रञ्जितालाई रेशमको चेतावनी : लिची बगानको घुस प्रकरणमा पार्टीलाई जवाफ दिनुस्, भाग्न पाइँदैन « Khabarhub

रञ्जितालाई रेशमको चेतावनी : लिची बगानको घुस प्रकरणमा पार्टीलाई जवाफ दिनुस्, भाग्न पाइँदैन

केन्द्रीय समिति छलेर निरंकुश नबन्‍न आग्रह


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठमाथि लागेको घुस डिल आरोपबारे जवाफ मागेका छन् ।

पोखरास्थित लिची बगानको जग्गा व्यक्तिका नाममा लैजान बिचौलियासँग घुस डिल गरेको अडियो भाइरल भइरहेका बेला रेशमले रञ्जितालाई केन्द्रीय समिति बैठकमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत १५ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै चौधरीले अध्यक्ष श्रेष्ठले घुस प्रकरणमा जवाफ दिनुपर्ने बताएका हुन् ।

पार्टीभित्र उत्पन्न अन्योल र असमझदारी हटाउन बैठकमै रञ्जिताले स्पष्ट जवाफ दिनुपर्ने पनि उनको तर्क छ ।

रेशमले कडा शैलीमा प्रस्तुत हुँदै रञ्जिता पन्छिन नपाउने बताएका हुन् । ‘मैले बोलाएको बैठक होइन भनेर अध्यक्ष पन्छिन सक्नुहुन्न। बैठक किन बोलाइयो भनेर प्रश्न गर्न सकिन्छ, तर त्यसबाट भाग्न मिल्दैन’, उनले भने, ‘तपाईं अध्यक्ष भएपछि हरेक सदस्य तपाईंको परिवार हो। उनीहरूसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो।’

उनले बोलाइएको बैठक वैधानिक नभएको भन्दै अध्यक्ष श्रेष्ठ भाग्ने प्रयास गरिरहेको पनि उल्लेख गरे । ‘अध्यक्षको हैसियतमा तपाईंको जिम्मेवारी हो— पार्टीभित्र उत्पन्न संकटको निकास खोज्नु,’, उनले भनेका छन् ।

उनले कास्कीको पोखरास्थित लिची बगैँचाको सरकारी जमिन व्यक्तिको नाममा हत्याउने प्रयोजनका लागि घुस लेनदेनको डिलमा मुछिएको भन्दै रञ्जितासँग जवाफ मागेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि अध्यक्ष श्रेष्ठ बुधबार भ्वाइस टेस्टका लागि आयोगमा हाजिर भएको सन्दर्भमा पनि उनले पार्टीमा जवाफ दिनुपर्ने बताए।

यही प्रकरणबारेमा छलफलका लागि भन्दै चौधरीले बैठक आह्वानको प्रस्ताव गरेका थिए। तर अध्यक्ष श्रेष्ठले उक्त बैठकलाई मान्यता नदिएको आरोप लागिरहेको छ। त्यहीकारण उनले रञ्जितालाई बैठकबाट भागेर नहिँड्न भनेका हुन् ।

उनले अहिले नाउमा देखिएको अन्योल र संकटको अवस्था रञ्जिताकै कारण आएको बताएका छन् । ‘आज उत्पन्न परिस्थितिको मूल कारण नै तपाईं हो,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘तपाईंका कारण नै पार्टीमा संकट आएको हो। हामीले तपाईंलाई सम्पर्क गर्ने प्रयास गरेका छौं। अब तपाईंले केन्द्रीय समितिको बैठकमा आएर स्पष्ट जवाफ दिनुपर्छ।’

रेशमले सत्य कुरा केन्द्रीय सदस्यमा राखेर मात्रै यसबारे पार्टीले ठोस धारणा बनाउन सक्ने बताए । ‘सत्य कुरा केन्द्रीय समितिमा राखेपछि मात्रै पार्टीले आधिकारिक धारणा दिन सक्छ’, उनले भने, ‘एउटा मुखले मात्रै बोलेर हुँदैन। लाखौँ मुखले पक्ष-विपक्षमा बहस गरे पनि आधिकारिक कुरा त केन्द्रीय समिति बैठकमै हुन्छ ।’

रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थमा बन्धक बनाउन नपाइने पनि बताएका छन् । ‘पार्टीलाई निरंकुश बनाउन पाइँदैन। यसको समाधान तपाईं (रञ्जिता) कै हातमा छ,’ उनले भनेका छन् ।

रेशमले आफू पार्टीमा भूमिकाविहीन संरक्षक भएको टिप्पणी गरेका छन् । ‘पार्टीमा मेरो अवस्था पनि अस्पष्ट रहेको छ । मलाई संरक्षकमा ल्याएर थन्क्याइएको छ’, उनले भने, ‘होइन भनुँ भने म संरक्षक नै हुँ, हो भनौँ भने कुनै भूमिका छैन, बेकामे भएको छु ।’

पार्टीका अन्य नेता र कार्यकर्तालाई पनि सामाजिक सञ्जालमा व्यक्तिगत भावना नपोख्न पनि उनले सुझाव दिए। ‘केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा बसेर सामाजिक सञ्जालमा छताछुल्ल लेख्नुभएको छ भने त्यो तपाईंको ओझ घटाउने काम हो,’ उनले भनेका छन् ।

उनले संगठन निर्माणको प्रयासमा नियमित लागिरहेको बताए । ‘संगठन निर्माणमा म खटेको छु, अझै खटिरहन्छु,’ चौधरीले भने, ‘तर आज विरुवा रोपियो, भोलि ठुटो पारिन्छ भनेजस्तो भयो। यसको उपलब्धि देखिँदैन ।’

रेशमको यो सन्देशले नाउपा नेतृत्वभित्रको गहिरिँदो संकट छताछुल्ल बनाएको छ । अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको असमझदारीले पार्टीलाई संकटमा लगेको भन्दै नेता-कार्यकर्ताले चिन्ता जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ३६ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)