शीतलहरबाट दलित मुसहर परिवार समस्यामा « Khabarhub

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

सर्लाही – चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन्। अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन।

बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ। उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन्। अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ। यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन्।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन्। चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरेकी छन्। खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् त्यसैमा उहाँको १० दिनको शिशु उनीसँगै सुतेका छन्।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताइन।

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन। सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाएकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको छ। चिसोले रातभर शिशु रोएर नसुत्ने उनले दुखेसो पोखेकी छन्। चिसोका कारण उनी पनि बिरामी परिसकेकी छन्।

पुनिताका श्रीमान पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन्। श्रीमानले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताइन्। कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भनेको उनले सुनाइन्।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसेकी छन्। ‘भुइमा राख्यो कि चिसोले बच्चा रोही हाल्छ,’ उनले भनिन्, ‘छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन।’ मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको गुनासो उनको छ।

बिनाका श्रीमान पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गर्न पुगेका छन्। सिजन सकिएपछि घर आउने उनको तयारी रहेको विनाले बताइन।

बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ। न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ। अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन्। यो बस्तीका छोरा मान्छेहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेको बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताइन्।

विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्यको भनाइ छ। वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यस बस्तीको नियति रहेको उनी सुनाउँछिन्।

स्थानीय पालिकाले विपन्नलाई राहत दिँदा सम्पन्नले पनि माग्ने भन्दै नदिने गरेका लक्षुमनिया देवीको भनाइ छ। गाउँ पालिकामा माग्न जाँदा भएकाले पनि माग्छन्। तिमीलाई कसरी दिनु भनेर त्यसै फर्काउने गरेको उनीहरुको गुनासो छ।

यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए। मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : ०६ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका