काठमाडौं– दुई दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंककारी आक्रमण भएपछि फेरि एक पटक भारत–पाकिस्तान सम्बन्धमा दरार पैदा भएको छ । आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै भारतले कडा प्रतिक्रिया दिएको छ । लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण बन्दै जाँदा दक्षिण एशियामा फेरि एक पटक अन्यौलता र भयको वातावरण सिर्जना भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्न कसैलाई पनि बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रधानमन्त्री मोदीले आक्रमणमा संलग्नलाई पृथ्वीको जुनसुकै कुनामा भएपनि कारवाही गर्ने दृढता जनाएका छन् । नेपालसँग सीमा जोडिएको बिहार राज्यमा आयोजित सभालाई सम्बोधन गर्नै उनले आतंककारीलाई ‘माटोमा मिलाइदिने’ चेतावनी पनि दिएका छन् ।
त्यसअघि बुधबार भारतले आफ्नो मुलुकमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टा भित्र भारत छोड्न निर्देशन दिएको थियो । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ । त्यस्तै, भारतले पाकिस्तान उच्चायोगमा रहने कूटनीतिज्ञको संख्या ५५ बाट ३० मा घटाइने, पाकिस्तानीलाई दिएको सबै भिसा रद्द गर्ने, अटारी बागा बोर्डर बन्द गर्ने र सिन्धु जल सम्झौता पनि स्थगित गर्ने घोषणा गरेको छ ।
यो पनि-
मोदीसँग प्रधानमन्त्री ओलीको फोन संवाद, कश्मीर आक्रमणको कडा शब्दमा निन्दा
मंगलबार भारत प्रशासित काश्मिरको पहलगाममा भएको आंतककारी हमलामा २६ जना पर्यटकको मृत्यु भएको थियो । मारिनेमा एक जना नेपाली सुदिप न्यौपाने पनि छन् । आंतककारीले पर्यटकहरुको धर्म सोधी हत्या गरेको भारतीय टेलिभिजन आजतकले जनाएको छ ।
आक्रमणको जिम्मा कश्मीर रेजिस्टेन्स भनिने द रेजिस्टेन्स फ्रन्ट नामक समूहले लिएको रोयटर्सले जनाएको छ । यसअघि बिरलै यो समूहको नाम सुनिएको थियो । दक्षिण एशियाली आतंकवाद पोर्टललाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यो समूहलाई पाकिस्तानमा आधारित लडाकु समूह लस्कर ए तैएबाकै अङ्ग मानिन्छ । दक्षिण एशियाली आतंकवाद पोर्टलका अजय सहनीका अनुसार आतंकवादी गतिविधिमा लगानी गरेको भन्दै पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्सले दबाब दिएपछि अस्वीकार्यता देखाउने प्रयासस्वरुप यस्ता समूह गठन गरिएको हो ।
लामो समयदेखि विवादमा रहेको कश्मीरमा दुबै मुलुकले आ–आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरको एक भाग जम्मु र कश्मीर राज्य अन्तर्गत भारतको प्रशासनमा छ भने आजाद कश्मीर र गिल्गिट बाल्टिस्तान प्रान्त पाकिस्तानको प्रशासनमा छ । त्यसबाहेक अक्साई चीनको सानो भूभाग चीनको प्रशासनमा रहँदै आएको छ । कश्मीरको सियाचिन हिमनदी क्षेत्रलाई दुबै मुलुकले आ–आफ्नो भनी दाबी गर्दै आएका छन् ।
भारतले कश्मीरमा पाकिस्तानबाट सञ्चालित अतिवादीलाई ठूलो सुरक्षा चुनौतीको रुपमा लिँदै आएको छ । कश्मीरको मामिलामा पाकिस्तानमाथि भारतको आरोप के छ भने पाकिस्तान— पाकिस्तानको गुप्तचर निकाय इन्टरसर्भिस इन्टिलिजेन्स आईएसआईले कश्मीरमा आतंकवादीलाई रणनीतिक सम्पत्तिको रुपमा प्रयोग गर्दै आएको छ ।
यो कुरा भारतीय अधिकारीहरु सार्वजनिक रुपमै भन्दै आएका छन् । पाकिस्तानले भने यसको खण्डन गर्दै आएको छ । पाकिस्तानलाई आधार बनाएर आतंकवादी गतिविधि फैलाइरहेका भारतविरोधी आतंकवादी संगठनहरुले लामो समयदेखि भारत प्रशासित कश्मीर तथा भारतका अन्य शहरहरुमा पनि आतंकवादी आक्रमण गर्दै आएको भारतीय दाबी छ ।
पाकिस्तानले भने कश्मीरमा सक्रिय लडाकु समूहलाई कुनै सहयोग नगर्ने बताउँदै आएको छ । उसले कश्मीरका विषयमा नैतिक र कूटनीतिक समर्थन मात्रै गर्दै आएको बताउँछ । यसैबीच, भारतीय सुरक्षा निकायले आक्रमणमा संलग्न संदिग्ध लडाकुको पहिचान सार्वजनिक गरेको छ ।

जम्मु कश्मीर प्रहरीले आक्रमणमा संलग्न तीन जनाको चित्रसहित पहिचान सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आक्रमणमा आदिल हुसैन थोकर, सुलेइमान भनिने हाशिम मुसा र तल्हा भाइ भनिने अली भाइ संलग्न छन् । उनीहरुबारे जानकारी दिनेलाई भारु २० लाख इनाम दिने पनि घोषणा गरिएको छ । प्रहरीका अनुसार आदिल हुसैन थोकर भारत प्रशासित कश्मीरको अनन्तनाग बस्छन् भने बाँकी दुई जना पाकिस्तानी हुन् ।
भारतको कदमपछि पाकिस्तानले पनि कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषदले भारतविरुद्ध कठोर निर्णय गरेको हो । पाकिस्तानले सिन्धु जल सन्धि खारेज गर्ने भारतीय निर्णयको निन्दा गरेको छ । परिषदको बैठकले पाकिस्तानले पाउनुपर्ने पानीमा अवरोध गरे त्यसलाई ‘युद्ध’ मानिने पनि चेतावनी दिएको छ । त्यसैगरी, तत्कालै लागू हुनेगरी भारतीय भूमि पारवहनका लागि वाघा नाका बन्द गर्ने परिषदको निर्णय छ ।
पाकिस्तानले भारतीय स्वामित्वमा रहेका सबै हवाई सेवा कम्पनीलाई आफ्नो आकाश प्रयोग गर्न नदिने, सन् १९७२ को शिमला सम्झौता पनि खारेज गर्ने, सार्क भिसा कार्यक्रम अनुसार भारतीय नागरिकले पाउने सेवा पनि स्थगित गर्ने घोषणा गरेको छ । त्यसैगरी, पाकिस्तानले भारतका रक्षा सल्लाहकारलाई पनि देश छाड्न निर्देशन दिएको छ भने राजधानी इस्लामावादमा रहेको भारतीय उच्चायुक्तका कर्मचारीको संख्या ३० जनामा सीमित गर्ने घोषणा गरेको छ । उसले भारतसँग सबै किसिमको व्यापार पनि ठप्प पार्ने घोषणा पनि गरेको छ ।
के भारत–पाकिस्तान युद्ध सम्भव छ ?
सन् १९४७ मा बेलायतबाट स्वतन्त्रता पाएदेखि नै भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ । इतिहासलाई फर्केर हेर्दा सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चार पटक भारत र पाकिस्तानबीच युद्ध भएका छन् । चारमध्ये तीन युद्धहरु सन् १९४७ को युद्ध, सन् १९६५ को युद्ध र सन् १९९९ को युद्ध कश्मीरको विषयलाई लिएर भएका थिए भने सन् १९७१ को युद्ध तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिले अस्तित्वमा रहेको बाङ्लादेशको स्वतन्त्रताको विषयलाई लिएर भएको थियो । यदी यसपटक पनि भारत र पाकिस्तानबीच युद्ध भएमा यो पनि कश्मीरको विषयलाई लिएर हुने चौथो युद्ध हुनेछ ।
पछिल्लो समय दक्षिण एशियामा घटनाक्रमहरु निकै तीव्र गतिमा विकसित भइरहेका छन् । पहलगाम घटनापछि फेरि एक पटक भारत र पाकिस्तान युद्धमैदानमा होमिने हुन् कि भन्ने जिज्ञासा र चासो बढेर गएको छ । यस्तो अवस्थामा अहिले नै दुई मुलुकबीच युद्ध होला कि भनेर आँकलन गर्नु हतारो हुनेछ । यद्यपि केही आधारमा यसको विश्लेषण भने गर्न सकिन्छ ।
यसको सबैभन्दा महत्वपूर्ण आधार हो, आणविक हतियार । दुबै मुलुकसँग आणविक हतियार छ । यस्तो अवस्थामा भारत वा पाकिस्तान पूर्णस्तरको युद्धमा होमिने सम्भावना देखिन्न । पछिल्ला केही वर्षयता भारत र पाकिस्तान दुबै मुलुकले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरिसकेका छन् ।
पाकिस्तानाबाट भारत वा भारतबाट पाकिस्तानसम्म मार हान्न दुबै मुलुकलाई सकस त छैन । तर, यस्तो आक्रमणबाट हुने सम्भावित क्षतिबारे दुवै मुलुक जानकार छन् र यसबाट हुने क्षतिबाट दुबै मुलुकको अहित हुने दुबै पक्षको बुझाइ छ ।भारत र पाकिस्तानबीच हुने युद्धले दुबै मुलुकको अर्थिक क्षेत्र तहस–नहस हुनेछ ।
पाकिस्तानले भारतको मुख्य शहरलाई निशाना बनाएर आक्रमण गरे त्यसले तीव्र गतिमा आर्थिक विकास गरिरहेको भारतको आर्थिक क्षेत्रमा ठूलो नोक्सानी पु¥याउने निश्चित छ । अर्कोतर्फ भारतीय आक्रमणले उसैपनि आर्थिक संकटको सामाना गरिरहेको पाकिस्तानको अर्थतन्त्र थप नाजुक अवस्थामा पुग्ने देखिन्छ ।

भारतीय सञ्चार माध्यममा प्रसारण भइरहेका समाचार सामग्री हेर्दा तत्कालै भारत र पाकिस्तानबीच युद्ध भइहाल्छ कि जस्तो देखिन्छ । त्यसैगरी, भारतीय समाज पनि पहलगाम आक्रमणबाट क्रुद्ध बनेको छ । हमलाको विरोधमा ठाउँ–ठाउँमा प्रदर्शन र र्याली निकालिएको छ ।
खासगरी सत्तारुढ भारतीय जनता पार्टीलाई र उसको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघलाई समर्थन गर्ने जमातमा तत्कालै पाकिस्तानविरुद्ध भारतले युद्ध छेडिहाल्नुपर्ने मत देखिन्छ । यसले भारतको राजनीतिक नेतृत्वलाई पाकिस्तानविरुद्ध कठोर कदम चाल्न दबाब उत्पन्न भइरहेको आँकलन गर्न सकिन्छ ।
पछिल्लो घटनाक्रम हेर्दा भारतीय राजनीतिक नेतृत्व यस घटनापछि हातमा दही जमाएर वा चुप लागेर बस्ने देखिँदैन । यो घटना कश्मीरमा भएको पहिलो आतंककारी आक्रामण होइन । यसअघि सन् २०१९ को फेब्रुअरी १४ का दिन जम्मु कश्मीरकै पुलवामा भन्ने ठाउँमा पनि आतंककारी आक्रमण भएको थियो । भारतीय केन्द्रीय जगेडा प्रहरी बल (सीआरपीएफ) का अर्धसैनिकलाई लक्षित गरी पुलवामामा भएको आत्मघाती आतंककारी आक्रमणमा परी ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।
पछिल्लो घटनाक्रमले ठ्याक्कै त्यहीबेलाको झल्को दिन्छ । पुलवामा आक्रमणपछि भारत र पाकिस्तान युद्धकै संघारमा पुगेका थिए । त्यसबेला भारतीय लडाकु विमानले पाकिस्तानी भूमिमा आक्रमण गरेको थियो । उक्त आक्रमणको जिम्मा लिएको आतंकवादी समूह जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई निशाना बनाएर भारतले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बालाकोटमा गरेको हवाई आक्रमणमा २ देखि ३ सय आतंकवादीको ज्यान गएको दाबी गरेको थियो । सन् २०१६ को सेप्टेम्बरमा पनि सोही समूहले कश्मीरको उरीमा रहेको सैन्य हवाई अड्डामा आक्रमण गरेपछि त्यसको बदलामा भारतीय सेनाले पाकिस्तानभित्रै पसेर ‘सर्जिकल स्ट्राइक’ गरेका थियो ।
यस्तो बेला पाकिस्तानी सेनामाथि नै हमला गरेर अर्को ठूलो युद्ध भारतले निम्त्याउन चाहेको देखिन्न । दुई देशबीच पूर्णस्तरको नभएपनि सानो वा सीमित स्तरको युद्ध वा झडपजस्तो अवस्था सिर्जना हुनसक्ने सम्भावनालाई भने नकार्न सकिँदैन । भारतले पाकिस्तानमाथि दबाब बढाउन सानै तहको भए पनि सैन्य कारबाहीमार्फत बदला लिनसक्छ । त्यो सन् २०१६ वा २०१९ को जस्तो ‘सर्जिकल स्ट्राइक’ पनि हुनसक्छ । त्यसबाहेक भारतले कश्मीरको सीमा क्षेत्रमा ‘आर्टिलरी’ वा ‘क्षेप्यास्त्र हमला’ गर्नसक्छ । अथवा अरु कुनै प्रकारका साना आक्रमण गरेर आफ्नो ‘फेस सेभ’ गर्नसक्छ ।
सानो सीमावर्ती क्षेत्रमा हुने हमला पछि गएर पूर्णस्तरको युद्धमा रुपान्तरण नहोला भन्न सकिन्न । यस्तो अवस्थामा दुबै मुलुकले उच्च सावधानी अपनाउँदै कूटनीति र वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिन्छ ।
प्रतिक्रिया