काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा बुलेट बाइकको साइलेन्सर पड्काउँदै सडकमा उत्रिएका तेन्जिन लामाले आफू तिब्बतीयन भएको स्वीकारेका छन्।
‘तिब्बतीय ओरिजिनल ब्लड’ लेखिएको टीसर्ट लगाएर बुलेट बाइक पड्काउँदै हिँडेका उनले जिल्ला प्रहरी परिसरमा दिएको बयानमा आफू आधा तिब्बतीयन भएको स्वीकारेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले तेन्जिनको नेपाली नागरिकता, बाबुआमा र शिक्षाको प्रमाण पत्रसमेत नेपालकै भन्ने कुनै पुष्टि नभएको बताए ।
‘भदौ २३ गतेको आन्दोलनका क्रममा तेन्जिनले हतियार बोकेको पुष्टि भएन । उनले बोकेको हतियार (पेस्तोल) घातक नभएको पुष्टि भएको छ। उनले केएल टावरमा रहेको द टोय स्टोर इन्टरप्राइजेजमा किनेको खुलेको छ’, भट्टराईले भने, ‘उक्त हतियार जेन-जी आन्दोलनको करिब ६ महिनाअघि बानेश्वरको पुलमा म्युजिक भिडियो सुटिङका क्रममा बोकेको पाइएको छ।’
भट्टराईले तेन्जिन तिब्बतीयन रहेको कुरा करिब पुष्टि भएको बताए । ‘तेन्जिङले आफू आधा तिब्बतीयन भएको स्वीकारेका छन् । प्रहरीसँग पनि उनले स्वीकारेका छन्’, उनले भने, ‘जेन-जीको भ्रष्टाचारविरोधी अभियानमा गएर उत्तेजक रुपमा बोल्नु गल्ती भयो भनेका छन् ।’
उता सुरेन्द्र गुरुङ भन्ने हाकिमको भने कुनै अवैध गतिविधिमा संलग्नता नभेटिएको भट्टराईले बताए । ‘सुरेन्द्र पेशाले र्यापर रहेछन् । तेन्जिनसँग डेढ वर्ष अगाडि र्याप ब्याटलमै भेट भएको देखियो’, उनले भने, ‘तेन्जिनले म्युजिक भिडियो सुटिङका क्रममा नक्कली पेस्तोल प्रयोग गरेको स्वीकारेका छन् । सुरेन्द्रले उसबेला टीओबीको अर्थ ओरिजिनल ब्रदर्श राख्न सुझाएको पाइएको छ । तर तेन्जिले तिब्बतीयन ओरिजिनल ब्लड लेखेरै टीसर्ट लगाएका पाइयो ।’
तीनवटा कसुर
प्रहरीले तेन्जिनविरुद्ध विभिन्न तीनवटा कसुरमा मुद्दा अघि बढाएको भट्टराईले उल्लेख गरे । तेन्जिनले जेन-जी आन्दोलनका समयमा ‘मेरो देश फिर्ता दे’ भन्दै नाराबाजी गरेका थिए । आफूले उक्त नारा लगाउनु पनि गल्ती भएको तेन्जिनले स्वीकारेका छन् ।
पहिलो मुद्दा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार गर्न नहुने कसुरमा चलाइएको थियो । जसमा प्रशासनले तेन्जिनसँग ७५००० धरौटी मागेको छ ।
अर्को मुद्दा लिखतसम्बन्धी पनि चलाइएको छ। त्यसैगरी नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको भट्टराईले बताए । उनका अनुसार तेन्जिनबाट लागुऔषध गाँजा पनि बरामद भएको छ।
प्रहरीले अहिलेसम्म टीओबीसँग सम्बन्धित १३ वटा बुलेट मोटरसाइकल र एउटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘टीओबीका सबै सदस्य हामीसँग सम्पर्कमा छन्’, उनले भने ।
कोही नाता भेटिएनन्
प्रहरीका अनुसार तेन्जिनको पालन पोषण पेमा डोल्माले गरेको भेटिएको छ। ‘अहिलेलाई तेन्जिनका सबै मान्छे, आफन्त भन्नु पेमा डोल्मा रहेको खुलेको छ। उनले नै ब्यहोरेको पाइएको छ’, उनले भने, ‘बाबुआमाको पहिचान कहीँ कतैबाट खुल्न सकेको छैन । हजुरबाले डेढ वर्षदेखि पालेको भनिएको छ । तर कोभिड कालमा हजुरबाको निधन भएको भनिएको छ ।’
तेन्जिनले लिएको नागरिकता नक्कली भएको पुष्टि यसअघि नै भएको छ। अब उनका बुवाआमा र शिक्षा लिएको विद्यालय पनि नक्कली पाइएको छ। उनले नेपालका कुनै विद्यालयमा अध्ययन नगरी नक्कली शैक्षिक प्रमाण लिएको पाइएको भट्टराईले बताएका छन् ।
उनले काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएको जन्मदर्ता र नागरिकता पनि नक्कली ठहर भएको छ। त्यसमा जन्मदर्ता वि.सं. २०६३ चैत १० गते गरेको पाइएको छ। नागरिकता भने २०७९ असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएको भनिएको छ । तर नागरिकता नक्कली रहेको खुलिसकेको छ।
यसअघि नै वडा कार्यालयले तेन्जिनसम्बन्धी कुनै पनि विवरण उपलब्ध नभएको जवाफ दिइसकेको छ। तेन्जिन लागुऔषधको मुद्दामा पनि पक्राउ परेकाले ९० दिनसम्म हिरासतमा रहन सक्छन् । उनलाई प्रहरीले असोज २६ गते पक्राउ गरेर अभद्र व्यवहारमा म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया