववियु निर्वाचनमा एक सय ३२ क्याम्पस जितेको थियो। यता एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि विद्यार्थी संगठनको निर्वाचनमा गठबन्धन गर्न पार्टी र विद्यार्थी संगठन तयार नभएको दाबी गर्छन्। उनी एकल प्रतिस्पर्धा गर्नका लागि सबै बाटो खुला भएको दाबी गर्छन्।

‘विद्यार्थी संगठन भनेको पार्टीको मेरुदण्ड हो। यसले संस्कार स्थापना गर्छ र पार्टी राजनीतिलाई बलियो बनाउँछ। हामी पत्रकार मंहासंघ र अन्य संस्थाको जस्तो केन्द्रीय गठबन्धन बनाउँदैनौ।’ बडालले खबरहबलाई भने, ‘आइतबारको बैठकमा पनि त्यही कुरा भएको छ। नेविसंघ र अनेरास्यवियुकै गठबन्धन गर्ने भने त कोसँग प्रतिस्पर्धा गर्ने ! केन्द्रबाट गठबन्धन बन्दैन।’ सत्ता गठबन्धनबाट नेतृत्व बाहिर जाने अवस्था देखिएका कलेजमा भने गठबन्धन हुने बाटो यो छलफलले खोलिदिएको छ। कलेजले सहमतिमा संयुक्त प्यानल बनाएर जानसक्ने बाटो खुला रहेको उनको तर्क छ।
अनेरास्ववियुले ०७९ को स्ववियु निर्वाचनमा १ सय ३४ क्याम्पसमा सभापति र १ सय ५२ क्याम्पसमा सचिव जितेको थियो।

एक्लै लड्न तयार छ क्रान्तिकारी
काठमाडौं माघ १६ गते अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयन गरेको छ। क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा चयन भएका छन्। उनी पनि आइतबारको बैठकमा सहभागी थिए। उनले समयमै निर्वाचन गर्न र एकल निर्वाचन लड्न आफ्नो संगठन तयार भएको दाबी गरेका छन्। विपक्षी दलको गठबन्धन बन्ने कुरामा उनी सहमत छैनन्।

०७९ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले उपत्यकाका चार क्याम्पससहित ८४ स्थानमा जितेको थियो। उपत्यकाको नेपाल ल क्याम्पस, सानो ठिमी क्याम्पस, अस्कल क्याम्पस र हिमालय इन्जिनियरिङ क्याम्पस क्रान्तिकारीले जितेको छ।

माधव नेपालको विद्यार्थी संगठनको अवस्था के छ ?
माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू पनि स्ववियु निर्वाचनको तयारमा छ। तर यहाँ सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपाल गुटको लडाइँका कारण विद्यार्थी संगठन मारमा छन्। यसको असर स्विवियु निर्वाचनमा पनि पर्ने खतरा देखिन्छ। दुई साता अगाडि झलनाथ निकट अध्यक्ष आरती लामालाई हटाएर महासचिव महेश श्रेष्ठलाई अध्यक्ष तोकिएको छ। यसले पार्टीमा चर्को विवाद छ।

अहिले श्रेष्ठ अध्यक्षको भूमिकामा छन्। पार्टीभित्र जस्तो सुकै विवाद भए पनि श्रेष्ठ समयमै निर्वाचन गर्नुपर्नेमा दृढ छन्। उनी तोकिएको मितिमा निर्वाचन गर्न त्रिविलाई सहयोग गर्ने धारणा राख्नछन्। ‘हामी एकल निर्वाचन लड्न तयार छौँ। हामीले तयारी गर्न सम्बन्धित प्रदेशलाई भनिसकेका छौँ’, श्रेष्ठले खबरहबलाई भने, ‘क्यापसमा आवश्यकता अनुसार गठबन्धन भए अलग कुरा हो। तर केन्द्रबाट गठबन्धन बन्दैन।’ उनी संगठनको विवाद समाधान भइसकेको र यसले निर्वाचनमा कुनै असर नगर्ने तर्क गर्छन्।’

अनेरास्ववियूले देशभर स्ववियु सभापतिमा आठ ठाउँ बाजी मार्दा ६५ वटा सचिव जितेको छ। माधव नेपालको पार्टीबाट विद्यार्थी फाँटको इन्चार्ज बनाएर पूर्व स्ववियु सभापति रामकुमारी झाँक्रीलाई पठाएको छ।

साना संगठनको तयारी ?

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पनि त्रिविको क्यालेन्डर अनुसार निर्वाचनमा जान तयार छ। संगठनका केन्द्रीय संयोजक कमल बम गठबन्धनका विषयमा छलफल नभएको दाबी गर्छन्। प्रजातान्त्रिक विद्यार्थी संगठनले ०७९ को स्ववियु निर्वाचनमा एक सभापति, चार सचिव र २० जनाभन्दा बढी सदस्य जितेको बम बताउँछन्।

यस्तै, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले पनि तयारी गर्दैछ। अशोक राईले पार्टी विभाजन गरेपछि विद्यार्थी संगठनमा भद्रगोल छ। ०७९ को निर्वाचनमा केही स्थान जितेको यो संगठनका नेता अहिले तितरबितर छन्। जनमत पार्टी निकट विद्यार्थी संगठन जनमत संघ पनि मधेसका केही जिल्लामा प्रतिस्पर्धा गर्ने तयारीमा छ।

रास्वपा सहभागी नहुने
चौथो दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निर्वाचनमा सहभागी नहुने भएको छ। रास्वपाले भातृ संगठनको निमार्ण गरेको छैन। ‘हामी यो निर्वाचनमा सहभागी हुने तयारीमा छैनौं। विद्यार्थीको संगठन निमार्ण गर्ने या नगर्ने भन्नेमा पनि व्यापक छलफल हुन पाएको छैन’, पार्टी कार्यवाहक प्रवक्ता मनिस झाले खबरहबलाई भने, ‘धेरै क्यापसका विद्यार्थी साथीले हाम्रो संगठन पनि बन्नुपर्छ भनिरहनुभएको छ। अहिले सकिएन। उहाँहरूको भावनालाई समेटेर अर्को पटकसम्मकमा केही निर्णय हुन्छ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ०५ बजे

लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू)

ललितपुर- ललितपुर महानगरपालिकाले पुरातात्विक महत्त्वको एउटा पोखरी जोगाउन डोजर चलाएको

स्वास्थ्य मन्त्रालयका रिक्त दुई पदमा तिन प्रतिस्पर्धी 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव र अतिरिक्त सचिव पद

खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको

पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू)

काठमाडौं- महाशिवरात्रि नजिकिएसँगै भगवान् पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको

स्वेलडाँडा सडक स्तरोन्नति

भक्तपुर– चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ