मिति टुंगो नहुँदै कांग्रेस नेताहरूलाई महाधिवेशनको हतारो | Khabarhub Khabarhub

मिति टुंगो नहुँदै कांग्रेस नेताहरूलाई महाधिवेशनको हतारो

उत्तराधिकारी खोज्दै बूढानीलकण्ठ, शेखरसहितका नेता देश दौडाहामा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू महाधिवेशनको हतारोमा देखिएका छन् । महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण नहुँदै नेताहरू १५औँ महाधिवेशनका लागि विभिन्न पदको आकांक्षा राख्दै आन्तरिक तयारीमा जुटेका छन् । 

आगामी महाधिवेशनका लागि कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका बनाएको छ । क्रियाशील सदस्यता नवीकरण पूरा भएपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी कांग्रेसको छ ।

चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना

आन्तरिक तयारीस्वरूप महिनौँ अगाडिदेखि नै स–सानो झुण्डमा जिल्ला दौडाहामा निस्किने र आन्तरिक भेटघाटका कार्यक्रम हुँदै आए पनि ‘प्रणय दिवस’ (भ्यालेन्टाइन डे)बाट कांग्रेसका नेताहरूलाई देखिने गरी महाधिवेशनको चटारोले छाएको छ ।  

भ्यालेन्टाइन डे अर्थात् फागुन २ गते संस्थापन पक्षीय ११ भाइ नेताहरूले बूढानीलकण्ठ पुगेर सभापति शेरबहादुर देउवालाई संस्थापन समूहबाट उम्मेदवारबारे चासो राखेपछि कांग्रेसमा महाधिवेशनको सिरेटो चलेको हो । 

गत महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका, तत्कालीन समयका आकांक्षी नेताहरूदेखि त्यसअघिदेखि नै सभापति देउवासँग रहेर राजनीति गर्दै आएका ११ भाइले भ्यालेन्टाइन डे को छेको पारेर समूहका तर्फबाट भावी सभापतिको खोजी गरेका थिए ।

जसको नेतृत्व पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए । उनी फागुन २ गते बिहान १४औँमा सभापतिको उम्मेदवारी दिएका पूर्वउपसभापति विलेन्द्र निधि, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र एनपी साउदका साथ बूढानीलकण्ठ पुगेका थिए ।

कांग्रेसमा नयाँ नेतृत्वको खोजी, देउवाले कसलाई अघि सार्लान् ?

यसअघि नै संस्थापन इतर समूहबाट १४औँमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भने आन्तरिक तयारी थालिसकेका थिए । आशन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेबारे नेता कोइरालाले सार्वजनिक रूपमै अभिव्यक्ति दिइसकेका छन् । 

महामन्त्री थापाले भने औपचारिक रूपमा घोषणा गरिसकेका छैनन् । तर, थापा सभापतिको दौडमा लागिसकेका उनका गतिविधि र उनीनिकट नेता–कार्यकर्ताका अभिव्यिक्तिले पुष्टि गर्छ । इतर समूहका नेताद्वय कोइराला र थापाले १५औँ महाधिवेशनमा सभापतिका लागि तयारी बढाएसँगै संस्थापन समूहमा पनि भावी सभापतिको खोजी सुरू भएको छ । 

संस्थापन समूहका ११ भाइ नेताहरूले सभापति देउवासँग आगामी महाधिवेशनका लागि उम्मेदवारको टुंगो लगाउन आग्रह गरेयता महाधविशेनको तयारी स्वरूप तीनवटा गुटगत भेलाहरू भइसकेका छन् ।  

संस्थापन पक्षीय नेताहरूले बूढानीलकण्ठ पुगेर भावी सभापतिको उम्मेदवार खोजी गरेको आठ दिनपछि इतर समूहको नेतृत्व गर्दै आएका डा. कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । 

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणासहित जिल्ला दौडाहामा रहेका नेता कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा फागुन १० गते भेला गरेका हुन् । 

भेलामा गत महाधिवेशनमा कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल, सह-महामन्त्री जीवन परियार, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीसँगै केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम, सरिता प्रसाईंलगायत नेताहरू सहभागी थिए ।

त्यही दिन संस्थापन पक्षीय नेता सिटौलाले पनि आफूनिकट नेताहरूलाई चण्डोलस्थित निवासमा बोलाएर आगामी महाधिवेशनबारे छलफल गरेका थिए । सिटौलानिकट नेताहरूको भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको थियो । 

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए ।

सिटौला समूहको भेला : संस्थापन पक्षका गतिविधि अघि बढाउने

यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए ।

१५औँ महाधिवेशनको तयारीमा केन्द्रित रहेर कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष रञ्जि कर्णले पनि यसबीचमा युवा नेताहरूको भेला गरिसकेका छन् । 

संविधानसभा सदस्यसमेत रहेका कर्णले फागुन ९ गते भक्तपुरको नगरकोटमा ‘नेविसंघ पूर्व केन्द्रीय समिति (२०६८÷२०७३) को पुनर्मिलन’ नाम दिएर भेला आयोजना गरेका हुन् । 

दुई दिनसम्म चलेको भेलामा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार खत्री, सुवास पोख्रेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, कांग्रेस कैलालीका सचिव केशव मिश्र लगायत उपस्थित थिए ।

१५औँ महाधिवेशन कहिले ?

कांग्रेसको महाधिवेशन हरेक चार वर्षमा हुनुपर्ने वैधानिक व्यवस्था छ । तर, विधानले नै सभापतिलाई एक वर्ष थप्ने अधिकार प्रत्यायोजन गरेको छ ।

पार्टी विधानको धारा ४३ मा पदावधिबारे भनिएको छ, ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्म अवधि बढाउन सक्नेछ ।’

कांग्रेसको विधानले निर्धारित समयअगावै पनि विशेष महाधिवशेन आह्वान गर्न सक्ने प्रावधान पनि राखेको छ । विधानको धारा १७ अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाएर लिखित अनुरोध गरेको अवस्थामा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।

तर, विशेष महाधिवेशनका लागि इतर समूहसँग केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत केन्द्रीय सदस्यको संख्या पुग्दैन । कांग्रेसको संस्थापन समूह सभापतिलाई विधानको अधिकारअनुसार समय थपेर मात्रै १५ औँ महाधिवेशन गर्ने पक्षमा देखिएको छ । 

यसबारे सभापति देउवाले बूढानीलकण्ठ बैठकमा आशय नै व्यक्त गरेको नेताहरूको दाबी छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि ०८२ मा १५ औँ महाधिवेशन सम्भव नभएको अभिव्यक्ति सार्वजनिक रूपमै दिइसकेका छन् । 

कांग्रेस सभापति देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आगामी मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्छ । नियमित अवधिमै महाधिवेशन गर्न उनी तयार भए अबको १० औँ महिनाको अन्त्यतिर कांग्रेसले नयाँ नेतृत्व पाउने छ ।

तथापि, ७५ वर्ष लामो राजनीतिक विरासत बोकेको कांग्रेसले निर्धारित समयमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व आएको घटना भने विरलै छ । पञ्चायती शासन ढालेर मुलुकमा प्रजातन्त्र पुनर्बहाली गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले त्यसयता निर्धारित समयमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको देखिँदैन ।

पार्टीको १४ औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाको चार वर्षे कार्यकाल पूरा हुन १० महिना बाँकी छ । २०७८ मंसिर २४ गते कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा १४ औँ महाधिवेशन उद्घाटन गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ०३ बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल