काठमाडौं– नेपालमा दुई सय ४० वर्षे राजतन्त्र अन्त्य भएको १७ वर्ष पुग्नै लागेको छ । २०६५ जेठ १५ मा बसेको संविधान सभाको बैठकले शाहवंशका अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारबाट नागार्जुन सार्ने निर्णय गरेको थियो ।
ज्ञानेन्द्रले २०६५ जेठ २९ गते देशभित्रै बसेर सक्रिय रहने घोषणासहित नारायणहिटी छोडेका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उपलब्ध गराएको नयाँ आवास नागार्जुन दरबारतर्फ प्रस्थान गर्नु ३ घण्टाअघि नारायणहिटीमा सयौँ पत्रकारमाझ उनले भावुक हुँदै लिखित वक्तव्य पढेका थिए ।
नारायणहिटी छोड्नुअघि आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले आफू दुई पटक राजा बनेको बताउँदै दुवै पटक बाध्यतावश श्रीपेच पहिरिनु परेको बताएका थिए । झन्डै सात वर्षसम्म राजकाज सम्हालेका ज्ञानेन्द्र ०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्र (सहोदर दाइ)को वंश नाश भएपछि राजा बन्न पुगेका थिए ।
ज्ञानेन्द्रले नारायणहिटी छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा आफू र आफ्नो परिवारमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आफूले गरेका कामबाट कसैलाई मर्का परेको भए त्यसलाई भूलवश भएको ठानिदिन आग्रहसमेत थिए ।
हाल पूर्व राजा ज्ञानेन्द्रको ‘पोर्टफोलियो’ आमनागरिकसरह छ । उनी विभिन्न चाडपर्व र दिवसहरूमा लिखित र भिडियोका माध्यमबाट अभिव्यक्तिहरू दिने र धार्मिक भ्रमणका नाममा मुलुक भित्र-बाहिर आउजाउ गर्दै आएका छन् ।
आमनागरिकको हैसियतमा रहेका पूर्व राजा ज्ञानेन्द्रले दिने अभिव्यक्ति र उनको भ्रमणले भने राजतन्त्र ढाल्न अहम् भूमिका निर्वाह गरेका राजनीतिक दलका नेताहरूमा ‘तरंग’ ल्याउने गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले भर्खरै ७५औँ प्रजातन्त्र दिवसको अवसर पारेर १० मिनेट लामो भिडियो सन्देश जारी गरेपछि संघीय संसद्का तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरू सशंकित बनेका छन् ।
भिडियो सन्देशमा ज्ञानेन्द्रले भनेका थिए, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको संवृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’ उनले जनताको भलाइका लागि आफ्नो ओहोदा, सुख, सुविधा त्याग गरेको स्पष्ट पार्दै त्यागलाई कमजोरी ठान्नु नहुने भन्दै घुमाउरो शैलीमा दलहरूलाई चेतावनी समेत दिएका थिए ।
‘यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यतिमात्र होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख, सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन,’ सन्देशमा ज्ञानेन्द्रले भनेका थिए ।

दलका नजरमा ज्ञानेन्द्रको अभिव्यक्ति गणतन्त्र विरोधी
राजनीतिक दलहरूले पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई गणतन्त्रविरुद्धको अभिव्यक्तिका रूपमा अर्थ्याउँदै प्रति चरम असन्तुष्टि जनाइरहेका छन् । आइतबार बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा विभिन्न दलका सांसदहरूले पूर्व राजा ज्ञानेन्द्रलाई शक्तिमा फर्किने चाहना भए आगामी निर्वाचनमा भाग लिन चुनौती नै दिए ।
राजतन्त्र अन्त्यका लागि भूमिका निर्वाह गरेका नेतामध्येमा पर्ने बामदेव गौतमले आइतबार राष्ट्रिय सभा बैठकमा ज्ञानेन्द्रलाई पुनः राजा बन्ने चाहना परित्याग गर्दै आगामी निर्वाचन लड्न चुनौती दिएका थिए । राजनीतिक पार्टीका नेताहरूले देशको विकास गर्न नसकेकाले आफूलाई राजा बनाऊ भन्नु उचित नहुने उनको तर्क थियो ।
‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्,’ ज्ञानेन्द्रलाई गौतमको चुनौती थियो, ‘केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’
आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले नागरिक शक्तिको बलमा आएको लोकतन्त्रको विकल्प अरू हुन नसक्ने भन्दै गणतन्त्रमाथिको प्रहार स्वीकार्य नहुने बताइन् । उनले पनि पूर्वराजालाई सत्तामा आउने चाहना भए चुनाव लड्न सुझाव दिइन् ।
‘सत्तामै फर्किने चाहना हो भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ कांग्रेस सांसद न्यौपानेले भनिन्, ‘पूर्व राजा र समर्थकलाई सुझाव छ, कहिले पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् ।’
प्रजातन्त्र दिवसकै दिन फागुन ७ गते कपिलवस्तु पुगेका सत्तारूढ एमालेका महासचिव शंकर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिएको टिप्पणी गरेका थिए । पार्टीको वडा केन्द्रित अभियान शुभारम्भ गर्दै उनले भनेका थिए ‘ अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् । राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिंदैछ । अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनुपर्छ ।’
गत शनिबार (फागुन १०) मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफू अनुकूल व्याख्या गर्न थालेको टिप्पणी गरेका थिए । कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकार दिन–प्रतिदिन कमजोर बन्दै गएको र सरकारको प्रस्तुतिलाई विभिन्न तत्वहरुले आफू अनुकूल व्याख्या गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।
‘सरकारको पर्फरमेन्स दिन–प्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा दिन–प्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन् । अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् ।’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत आम नागरिक सामु सहयोगका लागि आह्वान गरिएपछि पूर्व राजा ज्ञानेन्द्रलाई नियन्त्रणमै लिनुपर्ने प्रतिक्रिया दिएका थिए । हिमालय टिभीसँगको कुराकानीमा उनले ज्ञानेन्द्रको अभिव्यक्ति संविधानको बर्खिलाप भएको जिकिर गर्दै भनेका थिए, ‘उन (ज्ञानेन्द्र)को अभिव्यक्तिले सीमा नाघ्दै छ । यसलाई सरकारले गम्भीर ढंगले लिनुपर्छ । उनलाई आवश्यक नियन्त्रणमा लिनुपर्छ भन्ने मेरो आग्रह हो ।’
माओवादी परित्याग गरेर पछिल्लो समय नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले जनतामा निहित सार्वभौमसत्ता भनेको जन्मजात राजालाई ल्याएर राख्ने भनेको नभएको तर्कसमेत गरेका थिए ।
‘संविधानमा हामीले लचिलो भएर संशोधन गर्न सकिन्छ भनेर राखेका छौँ । तर, दुईटा कुरा संशोधन हुन सक्दैन । एउटा जनतामा निहित सार्वभौमसत्ता संशोधन हुन सक्दैन । दोस्रो नेपालको भौगोलिक अखण्डतामा संशोधन हुन सक्दैन,’ भट्टराईको तर्क थियो, ‘जनतामा निहित सार्वभौमसत्ता भनेको त जनताले नै आफ्नो शासन, संविधान बनाउने, चलाउने भनेको हो । फेरि कुनै मान्छे जन्मजात राजालाई ल्याएर राख्ने भनेको त होइन ।’

काम गर्न नसकेर नेता डराए : विश्लेषक कार्की
आमनागरिकको हैसियतमा रहेका पूर्व राजा ज्ञानेन्द्रले अभिव्यक्ति दिँदा राजतन्त्र ढालेका दलका नेताहरू किन सशंकित हुन्छन् त ? विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की ०४६ सालदेखि लगातार सत्ता र शक्तिमा बसिराखे पनि जनताको चाहनाबमोजिम काम गर्न नसकेको, रोजगार सिर्जना गरेर युवाको विदेश पलायन रोक्न नसकेको, कृषि, उद्योग, व्यापार–व्यवसाय फस्टाउने वातावरण सिर्जना गर्न नसकेका कारण नेताहरूमा सन्त्रास उब्जिएको तर्क गर्छन् ।
‘यही स्थिति जारी रहेको अवस्थामा आफ्नो लोकप्रियता घट्ने खतरा बढेको र जनतासँगै विभिन्न नामका राजावादीहरू संगठित भए भने भोलि मुभमेन्ट पनि हुन सक्ने खतरा दलहरूले अनुमान गरेको जस्तो देखिन्छ,’ उनले खबरहबसँग भने ।
निर्वाचनमा जाँदा जनताले पत्तासाफ गर्न सक्ने भय पनि राजनीतिक दलहरूमा देखिएको प्रा.डा. कार्कीको भनाइ छ । ‘भोलि कतै चुनावमा जाँदा जनताले पत्तासाफ पो गर्ने हुन् कि, राजावादीहरूले हामीलाई फेरि पाखा लगाउने हुन् कि, धेरै कमजोर बनाउने हुन् कि, आफ्नो स्थान कमजोर हुने पो हो कि भन्ने त्रास दलहरूमा छँदै छ,’ उनले भने ।
विश्लेषक कार्कीको नजरमा पछिल्लो समय राजावादीको पक्षमा माहोल सिर्जना भएको छ । ‘पछिल्लो समय राजावादीहरू अलि एक्टिभ भएको अवस्था देखिन्छ । माओवादी आन्दोलनमा लागेका दुर्गा प्रसाईंजस्ता व्यक्तिहरू कट्टर राजावादी हुन पुगेका छन् । एउटा धु्रवबाट अर्को ध्रुवमा जानेको संख्या पनि बढ्दैछ,’ उनको भनाइ छ, ‘एउटा मुभमेन्ट सिर्जना भएको देखिन्छ । राजाका कार्यक्रमहरूमा दशौँ हजार नागरिकको उपस्थितिले ठूला दलहरूमा संशय उत्पन्न गरेको छ ।’
राजतन्त्र फर्किने समय भएकै हो ?
पछिल्लो समय पूर्वराजाको आह्वानपछि राजावादीहरू राजतन्त्र फर्किने आशामा जुर्मुराएका छन् । उनीहरू राजतन्त्र फर्काउन जनमत संग्रहका लागि संघर्ष नै गर्नुपर्ने प्रारम्भिक निष्कर्षमा पुगेका देखिन्छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सबैलाई तयारी अवस्थामा रहन आह्वान नै गरेका छन् । उनले लेखेका छन्, ‘प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त । जो–जहाँ छौँ त्यतै स्थानमा रहनका साथै तयारी अवस्थामा रहन अनुरोध गर्दछौँ । यो सन्देश सबैमा पुर्याउन अपिल गर्दछौँ ।’
तर, प्रा.डा कार्की अहिले नै नेपालमा राजतन्त्र फर्किने समय भने नभएको दाबी गर्छन् । ‘अहिले नै बेला भइसकेको छैन । त्यत्रा मान्छे मरेर गणतन्त्र आएको छ,’ उनले खबरहबसँग भने, ‘तुरुन्तै ५० हजार, एक लाख मान्छे उपस्थित गराउँदैमा राजतन्त्र फर्किहाल्छ भन्ने अवस्था भने छैन । यसका लागि समय निकै पर्खिनुपर्ने देखिन्छ ।’
कार्कीले राजतन्त्र अन्त्यका लागि ज्ञानेन्द्र स्वयम् जिम्मेवार रहेका पनि जिकिर गरे । कांग्रेस, एमाले र माओवादीबीचको द्वन्द्वमा खेलेर शक्तिशाली बन्न गरेको धृष्टताको परिणाम अहिले ज्ञानेन्द्रले भोग्नु परेको उनको भनाइ छ । विश्लेषक कार्कीले ज्ञानेन्द्रमा महत्वकांक्षा नबढेको भए राजतन्त्र अन्त्य हुन समय लाग्ने तत्कालीन परिस्थितिको आकलन पनि गरे ।
‘राजतन्त्र अन्त्यका लागि ज्ञानेन्द्र शाह स्वयम् जिम्मेवार छन् । उनका ०५९ देखि ०६१ सालसम्मका गलत कदमहरू नचालेको भए, महत्वकांक्षा नबढेको भए सायद राजतन्त्र जाने बेला नै भएको थिएन,’ विश्लेषक कार्कीले भने, ‘उनले राजा महेन्द्रको जस्तै अधिकारहरू प्रयोग गरेर कांग्रेस, एमाले र माओवादीबीचको द्वन्द्वमा खेल्दै शक्तिशाली बन्ने, शक्ति र सत्तामा स्थापित हुने धृष्टता गरे । त्यसको परिणाम उनले भोग्नु परेको देखिन्छ । सम्भवतः उनलाई अहिले त्यसको पछुतो पनि भएको हुनुपर्छ ।’
नारायणहिटी छोड्नुअघि ज्ञानेन्द्रले सिटौलासँग राखेको त्यो माग‘
पूर्वराजाबारेको टिप्पणीले बाबुराममाथि खनिए राजावादी
पूर्व राजा बोल्दा राजावादी उत्साहित, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष
प्रतिक्रिया