सिरहा- सिरहाका एकजना वडाध्यक्षविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाटसम्बन्धी कसुरमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी अलपत्र परेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी समातिएका छैनन् ।
राजनीतिक संरक्षकका कारण प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयबासीले बताएका छन् । एमालेबाट २०७९ को चुनावमा निर्वाचित सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साहलाई राजनीतिक दबाब र संरक्षणका कारण गर्न प्रहरीले पक्राउ गर्न आनाकानी गरेको छ ।
वडाअध्यक्ष साहसहित १२ जनाविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाटसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाले पक्राउ पुर्जी जारी गरेको एक महिना बितिसकेको छ । तर पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीयबासी रूष्ट भएका छन् ।
उच्च अदालत, राजविराजको परमादेशअनुसार आपराधिक उपद्रव, आगजनी तथा लुटपाटसम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा मुद्दा दर्ता भएको थियो।
मुद्दा दर्ता भएको एक महिना भन्दा पनि बढी भइसकेको छ । तर, प्रहरीले उनीहरूमध्ये कसैलाई पक्राउ गर्न नसकेको स्थानीय दिनेश यादवले बताए।
‘अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित १२ जना प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डव महतोविरुद्ध पक्राउ पुर्जी जारी गरे पनी उनीहरू खुलेआम घुमिरहेका छन्’, उनले भने ।
घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख (एसपी ) अनन्तराम शर्माले जनाए । ‘म आउनुभन्दा अगाडि नै यो मुद्दा दर्ता भएको रहेछ, प्रहरीले गर्नु पर्ने काम गरिरहेको छ, अनुसन्धानसमेत हुँदैछ’, उनले भने ।
वडाध्यक्षसहित १२ जनाको समूहले सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा २०८० पुस २२ गते लुटपाट गरेको विपक्षीको आरोप छ।
आफनै जग्गामा तारबार लगाउन खोज्दा उनीहरूले आफूसहित परिवारका सदस्यलाई गाली बेइज्जती र दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको भण्डारीले दाबी गरकेा छन् । उनले घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।
त्यसअघि घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरी दिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगे ।
वडाध्यक्षसहित १२ जनालाई सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री लीलानाथ श्रेष्ठले संरक्षण गरिरहेको स्थानीयको भनाइ छ । श्रेष्ठकै दबाबका कारण प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसकेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया