प्रदेश लोक सेवा आयोगका ४ वर्ष : २९५० कर्मचारी सिफारिस « Khabarhub

प्रदेश लोक सेवा आयोगका ४ वर्ष : २९५० कर्मचारी सिफारिस


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश लोक सेवा आयोग चौथो वर्ष पूरा गरी सोमबार पाँचौँ वर्षमा प्रवेश गरेको छ । संविधानको भाग २३ अनुसार स्थापित आयोगले सीमित स्रोत, साधन र जनशक्तिका बीच अब्बल कार्यसम्पादन गरेको आयोगकै दस्तावेजहरूले पुष्टि गरेका छन् । 

सातवटै प्रदेशमध्ये सबैभन्दा पछि गण्डकीमा आयोग स्थापना भए पनि गण्डकीको कार्य सम्पादन चुस्त र प्रभावकारी भएको भन्दै संघीय लोक सेवा आयोगका अधिकारीहरूले समेत प्रशंसा गर्दै आएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले छोटो अवधिमा प्रदेश लोकसेवाले गरेको काम अनुकरणीय रहेको बताए । 

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार २०७७ चैत ११ गते आयोग गठन भएको थियो । आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले सुरुवाती अवस्थामा कार्यालय व्यवस्थापनदेखि नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, आचारसंहिता लगायतका आफ्ना कानुनी प्रबन्ध गरेर यहाँसम्म आइपुगेको बताए । 

आयोगलाई प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने अधिकार छ । स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्घन गर्दै प्रदेश र स्थानीय तहका सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने जिम्मेवारी आयोगलाई तोकिएको छ ।  

अध्यक्ष नेपालका अनुसार आयोग गठन भएदेखि २०८१ फागुन मसान्तसम्म स्थानीय तहमा २ हजार ४ सय ६ र प्रदेशमा ५ सय ४४ गरी तेस्रो तहदेखि एघारौँ तहसम्मका २ हजार ९ सय ५० जना उम्मेदवार छनौट गरी सिफारिस गरिएको छ । बढुवाका लागि ६ सय ६९ पदको विज्ञापनबाट प्रदेशमा ४ सय १६ र स्थानीय तहतर्फ ५२ गरी ४ सय ६८ जना सम्बन्धित बढुवा समितिमार्फत बढुवा सिफारिस भइसकेका छन् । 

प्रदेश निजामती सेवा ऐन र नियमावली, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन र नियमावली नआउन्जेल आयोगले संघीय ऐन र नियमावली अनुसार खुलातर्फका परीक्षाबाट मात्र कर्मचारी छनौट गरी सिफारिस गरेको थियो । प्रदेशले नै कानुन र नियमावली बनाएपछि भने समावेशी समूहको प्रतियोगितात्मक परीक्षा आयोगले सञ्चालन गर्दै आएको छ । 

पदपूर्ति प्रभावकारी पार्न जिल्ला र पालिकास्तरमा पुगी स्थानीय तहका पदाधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत र प्रदेश कार्यालयका प्रमुखहरूसँग छलफल समेत आयोगले चलाउँदै आएको अध्यक्ष नेपालको भनाइ छ ।

 उनले भने, ‘पदपूर्तिको सूचनामा उम्मेदवारहरूको आकर्षण र सहभागिता बढाउन उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखीकरण गराउने काम समेत भएको छ ।’ 

प्रदेशका लोक सेवा आयोगहरूको कार्य प्रक्रियामा एकरूपता ल्याउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले प्रदेशस्तरमा भएको सम्मेलनहरुमा समेत गण्डकीले सहभागिता जनाएको छ ।

 गण्डकीकै आयोजनमा २०८१ मंसिरमा पोखरामा प्रदेश लोक सेवा आयोगहरूको चौथो सम्मेलन सम्पन्न भएको थियो । प्रदेश र स्थानीय तहमा हुने सबै रिक्त पदहरुको माग समयमै प्राप्ति, समायोजन भई आएका र आयोगबाट सिफारिस भएका कर्मचारीको सुविधा र व्यवस्थापनको सुनिश्चितता प्रदेश र स्थानीय तहबाट हुने अपेक्षा आयोगले गरेको छ । 

मुस्ताङचोकस्थित भाडाको घरमा आयोगको कार्यालय सञ्चालित छ । आयोगको गुणस्तर र विश्वास एवं भरोसा कायम गर्न आफ्नै स्वामित्वको कार्यालय आवश्यक परेको र त्यसका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष नेपालले बताए । 

आयोग सदस्य कल्पना लम्सालले अझै पनि प्रदेश र स्थानीय तहमा दरबन्दी लुकाउने, करार र अस्थायी कर्मचारी नियुक्ति गर्ने क्रम नरोकिएको बताइन् । आयोगले सोमबार विशेष समारोहका साथ वार्षिकोत्सव मनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ५८ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा