‘तङ्सिङ् मुन्धुम’ याक्थुङ लिम्बू समुदायका पुर्खाले बाँचेको समय र भोगेका घटनाहरूको महाकथा हो ।
याक्थुङ लिम्बूका आदिम पुर्खाको कृतिको बखान, जीवन शैली, रहनसहन, प्रकृतिसँगको समन्वय र तादात्म्यता, जीजीविषाका लागि गरेको सङ्घर्ष, अनुभव र ती अनुभवलाई ज्ञानका रूपमा आत्मसात् गरेर बनाएको धारणा हो ‘तङ्सिङ् मुन्धुम’ ।
भन्नेले तङ्सिङ् मुन्धुमलाई ‘स्यूडो कल्चर, स्यूडो रिचुअल, स्यूडो साइन्स’ भन्लान् काँसको थाल बजाउँदै कुनै स्त्रीले लगाउने जामाजस्तो पहिरन लगाएर येवा, येमा, साम्बाहरू याग्राङ्सिङ (थान) वरिपरि फनफनी घुमेको देख्नेले ।
पछिल्लो केही वर्ष यता याक्थुङ मुन्धुमी कथा, विचार, अवधारणा, मुन्धुमी स्थल, मुन्धुमी आख्यान र ती आख्यानका मानवीय पात्रहरू, मुन्धुमी मेटाफोर खुब चासो र चर्चाको विषय बनेको छ । कतिपयलाई लाग्न सक्छ मुन्धुमसँग जोडिएका धारणाहरू किन अहिले आएर चर्चामा आए ? कतै यो याक्थुङ लिम्बू समुदाय साम्प्रदायिक त भइरहेका छैनन् ? यो हाइपरसोनिक समयमा प्राचीनकालको याक्थुङ मुन्धुमको कथा अहिले भन्नु जरुरी छ र ?

खासमा याक्थुङ मुन्धुमबारे आज पनि चर्चा नहुने थियो होला । जब वि.सं. ०५२ सालमा वैरागी काइँला (तिलविक्रम नेम्बाङ) ले ‘तङ्सिङ् तक्मा मुन्धुमः आख्यान, अनुष्ठान र विधि विधान’ प्रकाशन गरेर आम नेपाली पाठकमाझ ल्याइदिए त्यसपछि मात्र मुन्धुमको चर्चा हुन थालेको हो । हुन त इतिहासकार इमानसिंह चेम्जोङलगायत केहीले मुन्धुमका बारेमा नलेखेका होइनन् तर ती पुस्तकमा खासै व्याख्या नगरिएकाले चर्चाको विषय बनेनन् ।
०५२ सालमा प्रकाशित तङ्सिङ् मुन्धुममा करिब दुइ दर्जन याक्थुङ मुन्धुमहरू समावेश छन् । जुन कुनै पनि लिम्बूले आफ्नो घरमा वा वंश मिलेर तीनराते तङ्सिङ् गर्दा गाउँछन्, फलाक्छन् । ०५२ सालअघि पनि लिम्बूले तङ्सिङ् तक्मा गर्ने गरेकै थिए । अर्थात् मुन्धुमी परम्परालाई थामिल्याएकै थिए ।
पहिलेदेखि ती मुन्धुमी परम्परालाई विशुद्ध याक्थुङ लिम्बू भाषा (अझ मुन्धुमी भाषा) मा साम्बा, येवा (पुरुष पूरोहित) येमानी (महिला पूरोहित), फेदाङ्मा र तुतु तुम्याहाङ (अग्रज ज्ञानी भद्र भलाद्मी) हरूको सहयोगबाट याक्थुङ लिम्बूले आफ्नो मुन्धुमी परम्परा, प्रथाजनित संस्कार, संस्कृतिलाई अनुष्ठानका रूपमा सम्पन्न गर्दै आएका थिए ।

येवा, येमानी, साम्बा र फेदाङ्माहरूले आफ्नो काम, कर्तव्य र भूमिकालाई सोझो तरिकाले मात्र पूरा गर्दै आएका थिए ।
ती मुन्धुम भित्रका महाकथाहरू, ती महाकथाभित्रका अनेक घटना र ती घटनामा सहभागी अनेक पात्र र स्थलको व्याख्या, पुनव्र्याख्या गर्ने, मुन्धुमी ज्ञानको रूपमा लिने र अभौतिक सम्पदाको रूपमा लिने काम भने उनीहरूबाट हुन सकेन ।
वैरागी काइँलाले नै त्यसपछि एकपछि अर्को गर्दै थप ११ थान याक्थुङ मुन्धुमका पुस्तकहरू प्रकाशित गरे । ती याक्थुङ मुन्धुमी पुस्तकहरू ‘लाहादङ्ना–सुहाम्फे?बा मुन्धुम् (२०७०), पाजाइबा मुन्धुम् (२०७०), खाप्पुनामा मेलङ्हाङ्मा नु लुप्लिनामा वादङ्नामा मुन्धुम् (२०७०), नाम्सामि केसामि मुन्धुम् (२०७०), मुजिङ्ना खेयङ्ना मुन्धुम् (२०७०), नावाच?इःत् मुन्धुम् (सृष्टि वर्णन) (२०६०), ससिःक् मुन्धुम्ः मोच मार्ने आख्यान र अनुष्ठान (२०५२), नाहेन् मुन्धुम्ः ईर्ष्या र आँखी डाहीको आख्यान र अनुष्ठान (२०५१), साम्सोघा मुन्धुम्ः प्रेतात्माको आख्यान र अनुष्ठान (२०५१), साप्पोक् चोमेन् मुन्धुम्ः लिम्बू जातिमा कोखपूजा (२०४९) लगायत छन् ।
पछि वैरागी काइँलाकै पदचाप पच्छ्याउँदै अरुले पनि मुन्धुमी पुस्तकहरू प्रकाशन गर्न थाले । पछिल्लो समयमा तुम्याहाङ लक्ष्मण मेन्याङ्बोले ‘याक्थुङ मुन्धुम, मेहेरमान लाबुङ र हर्क कुरुम्बाङले ‘तङ्सिङ मुन्धुम’, धनराज थलङले ‘सुम्सेन्बा तङ्सिङ मुन्धुम (तीनराते तङ्सिङ मुन्धुम), भीमप्रसाद मुदेन्छङ साँवाले ‘मुन्धुम हावेक’ ल्याए । थप विस्तृत रूपमा डीवी आङबुङ्को सम्पादनमा ‘याक्थुङ साम्जिक मुन्धुम’ बजारमा आयो ।

यो ३० वर्षको अवधिमा प्रकाशन भएका मुन्धुमी किताब किनेर कतिपयले सिरानी लगाएर बसे भने थोरैले अध्ययन गरे । अध्ययन गर्नेहरू मध्ये पनि थोरैलेमात्र थाहा पाए अनि सोचे, ‘कुनै पनि मुन्धुमी अनुष्ठान गर्दा साम्बा, येवा, येमा, फेदाङ्माले थानमा बसेर वा काँसको थाललाई लयबद्ध बजाएर येग्राङ्सिङ वरिपरी लचकताकासाथ घुम्दै फलाक्ने गरेको मुन्धुम (वाणीहरू ) त याक्थुङ लिम्बूको हजारौं वर्ष अघिका पुर्खाले निर्माण गरेका ज्ञान, आवाज, सभ्यता, संस्कृति र संस्कारका अलिखित दस्तावेज पो रहेछन् ।’
यी उल्लेखित पुस्तकहरू प्रकाशित भइरहँदा वा प्रकाशन गर्न अघि साम्बा, येवा, येमा, फेदाङ्माले फलाकिरहँदा मुन्धुमले के भन्दै छ भनेर अधिकांश याक्थुङ लिम्बूलाई थाहा थिएन । धेरैले सोचे, ‘यो एउटा लिम्बूको लोकरीत मात्र हो, अरु केही होइन ।’
अझ लिम्बू समुदायकै अर्को पक्षले त ‘यो साम्बा, येवा, येमा, फेदाङ्माको जाँड, रक्सी, कुखुरा, राँगा, सुँगुरको मासु खाने मेलो मात्र हो, कुरीती हो’ भन्न पनि भ्याए ।

त्यसो भए जाँड–रक्सी र मासु खानकै लागि साम्बा, येवा, येमा, फेदाङ्माहरूले तीन दिन तीन रातसम्म फलाक्ने, गाउने मुन्धुमी महाकथा, महाआख्यानलाई ताथक्मा (गुरु चढ्ने, बक्ने) गरेर कण्ठस्थ पार्न बाध्य भएका हुन् त ? सम्भव छ यसो गर्न ? याक्थुङ लिम्बूको समाज र परिवारमा साम्बा, येवा, येमा, फेदाङ्माहरू र तुतु तुम्यहाङहरूलाई हेर्ने दृष्टिकोण, उनीहरूको आसन सामान्यतया सम्मानित हुन्छ । कतिपय अवस्थामा विशिष्ट पनि ।
समाज र परिवारमा सम्मानित र विशिष्ट मानिएका साम्बा, येवा, येमा, फेदाङ्माहरू, तुतु तुम्याहाङहरूले जाँड रक्सी, मासु खानकै लागि आफ्नो पुर्खाले निर्माण गरिदिएको महाआख्यान मुन्धुम फलाकेका हुन् ? यो प्रश्न तिनीहरूलाई हो जसले मुन्धुमको औचित्यमाथि प्रश्न गरेका छन् ।
पञ्चायतको अन्तिम कालमा याक्थुङ मुन्धुमी भाषा लिपि नै लुप्त हुन थालेको सबैलाई थाहा भएकै हो । र, ०४६ पछिको बहुदलीय व्यवस्था, ०६२/०६३ को जनआन्दोलन, त्यसपछिको लिम्बूवान आन्दोलन आदिले थोरैलाई झकझकायो । मुन्धुम बारे जानकारी नै नभएका याक्थुङ लिम्बूहरूले अलिअलि थाहा पाउन थाले । खोजीनीति गर्न थाले । प्रकाशित मुन्धुमी पुस्तक अध्ययन र विश्लेषण गर्न थाले । रैथाने भाषालिपि कला, संस्कृतिप्रति रुचि राख्ने गैर लिम्बू बौद्धिक व्यक्ति र समुदायले पनि चासो दिन थालेपछि अहिले याक्थुङ मुन्धुम महाआख्यानको रूपमा विस्फोट भएको हो ।

पाश्चात्य बाइबल निर्देशित दर्शन र आख्यान, पूर्वीय हिन्दू धर्म निर्देशित दर्शन र वेद, उपनिषद् र पुराण, त्रिपिटक निर्देशित बौद्ध दर्शन र आख्यान, कुरान निर्देशित इस्लामिक दर्शन र आख्यानले भन्ने गरेको भाषा, शब्दभन्दा धेरै फरक विचार, दर्शन, चिन्तन पाइन्छ याक्थुङ मुन्धुममा ।
यो ब्रमाण्डको उत्पत्ति, पृथ्वी र चराचर जगतको उत्पत्ति, मानिस, पशुप्राणीको उत्पत्ति, रुखपात, खोलानाला, हावा पानीको उत्पत्ति, साइनो सम्बन्ध निर्माण, प्रेम, रिस राग, आँखी डाहीको उत्पत्ति, समाज, परिवार, रीतिथितिको सुरुआत, कृषि प्रणालीको प्रारम्भ हुँदै सावा येहाङ् वंशको विस्तार, बसाइ सराइ, उनीको गौरवमय इतिहासको बखान गर्छ मुन्धुमले ।
केही इतिहासकार, समाजशास्त्री, मानवशास्त्री र राजनीतिक अभियन्ताले याक्थुङ लिम्बूको मुन्धुम र पुर्खालाई काठमाडौं उपत्यकामा पुर्याएर महाभारतकालीन (?) यलम्बरसँग पनि नजोडेका होइनन् । तर यता अरुण पूर्वका याक्थुङ लिम्बू समुदायको हजारौँ वर्ष अघिदेखि व्यवहारिक अभ्यास र आचरणको रूपमा आत्मसात गरिँदै आएको याक्थुङ मुन्धुमभित्र एक शब्द सङ्केत पनि भेटिन्न । किन भेटिएन भन्ने बारे कथित पाँच हजार वर्ष अघिका मानिएका प्रथम किराती राजा यलम्बर र मुन्धुमको सम्बन्ध जबर्जस्त जोड्न चाहनेहरूले उत्तर देलान् ।

याक्थुङ मुन्धुम लिम्बू समुदायले जुन भूगोलमा बसेर साझा मनोविज्ञान, साझा संस्कृति र सभ्यता निर्माण गरे त्यसैको सामाजिक, पारिवारिक इतिहास पनि हो । श्रुति परम्पराको रूपमा अनेक घटना, अनेक घटनास्थल, अनेक पात्र, अनेक ज्ञानका थाकहरू यसैभित्र अटाएका छन् । तर ती सबै किन अरुण पूर्वका भूगोलभित्रका मात्र छन् ।
महाआख्यान तङ्सिङ मुन्धुम
याक्थुङ मुन्धुमलाई वेदसँग तुलना गरेर कतिपयले थुतुरी वेद पनि भन्ने गरेका छन् । वास्तवमा मुन्धुमको सोझो अनुवाद वेद हुँदै हुँदैन । वेद हिन्दू धर्मशास्त्रको कुञ्जी हो । मुन्धुम पनि याक्थुङ लिम्बू समुदायको ज्ञानको कुञ्जी हो । सायद यसैले मुन्धुमलाई लिम्बूको धर्मशास्त्रको रूपमा चिनाउँदै थुतुरी वेद भनेका होलान् ।
पुस्तौंपुस्तादेखि साम्बा, येबा, येमा, फेदाङ्मा र तुतु तुम्याहाङहरूले मुखमुखै फलाक्दै हस्तान्तरण गर्दै आएकाले थुतुरी वेद भनेका हुन सक्छन् । तर याक्थुङ मुन्धुम हिन्दू, क्रिश्चियन, बौद्ध, इस्लामको जस्तो धर्म र धार्मिकता सिकाउने ज्ञान भने होइन । मुन्धुमले अलौकिक संसारको भन्दा लौकिक संसारको महाकथा भन्छ । त्यसैले मानवशास्त्री, समाजशास्त्रीव र वैज्ञानिकहरूले भन्दै आएका छन्, ‘प्रकृतिपूजक याक्थुङ लिम्बू समुदायको कुनै धर्म छैन । उनीहरूको धर्म भनेकै प्रकृति पूजा हो ।’

प्रकृति पूजकको अर्थ सूर्य, चन्द्र, तारा, पृथ्वी, आकाश, चट्याङ, आँधीहुरी, बतास, बादल, हावा, नदी, खोलानाला, छहरा छाङ्गा, हिमाल, पहाड, आगो, देउराली, पाखा पहरा, ओढार, दुबो, ढुङ्गो, फूलपात, वन जङ्गल, पशुपंक्षी, जलचर, थलचर, उभयचर सबैको समान अस्तित्व स्वीकारेमा मात्र यो प्रकृतिमा बाँच्न सकिन्छ भनेर आस्था र विश्वास गर्ने भन्ने हुन्छ । प्रकृतिपूजकले अर्को संसारको कल्पना गर्दैन । स्वर्ग, नर्कको पनि कल्पना गर्दैन ।
जे छ, जे हुन्छ, यही प्रकृतिमा छ र हुन्छ अनि तिनलाई स्वीकारेर मानमनितो गर्नुपर्छ भन्ने ज्ञान याक्थुङ मुन्धुमले दिन्छ । त्यसैले याक्थुङ लिम्बूलाई मन्धुममा लुङ्बोङ्वासा खाम्बोङ्वासा (दुबो, ढुङ्गो, माटोको मालिक वा सन्तान) भनेर चिनाइएको छ ।
सावा येहाङहरूले हराभरा घना वनजङ्गल देखे । वनस्पतिले अक्सिजन दिएर कार्वनडाइअक्साइड लिन्छ भनेर विज्ञानले प्रमाणित गर्नुअघि नै वनजङ्गलको अस्तित्व स्वीकारेर त्यसलाई वन देवताको रूपमा मानमनितो गर्न थाले । मुन्धुममा वनदेवतालाई ताम्भुङ्ना भनिन्छ । ती वनका बाँस र रुखका काठ प्रयोग गरेर घर बनाएर बस्न थाले । अब घरले मानिसलाई ओत दिने भएकाले घरदेवताको रूपमा मानमनितो गर्न थाले जसलाई हिम साम्माङ भने ।

घरलाई मूल खम्बाले थामेको वा चारै सुरलाई सन्तुलित राख्ने भएकाले मुरुम सि?लाङ् भनेर मानमनितो गर्न थाले । आगोको शक्तिलाई स्वीकारेर मुकुमसेमी भनेर पुज्न थाले । प्रकृतिमा जे जति छन् सबैलाई पुज्ने र मान्ने सहअस्त्विको ज्ञान मुन्धुमले दिने भएकाले त्यो मुन्धुमअुनसार आफ्नो जीवनपद्धति चलाउने भएकैले लिम्बूलाई प्रकृतिपूजक भनिएको हो ।
उनीहरूको जीवन दर्शनको रूपमा रहेको मुन्धुमभित्र छ, ‘तङ्सिङ तक्मा’ मुन्धुम अनुष्ठान । तङ्सिङ तक्मा याक्थुङ् जातिको अत्यन्तै महत्त्वपूर्ण र प्रमुख अनुष्ठानमध्ये एकमा पर्छ । यसले याक्थुङ्को पारिवारिक, सामाजिक, नैतिक र धार्मिक धारणाहरूको विकासको बारे बताउँछ । तङ्सिङ फलाक्ने क्रममा येबा/मा वा साम्बा, फेदाङमाले विश्वब्रह्माण्डको उत्पत्तिको कथामात्रै नभएर जलचर, थलचर, मान्छे, परिवार, समाजको विकासक्रमको वर्णन गर्दछ ।
यो अनादिकालदेखि मौखिक रूपमा सर्दै वा हस्तान्तरण हुँदै आएको हो । यी महाआख्यानहरू सबैभन्दा पहिलो युमामाङको उपासनापछि गायन, वाचन र विधिपूर्वक फलाकिने अनुष्ठानलाई तङ्सिङ तक्मा मुन्धुम भनिन्छ ।

मुन्धुमविद तुतु तुम्याहाङ वैरागी काइँलाका अनुसार तङ्सिङ शब्दको व्यूत्पत्ति दुई शब्द जोडेर निर्माण भएको देखिन्छ । ‘तङ्’ शब्द तङ्मा (मिल्नु) क्रियाको धातु रूप हो । जसमा ‘सिङ्’ प्रत्यय लागेर तङ्सिङ शब्द निर्माण भएको देखिन्छ । तङ्सिङमाको अर्थ परस्परमा मिल्ने भन्ने बुझिन्छ । त्यसैले मानिस, घर परिवार, समाजको आपसी मेलमिलाप, सामाजिक सद्भाव, ऐक्यबद्धता, सुस्वाथ्य, सुख शान्ति, प्रगति, उन्नति, समृद्धिका लागि गरिने एक पारिवारिक अनुष्ठान हो भनेर हामीले बुझ्नु पर्छ । तङ्सिङ तक्मा मुन्धुमलाई वैरागी काइँलाले पूर्वखण्ड, मध्यखण्ड र उत्तरखण्ड गरी तीन खण्डमा विभाजन गरेका छन् ।
मुन्धुम अध्येता तुम्याहाङ लक्ष्मण मेन्याङ्बो, येवा मेहेरमान लाबुङ, येवा धनराज थलङलगायतले भने आफ्नै किसिमले विभाजन गरेका छन् । जतिसुकै प्रकारमा विभाजन गरे पनि तङ्सिङभित्र के के महाकथाहरू फलाकिने (गायन) हुन्छ भन्ने मुख्य कुरा हो ।पूर्वखण्डमा पहिलो दुई रात र एक दिनको समयावधिमा ब्रमाण्ड र सृष्टिको आख्यान (नावा चइत् मुन्धुम) पाठ हुन्छ । यसैमा पृथ्वी, जीव जगत, मानिसको सृष्टिको कथा पाठ हुन्छ ।
याक्थुङ पुर्खाहरू येहाङ्/येत्हाङहरूले सभ्यताको विस्तारसँगै समाज, परिवार, संस्कृति, साइनो सम्बन्धको निर्माण गरेको महाकथा पाठ हुन्छ । साइनो सम्बन्ध कायम हुनुभन्दा अघिको महाकथा निर्माण हुँदै गर्दा आदिम तर प्रभावशाली स्त्री मुजिङ्ना खेयोङ्ना, उनका छोरा सुसुवेङ लालावेङ, सुसुवेङ लालावेङसँग यौन सम्पर्क गर्नेहरू थोसुलुङ्मा फियमलुङ्मा, योसुलुङ्मा मुगुपलुङ्मा र उनीहरूका अन्य दुई सँगी, उनीहरूको संसर्गबाट जन्मेका सुच्छुरु सुहाम्फेवा, तेत्लारा लाहादङ्ना, लिङ्दाङखेवा र साङ्दाङखेवाका चर्चा, वयस्क भएपछि सुच्छुरु सुहाम्फेवा र तेत्लारा लाहादङ्ना बीच काइसोधोक (हाडनाता सम्बन्ध) पछि जन्मेका सन्तानको भागबण्डा, ज्ञान र विवेकले भरिपूर्ण प्रतापी तुम्याहाङ, साम्बा, येवा, येमा, फेदाङ्माको उद्भव आदिका महाकथाहरू पाठ हुन्छ ।

तङ्सिङ तक्मा मुन्धुमको मध्यखण्डमा आदिम समाजको विकास, मान्छे र प्रकृतिको अन्योन्याश्रित सम्बन्धको महाकथाहरू सँगै समाज र परिवामा उत्पन्न हुने लोभलालच, ईर्ष्या, आँखीडाही, भेदभाव, व्यभिचार, दूरात्मा, अनिष्टकारी तत्वका आख्यान र तिनबाट मुक्ति पाउने उपाय स्वरूप माङहुप वादेम्मा (गालिसराप बगाउने र एकापसमा सद्भावको उत्सव) अनुष्ठान सम्पन्न गरिन्छ ।
यो अनुष्ठानमा सुँगुर र कुखुराको बली दिइन्छ । साक्मुरा वादेम्मा पनि भनिने यो अनुष्ठानमा आवासो सोदेङहाङ्वाका चेली र सिगेरा एक्थुक्नामा बीचको कथा पाठ हुन्छ । माइतीले चेलीलाई खान नदिएर भोकै राखेपछि चेली सिगेरा एक्थुक्नामाले सराप दिएको कथा पाठ हुन्छ । त्यही सराप सावा येहाङका दर सन्तानमा नलागोस् भनेर पुकार गरिन्छ । यस्तै, मुजिङ्ना खेयोङ्नाका सन्तानहरू सुच्छुरु सुहाम्फेबा र तेत्लारा लाहादङ्नाबीच हाडनाता बिग्रिएर धेरै सन्तान जन्मिएपछि बाँडफाँड गर्दा लाहादङ्नाको मनमा लोभलालच भई कपट र हानाथाप भएर आँखीडाही सुरू भएको महाआख्यान छ ।
सावायेत्हाङ/येहाङका सन्तानहरू फैलिएर मान्छेले घर बनाउन चाहेको बेला पशुपंक्षीसँग ईर्ष्या गरेको प्रसङ्ग आउँछ । माछालाई कुरमा र चरालाई रुखमाथि गुँड बनाएको देखेपछि मान्छेले घर बनाउन थाल्यो । घर निर्माणको सङ्कल्पसहित बनाउँदै जाँदा मुधकहाङ थक्पाहाङ नामक काठखाने कीरा आएर भोजन माग्दा जाँड नदिएको र त्यही रिसमा मान्छेले बनाएको घरको काठमा पसेर तहसनहस गरेको प्रसङ्ग आउँछ । इरेरे इधुक्नामाले आफ्नो सौताप्रति देखाएको रिस र ईर्ष्याबाट सौताहरू प्रतिको डाही (ला?मा नाहेन्) उत्पत्ति भएको आख्यान छ ।
यो अनुष्ठानमा मनभित्रका क्लेसहरू, आफन्तप्रति गरिएका घृणा र तिरस्कारका भावनाहरू, आपसी वैमनस्यता र दुव्र्यवहारहरू, रिस–इबीहरू अबदेखि गर्दिन/गर्दैनौँ, मनमष्तिस्क शुद्ध बनाएर प्रेम र सद्भाव कायम राख्ने छौँ भन्ने प्रतिज्ञासहित माङहुप वादेम्मा अनुष्ठान पूरा गरिन्छ ।

यसै खण्डमा हिवा तुःक्मा (अभिसापको आँसु पुछ्ने) अनुष्ठान पनि सम्पन्न गरिन्छ । अर्थात्, माङ्हुप वादेम्मा अनुष्ठानपछि अनिष्टकारी तत्वहरूको बाटो छेक्दै उपकारी गुणकारी, विवेकी र शुद्ध मनका धनीहरूका आँखाबाट अभिसापका आँसु पुछिदिने अनुष्ठान पनि साम्बा, येवाहरूले सम्पन्न गरिदिन्छन् । यसको अर्थ समाज र परिवारका मानिसले प्रकृतिमा देखेका सबै कुरा सही हुँदैनन्, नराम्रा तत्व पनि देखिने भएकाले त्यस्ता नराम्रा दृश्यबाट कोही पनि प्रभावित नहोउन् भन्ने हो । सोघा सुगुप मुन्धुम आख्यान पनि यसै बेला पाठ हुन्छ ।
याक्थुङ् लिम्बू समुदायमा दुर्घटनामा परेर अकाल गतिमा मर्नेहरूका प्रेत शक्तिलाई सोघा भनिन्छ । लासलाई जीवजन्तुले छोई बिटुलो पार्दा हुने प्रेत शक्तिलाई लेत्छाम् भनिन्छ । प्रसव कालमा मर्ने स्त्रीको प्रेतलाई सुगुप् (सुगुत्) भनिन्छ ।
तङ्सिङ महाआख्यानअनुसार सावा येहाङको आकाशमा दुईटा घाम उदाए । ती घामहरू लासारा थेनामहाङ र चुक्चिनाम्बा नाम गरेका दुई दाजुभाइ थिए । ताप्लेजुङका तम्बरखोले साम्बा, येवा फेदाङ्माहरूले भने लासारालाई आयङ्गो यङ्यानाम्ना पनि भनेर पुकार्ने गर्छन् ।
दुई मध्ये एकलाई नमारे खडेरी, सुख्खा हुने देखेर त्यहाँका खाम्जिरी खाम्बोतोसा लुङ्जिरी लुङबोतोसाहरूले चुम्लुङ (सभा) गरेर खाम्लुङ्ना आइना नाम गरेको दुम्सीलाई नालिकुजेन (दक्षिणा) दिएर दुई मध्ये एक घाम मार्न लगाउँछन् । दुईटै दाजुभाइ घाम एकसाथ लाग्दा रात नपरे दिनमात्र हुने र तापले पोलेको कारण दाजु घाम लासारा थेनामहाङलाई खाम्लुङ्ना आइनाले आफ्नो काँडाले प्रहार गरेर मार्छन् ।
लासारा मारिन्दासँगै भाइ घाम चुक्चिनाम्बा पनि मर्छ । तर प्रकृतिमा चारै तिर अँध्यारो छाउँदा केही नदेखेर खाम्जिरी खाम्बोतोसा लुङ्जिरी लुङ्बोतोसाहरू भीर पहरामा लडेर मर्छन्, खोला नदीमा बगेर मर्छन् । र, सावा येहाङ गाउँ बस्तीमा सोघा सुगुपको उत्पत्ति हुन्छ । तिनै सोघा सुगुप (अनिष्टकारी प्रेत शक्ति) लाई खेदाउन र जीवित मानिसको हंसबाट छुट्याउन यो मुन्धुम पाठ गरिन्छ । यो महाआख्यानले आदिम कालमा खडेरी परेको र खडेरीबाट बच्न उनीहरूले उपाय गरेको बुझ्न सकिन्छ ।

सोघा सुगुप मुन्धुमपछि मुकुमसेमी (आगोको उत्पत्ति) को महाआख्यानको पाठ हुन्छ तीनराते तङ्सिङ तक्मा अनुष्ठानमा । सावा येहाङहरूको आफ्नै सन्सार भएको इम्बिरियाङ्धाङ्वा (तमोर नदी) आसपासको पिप्पुधापमा आगोको उत्पत्ति भएको मुन्धुममा उल्लेख गरिएको छ ।
पिप्पुधापमा निलगाईका सिङ जुधेर आगोको झिल्का निस्केर सुकेका पतिङ्गर सल्केको कथा छ । आगोको उत्पत्ति भएको हजारौँ वर्ष पछि बस्तीमा डढेलो लागेर उठिबास भएपछि आगो मार्न एक जुट हुन्छन् सावा येहाङहरू । उनीहरूले आगोलाई खेदाउँदा कहिले अर्घेलीको लोक्तामा लुक्ने, कहिले दल्सिङ ढुङ्गामा लुक्ने गर्दागर्दै भेट्छन् । आगोलाई समाप्त गर्दा उसको अस्तित्व नै नष्ट हुने र प्रकृतिको एउटा तत्वको अस्तित्व नष्ट हुँदा त्यसको असर मानव समुदायमा पनि तत्काल पर्ने भएकाले एकापसमा सम्झौता हुन्छ । र, मुन्धुमले मात्र बार लगाएर छाड्छन् ।
तङ्सिङ तक्मा मुन्धुमको उत्तरखण्डमा छुट्टै लिङ्गो गाडेर फुङ्वा चाङ्मा (फूल फुलाउने, पक्लुङ चाङ्मा (छेलो हान्ने), फुदोङ तोःम्मा ( साम्बा, येवा, येमालाई मेजमानी चढाउने), खेमा तङ्सिङ छुट्याउने, पोखरी बार्ने अनुष्ठानहरू गरिन्छ भने सिलाम साक्मा (मृत्युको पथ छेक्ने) अनुष्ठान पनि सम्पन्न गरिन्छ । अन्तिममा साम्लिःङ्मा (सातो हालिदिने अनुष्ठान) गरिन्छ ।
सामान्यतया याक्थुङ् लिम्बू समुदायमा वर्षमा एक पटक नभए तीन वर्षमा एक पटक तङ्सिङ् अनुष्ठान गर्ने चलन छ । अनुकूल समयमा गरिने तङ्सिङ्लाई सेसे साङ्साङ वा तङ्सिङ् मात्र भनिन्छ । समग्रतामा गरिने तङ्सिङ् चाहिँ सुम्सेम्बा तङ्सिङ् जसलाई तीनराते तङ्सिङ् भनिन्छ । मराउ पराउ पर्दा सि तङ्सिङ् गरिन्छ ।

यसमा पनि एकै परिवार भित्रको भए इघेच्छिङ तङ्सिङ् र पेसिङभित्र सामूहिक रूपमा गरिनेलाई इघेप्मासिङ् तङ्सिङ् भनिन्छ । दुवै तङ्सिङ्मा मिक्वा साङ्मा वा आँसु पुछ्ने अनुष्ठान गरिन्छ । तङ्सिङ् मुन्धुमकै सङ्क्षिप्त रूपमा सालमा एक पटक वंश नै भेला भएर नजिकैको खोला नदीको किनारमा गएर गरिनेलाई माङ्हुप वादेम्मा (गाली सराप बगाउने अनुष्ठान) भनिन्छ ।
अर्का मुन्धुमविद् तुम्याहाङ लक्ष्मण मेन्याङ्बोका अनुसार याक्थुङ् लिम्बूका पुर्खा सावा येत्हाङ/येहाङहरूले पहिलो पटक ताप्लेजुङको इखाबु (युखावु) मा बग्ने नु?वा (खोला) मा साक्मुरा वादेम्मा गरेको मुन्धुममा प्रसङ्ग आउँछ । घरमा अभिभावकसँग हुर्कँदै गरेका किशोरकिशोरीका लागि फुङ्वा चाङ्मा वा पक्लुङ चाङ्मा अनुष्ठानमा पनि तङ्सिङ् मुन्धुम येवा साम्बाहरूले फलाक्छन् । त्यसैगरी, नाहेनसिङ् लाङ्मा (ईर्ष्या तथा आँखीडाही) को अनुष्ठान गर्दा पनि तङ्सिङ् तक्मा मुन्धुम फलाकिन्छ ।
तङ्सिङ् मुन्धुम अनुष्ठान जीवित मानिस र मृतकका लागि गरिन्छ । मरेकाहरू जो मुक्ति नपाएर प्रेतात्माको रूपमा रहेको विश्वास गरिने भएकाले उनीहरूलाई जीवित र मृतकको सम्बन्ध छुट्याउने गरेर तङ्सिङ् सेम्मा गरिन्छ । जीवित मान्छेको सन्दर्भमा येवा साम्बाले फलाक्दै पुर्खाहरूको अवस्थल चो?लुङ (सिद्धिस्थल) मा पुर्याउने गरिन्छ । साम्बा र येवाले चो?लुङको यात्रा सुरू गर्नुअघि मुन्धुममा वर्णित हालको तमोरखोला ताप्लेजुङको साँगा तेम्बे गाउँदेखि तल मेरा र मङ्वा खोलाको दोभान तेम्बेथोक मुन्धुमद्वारा विधिपूर्वक गुरू जगाउँछन् ।

तङ्सिङ् तक्मा मुन्धुमअनुसार चो?लुङको महायात्रा सुरू गर्दा उकालो चढ्दा भेटिएका रुखपात, डाँडाकाँडा, ढुङ्गेबाटाको वर्णन गर्दै गाउँदै जाँदा उनीहरू पाँचवटा धारा भएको ठाउँमा पुग्छन् । केहीबेर विश्राम लिन्छन् र फेरि पुनर्ताजगी भएर उकालो चढ्छन् । ढुङ्गाका ठूलाठूला ओढारझैँ अग्लो डाँडामा पुगेर देवीदेउताको पुकार गर्दै बल माग्छन् । उनीहरू जङ्गलले ढाकेको धापमा पुग्छन् । भास भएकाले मुढा लडाएर त्यसमाथि टेक्दै वा साँघु थापेर पारी तर्छन् ।
त्यहाँबाट बाटो काटेर उकालो हुँदै सिद्धिस्थल पुग्छन् । सुन्दर रमणीय पर्वत शृङ्खलामा पुग्छन् जहा तरूनी तन्नेरी भेला भएर रातदिन नाच्ने गाउने आख्यान छ । यहीँ ठाउँमा साम्बा र येवाहरू ले मुन्धुमको ताथक्मा (उपासना) गर्न बिसाउँछन् । हाक्पारे लयमा गीत सुनाउँदै कुर्लिन्छन् । उमेर पुगेका तरूनी तन्नेरीहरू दीर्घायु र सुस्वास्थ्यका लागि शिर उठाउँछन् (फुङ्वा चाङ्मा) गर्छन् । त्यहाँको समथर भूमिमा तन्नेरी तरुनीहरू उन्नत शिरका लागि पक्लुङ चाङ्मा गर्छन् ।
महायात्रा फेरि सुरू हुन्छ । शिखर पुग्नु अघि अति अप्ठ्यारा बाटोहरू पार गर्दै प्रेतात्मा (सेहे, सिया, वायु) बास गर्ने अँध्यारो स्थलमा पुग्छन् । जसलाई खेमायङ्सङ पाङ्भे भनिन्छ । खेमायङ्सङ पाङ्भेमा पुगेपछि उनीहरूले बोेकेको तङ्सिङ्को धागो चुँडाउने र पखाल्ने गर्छन् । त्यो अनुष्ठानलाई हाङ तङ्सिङ् भनिन्छ ।

फेरि महायात्राका लागि उकालो लाग्छन् । जाँदाजाँदै चो?लुङ (तुतु तुम्याहाङ्देन, लासेभादेन्, नाम्सेभादेन) मा पुग्छन् । त्यो सर्वोच्च शिखरमा, पुर्खाले प्राप्त गरेको सिद्धि वा कृतिमान् कायम गरेको अवस्थलमा पुग्नु नै महायात्रा आरोहणको चरमोत्कर्ष हो । यसरी जीवित मान्छेहरूले सिद्धि प्राप्त गरेपछि रोगव्याधि, शत्रु र अन्य अनिष्टकारी शक्तिबाट मुक्त हुन्छन् ।
चो?लुङमा साम्बा येवाहरूले विश्राम गर्दै दुई अनुष्ठान सम्पन्न गर्छन् । सोधुङ वरक थेक्मा/तिङ्मा (सफा र चोखो अर्थात पवित्र पोखरीमा पानी भर्ने र पानीमा जलचर हाल्ने) र फुङ्वा चाङ्मा (फूल फुलाउने/जगाउने) अनुष्ठान पर्दछन् । याक्थुङ लिम्बू समुदायले फूललाई जीवनको प्रतीक मान्ने गरेकाले जसको नाममा फुङ्सारी (कलश) मा फूल राखिएको हुन्छ । त्यो फूल झर्झराउँदो भएमा उसको शिर, शरीर र मन पनि ताजा र स्वस्थ हुन्छ भन्ने मान्यता छ ।
यसरी अनुष्ठानका विधिहरू सम्पन्न गरेपछि साम्बा येवाहरू आफ्ना साथीसँगी उपकारीहरूसँग मुन्धुममा वर्णित यात्रा पथअनुसार नै यथास्थानको थानमा फर्कन्छन् । थानमा फर्केर आराम गरेपछि बाँकी अनुष्ठानिक विधि सम्पन्न गर्दै उपकारीहरूको सातो पक्डेर सबैको शिरमा साम्बा येवाले राखिदिन्छन् र सिलाम साक्मा वितरण गर्छन् । जुन सिलाम साक्मालाई सबैले घरमा लगेर दैलोमाथि वा छानामा सिउरिने गर्छन् ।
जसको तात्पर्य मृत्युको बाटो छेकेको सङ्केतको रूपमा लिन सकिन्छ । यो महायात्रामा आरोहण गरिने अग्लो शिखरलाई चो?लुङ मानिन्छ । तङ्सिङ् तक्मा अनुष्ठानमा येत्हाङ/येहाङको सामाजिक, मानवशास्त्रीय, पारिवारिक इतिहासको पनि चर्चा हुन्छ ।
तङ्सिङ मुन्धुमको महाआख्यानमा प्राचीनकालमा याक्थुङ पुर्खाले चिनेका, सहअस्तिव स्वीकारेका वनस्पति, कीटपतङ्ग, नदीनाला, फूलपातदेखि ब्रमाण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, वनस्पति र खोलानाला सागरको उत्पत्ति र अन्तमा जीवजन्तु र मानिसको उत्पत्ति कथाहरू साम्बा, येवा येमा, फेदाङ्माहरूले गेयपद्धतिमा फलाकेर सुनाउने गर्छन् ।
साम्बा, येवा, येमा, फेदाङ्माले मुन्धुमी लय समातेर फलाकेका यी महाकथालाई उनीहरूका येगाप्ची (साथी) ले फेरि दोहोर्याउँछन् । अनेकौँ पटक आफ्ना गुरुले फलाकेका मुन्धुमी महाकथालाई येगाप्चीले पनि दोहोर्याउँदै जस्ताको तस्तै फलाक्दा त्यो ज्ञान क्रमशः हस्तान्तरण हुने गरेको छ ।
ससिक् मुन्धुम (मोच मार्ने आख्यान र अनुष्ठान) पनि तीनराते तङ्सिङ् मुन्धुम र अनुष्ठानभित्रै पर्छ । आमाको गर्भबाट जन्मन नसकी गर्भमै मर्ने वा जन्मनासाथ मर्ने शिशुलाई सशिक् भनिन्छ । जसलाई नेपालीमा मोच भनिन्छ । शिशुहरूको त सामान्य अवस्थामा वा कालगतिले नै मृत्यु भए पनि नूनतेल वा जुठो बार्ने वा शुद्धाइँ वा भोज गर्ने प्रचलन छैन ।
याक्थुङ् समुदायमा दुधे दाँत निस्केको तर दाँत नसाटिएको (ताङ्लिङ्हङ्सा), न्वारान भएको तर दुधे दाँत पनि नउम्रिएको (सुसुना) र जन्मसम्म भएको तर न्वारान पनि नभई (लाम्दोबा) मृत्यु भएको शिशुहरूको नूनतेल बार्ने वा जुठो बार्ने चलन गरिँदैन । सद्गत् गर्दा फेदाङमा र तुम्याहाङ बोलाए पनि खामसापोक फङ्मा गर्ने, खामइङमा गर्ने, साम्ताक्मा गर्ने, सिमेरिङ राख्ने कुनै विधि गर्दैनन् ।

सशिक्को उत्पत्तिको आख्यान सावा येहाङ/येत्हाङहरूको गाउँबाट सुरू हुन्छ । सिफाक्जङमा भन्ने एउटा गाउँमा एउटी स्त्रीले जन्म दिएको सात दिनमै शिशुको मृत्यु भएपछि मृतक शिशुलाई आमाले डाँडामा लगेर राख्छिन् । तर, केही समयमा पिँडालुबारीमा रोएको अवस्थामा भेटेपछि मायाले च्यापेर घरमा लान्छिन् । दूध पिलाउँदै गएपछि शिशु मोटाउँदै जान्छ भने आमा दुब्लाउँदै जान्छिन् । केही दिनमा त्यो शिशु सशिक् नामकको अजङ्गको भीमकाय प्रेतशक्ति बन्छ । जसले पृथ्वीमा रहेका गर्भिनी स्त्री, दुधेबालक र गर्भेशिशुलाई दुःख दिन थाल्छ ।
यो समस्याबाट मुक्ति पाउन सावायेत्हाङहरूले तागेरानिङ्वाफूमाङ रहेको स्थलमा पुगेर सल्लाह माग्छन् । प्रत्युत्तरमा तागेरानिङ्वाफूमाङले सशिक् भन्ने प्रेतशक्तिलाई मार्न तेन्छाम्मुक्पा नाम गरेको येबालाई साथमा लैजान अर्ती दिएपछि गाउँघरमा शान्ति छाएको आख्यान छ ।
तीनराते तङ्सिङ मुन्धुममा अर्को महत्त्वपूर्ण अनुष्ठान हो नाम्सामी केसामी मुन्धुम । यो महाआख्यानमा पशुत्व भएका दाजु र मानवीय मन भएका भाइ बीचको ईर्ष्या र द्वन्द्वले कसरी एउटा परिवार शोकमा डुब्छ भन्ने चर्चा गर्छ ।
तिगेन्जङ्ना गाउँ बस्ने इप्नासो सरेङ्धङ्नाका दुई छोराहरू बाघ जस्तो हिंस्रक पशुत्वले भरिएका केसामी र मानवीय मन भएका नाम्सामीमध्ये जेठो केसामी पशुत्वको र कान्छो नाम्सामी मनुष्यत्वको प्रतीकका रूपमा व्याख्या गरिएका छन् । कान्छो भाइको बुद्धि, विवेक र सद्गुण देखेर जेठो दाइ नाम्सामीलाई ईर्ष्या र डाही भएको र त्यसैको कारण दुईबीच युद्ध भएको प्रसङ्ग छ ।
आफ्नै छोराहरू बीचको यो युद्धमा सबैभन्दा बढी आमा इप्नासो सरेङ्धङ्ना दुःखी हुन्छिन् । आमाले यो युद्धमा कसलाई साथ दिने दोधार त हुने नै भइन् । बुद्धि विकेक र सद्गुणका धनी कान्छो छोरालाई साथ दिने कि आफ्नै भाइप्रति ईर्ष्यावश बलिष्ट पशुत्वको व्यवहार गर्ने हिंस्रक जेठा छोरालाई साथ दिने ? आखिर दुवै जना उनकै गर्भमा नौ महिना पालिएर जन्मेका मुटुका टुक्रा हुन् । जस्तो सुकै भए पनि सन्तानप्रति भेदभाव नगर्ने मन आमा जति परिवारमा अरुको हुँदैन ।

नामसामी–केसामी मुन्धुम महाआख्यानअनुसार दाजु र भाइ बीचको युद्ध निश्चित भएपछि ताप्लेजुङको नाङ्खोल्याङमा आमा इप्नासो सरेङधङ्नाले दुवै छोराको नाममा फुङ्सारी –फूलपातसहितको कलश) घरमा राखेकी हुन्छिन् । युद्धमा केसामीको बल र प्रतापले नामसामी हायलकायल हुँदै शिथिल हुँदा यता घरमा राखेको नामसामीको नामको फुङ्सारीका फूलपात पनि ओइलिएर मुर्झाउन थाल्छ भने केसामीको नाममा राखेको फुङ्सारी झर्झराउँदो हुन्छ । यस्तो देखेर इप्नासो सरेङधङ्ना आत्तिन्छिन् ।
लामो युद्धको अन्तिम समयसम्ममा नामसामीसँग भएका हतियार, तिर धनुकाँड सबै सकिन्छ । प्रयोगमा नआएको भुत्ते काँड मात्र बाँकी रहन्छ । उसले विवेक प्रयोग गरेर हिंस्रक दाजुमाथि त्यै भुत्ते काँड प्रहार गरेपछि नौ तला माथिको अजङ्गको सिमलको रुखको एकातिरको हाँगाबिँगा लछार्दै केसामी भुइँमा बजारिन्छ र मृत्यु हुन्छ । यता घरमा राखेको नामसामीको नामको फुङ्सारी एक्कासी जागेर आउँछ । झर्झराउँदो हुन्छ । र, केसामीको फुङ्सारी ओइलाउँछ । आफ्ना दुई छोरा बीचको युद्धमा एउटा मर्दा र अर्को बाँच्दा आमालाई खुसी र दुःखी दुवै व्यक्त गर्न सक्दिनन् ।
नामसामी–केसामी महाआख्यानले पशुत्व व्यवहारमाथि मनुष्यत्व व्यवहारको जित भएको सन्देश दिए पनि एउटी आमाका लागि भने पीडादायी घटनाबाहेक अरु केही हुन नसक्ने सन्देश पनि दिएको छ । तीनराते तङ्सिङ मुन्धुमभित्रको यो महाआख्यानमा इप्नासो सरेङ्धङ्नाको लोग्ने अर्थात् नामसामी र केसामीको बाबु चिनाइएको छैन । यसको अर्थ यो आख्यान स्त्रीप्रधान कविला युगको घटना भएको मान्न सकिन्छ ।
तङ्सिङ मानी ल्याउनु र थामिल्याउनुका कारणहरू
याक्थुङ मुन्धुममाथि ११ थान पुस्तकका लेखक, सङ्कलक र सम्पादक तुतु तुम्याहाङ वैरागी काइँला, ‘याक्थुङ मुन्धुम’ सहित आधा दर्जन मुन्धुमी पुस्तकका लेखक तुतु तुम्याहाङ लक्ष्मण मेन्याङ्बो र ‘चो?लुङ मुन्धुममा निहित राजनीतिक दर्शनको सार–तत्व’ का लेखक तुम्याहाङ स्व. डा चैतन्य सुब्बा (मेन्याङ्बो) को तङ्सिङ मुन्धुममाथिको मत एउटै छ । त्यो हो, प्रकृतिमा भएका चराचर जगत, ढुङ्गा–माटो, हावा–पानी, वनस्पति, पशुप्राणी र मानिसबीचको आत्मियता, निकटता र सह–अस्तित्वको सम्बन्ध अन्योन्याश्रित रहेको छ ।
सह–अस्तित्वको सम्बन्ध कायम गर्दै परापूर्वकालदेखि याक्थुङ लिम्बू समुदायले तङ्सिङ मुन्धुम मानिल्याउनु र थामिल्याउनुका कारणहरू धेरै छन् । जसमा जीवनलाई जटिल होइन सरल बनाउन, सुखी, स्वस्थ, दीर्घायु र समृद्ध सन्तानको कामना प्राप्ति गर्न, खडेरी र भेलबाढीसँग सङ्घर्ष गर्दै खेतबारीमा अन्नपातको सह वृद्धि र उत्पादन बढाउन, पशुधन बढाउन, अनिष्टकारी शक्तिबाट बच्न, पुर्खाको अनुभवलाई ज्ञानको रूपमा ग्रहण गर्दै उनीहरूबाट आशिर्वाद पाउन, व्यभिचार र यौनाचारबाट बच्न, मृत भइसकेका आफन्तको आत्मालाई जीवितसँग सम्बन्ध विच्छेद गर्न, मानव समुदायबीच एकापसमा सद्भाव जगाउँदै उन्नत जीवनको उत्सव मनाउनु आदि रहेका छन् ।

तङ्सिङ मुन्धुम महाआख्यानहरूमा प्रयोग भएका कतिपय मुन्धुमी शब्दहरू , ध्वनिहरू , वाक्य र उद्गारहरूलाई अझै पनि जस्ताको तस्तै अनुवाद गर्न सकिएको छैन । हाल सिमित अवस्थामा रहेका साम्बा, येवा, येमा र फेदाङ्माहरूले मुन्धुमी लयअनुसार फलाक्दै आए पनि ती मुन्धुमका सबै शब्द र ध्वनि र उद्गारको ‘मेटाफोर’ को नेपालीमा भावानुवाद हुन नसक्दा लिम्बू भाषा र सिरिजङ्गा लिपि बोल्न र लेख्न नजान्ने नयाँ पुस्ताले याक्थुङ मुन्धुमको कुञ्जी खुट्याउनुको सट्टा बेवास्ता गरिरहेका छन् । विश्वव्यापी भूमण्डलीकरणको प्रभावमा उपभोक्तावादी ‘पपुलर कल्चर’ तिर नयाँ पुस्ता आकर्षित हुँदा आदिवासी याक्थुङ लिम्बूका आदिम पुर्खाका रैथाने ज्ञानहरू तङ्सिङ महाआख्यानबाट पनि प्राप्त गर्न सकिन्छ भन्ने कुरा बिर्सँदै गएका छन् ।
मान्छे, प्रकृति, पर्यावरण र सह–अस्तित्वको नियमलाई याक्थुङ लिम्बूको तङ्सिङ मुन्धुमले कसरी वर्णन र व्याख्या गरेको छ भनेर थप अध्ययन, खोज अनुसन्धान, व्याख्या, पुनव्र्याख्या र पुनर्परिभाषित गर्न अहिलेको आवश्यकता ठानिएको छ । यसको अर्थ आदिम युगतिर फर्केर सावा येहाङहरूले जसरी जीवनयापन गरे त्यसै गर्नुपर्छ भन्ने होइन ।
संसारमा अनेकौँ जाति र समुदाय छन् तर तिनले भन्दा फरक ज्ञान र सीप, सामाजिक पारिवारिक जीवनशैली अपनाएर आफ्नो सभ्यता, संस्कृति, भाषा, संस्कारको निर्माण गरेकाले अहिले त्यो सबै थोक याक्थुङ लिम्बू समुदायका लागि जातीय पहिचानमात्र बनेको छैन । गर्भावस्थादेखि मृत्युपर्यन्तको पद्धति र दर्शन बनेकाले गर्व गर्न लायक गौरवको विषय पनि बनेको छ । किनकि अरु समुदाय वा जातिले तङ्सिङ तक्मा मुन्धुम महाआख्यान पाठका लागि अनुष्ठान गर्दैनन् ।
याक्थुङ लिम्बूले मात्र साम्बा, येवा, येमा र फेदाङमा, तुम्याहाङहरूको माध्यमबाट मुन्धुमी परम्पराअुनसार यस्ता अनुष्ठानलाई निरन्तरता दिँदै आएका छन् । वास्तवमा याक्थुङ लिम्बू उभिन सक्षम बनाउने जरा भनौँ या धरातल भनेकै यिनै महाआख्यान तङ्सिङ मुन्धुम हो ।
याक्थुङ लिम्बूको जीवन पद्धतिबाट तङ्सिङ तक्मा मुन्धुम निकालिदिने हो भने राज्यले नागरिकता र राष्ट्रिय परिचयपत्रमा चिनारी दिएको जातको संज्ञा लिम्बू त रहला तर उसले गर्व गर्ने सभ्यता र संस्कृतिका निर्माता पुर्खाहरू सावा येहाङका गाथाविहीन ‘मान्छे’ को परिचय मात्र हुनेछ ।
प्रतिक्रिया