केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी | Khabarhub Khabarhub

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

सञ्चारमन्त्री खरेलले भने- राज्यका निकायले छानबिन थालिसके


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको ठूलो संख्याको मानवीय हताहतीलाई लिएर अन्तरिम सरकारले केही दलका नेताहरूलाई छानबिनमा तान्ने तयारी थालेको छ।

खासगरी भदौ २३ गते पहिलो दिनको जेन-जी आन्दोलन दमन गर्न निर्देशन दिएको आरोपमा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई छानबिनमा तान्ने तयारी गरेको हो ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका निकायले काम थालिसकेको बताए ।

सञ्चारमन्त्री खरेललाई पत्रकारले सोधेका थिए, ‘सरकारले केही नेताहरूको राहदानी रोक्का गर्ने गरी छानबिन प्रक्रिया अघि बढाएको समाचार आइरहेको छ, के यो सत्य हो ?’

जवाफमा उनले भने, ‘तपाईंहरूले सुनेको कुरा सत्यनजिक छ । यसमा राज्यका निकायले आफ्नो काम गरिरहेका छन् । प्रधानमन्त्रीले पनि बिहीबार राष्ट्रका नाममा सम्बोधनका क्रममा दोषी कसैलाई उम्किन नदिने बताउनु भएको छ ।’

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोगसमेत गठन भइसकेको अवस्थामा अनुसन्धान र कारबाहीको दायरामा को-को तानिन्छन्, अहिले नै केही भन्न नसकिने खरेलले बताए ।

तर, अन्तरिम सरकारले कार्की नेतृत्वको आयोगसँग यसबारेमा प्रारम्भिक छलफल गरिसकेको छ। अब आयोगका सदस्यहरूको शथपपछि औपचारिक रुपमा कारबाही प्रक्रिया अघि बढाइने भएको छ।

बुधबार मात्रै बालुवाटार पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि कारबाही अघि नबाढएको गुनासो गरेका थिए । उनले कम्तीमा यी दुईजनालाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका स्रोतले जनाएको छ।

उता यो सरकार निर्माणमा भूमिका खेलेका भनिएका बालेनकै साथी सुदन गुरुङले समेत जेन-जी आन्दोलनमा भएको दमनलाई लिएर तत्कालीन सरकारका प्रधानमन्त्री ओलीसहितलाई कानुनी दायरामा ल्याउनै पर्ने दबाब प्रम कार्कीलाई दिइरहेका छन् ।

यस्तोमा जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरूलाई शपथ गराइसकेपछि सरकारले ओली र लेखकसहितका नेताहरूको राहदानी नै रोक्का गरेर छानबिन अघि बढाउने तयारी गरेको छ।

लेखकले १९ जना मारिएको दिन भदौ २३ गते नै राजीनामा दिएका थिए । उता ओ‌लीले बालुवाटारबाट सेनाको उद्धार हेलिकप्टर चढ्नुअघि भदौ २४ गते राजीनामा दिएर हिँडेका थिए ।

उनले असोज २ मा गुन्डु झरेपछि जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए । संविधान दिवसका दिन सन्देश जारी गर्दै सरकारले त्यसरी गोली हान्न निर्देशन नदिएको बताउँदै घुसपैठको आशंका गरेका थिए ।

उता बूढानीलकण्ठस्थित निवासमा ठूलो मात्रामा नगद रकम जलेको भेटिएपछि सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अनुसन्धानमा तान्ने निश्चित भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पनि नगद रकम जलेको पाइएपछि सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुचुल्का उठाएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पनि दुवै सरकारी कार्यालयका अधिकारीहरू पुगेर मुचुल्का उठाइसकेका छन् ।

कांग्रेसमै प्रश्न

जेन-जीको आन्दोलनपछि उथलपुथल भएको राजनीतिक परिस्थितिबीच जिल्ला सभापतिहरूसहित भएको भर्चुअल बैठकमा दुईजना जिल्ला सभापतिहरूले देउवा र खड्काको घरमा ठूलो परिमाणमा नोट भेटिएकोबारेमा जवाफ मागेका थि‌ए ।

जिल्ला सभापतिहरूसँग कांग्रेस नेतृत्वले राखेको उक्त भर्चुअल बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले देउवा र तत्कालीन ऊर्जामन्त्रीको घरमा ठूलो मात्रामा नोट भेट्टाएकोबारे जवाफमा मागेका थिए ।

तर गत असोज २ गते देउवाको सचिवालयले बूढानीलकण्ठस्थित निवासमा पैसाको सुरूङ भेटिएको भनी सामाजिक सञ्जालमा गरिएको प्रचारलाई झूटो भन्दै खण्डन गरेको थियो । देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति नै निकालेर उक्त प्रस्टीकरण दिएका थिए ।

देउवा निवासमा ‘अत्यधिक पैसा भेटिएको’, ‘जलेका नोटका अंशहरू निवास परिसरमा जताततै फेला परेको’ र ‘पैसाको सुरूङ नै रहेको’ जस्ता कपोलकल्पित समाचार सम्प्रेषण भइरहेको भन्दै सचिवालयले भनेको थियो, ‘सामाजिक सञ्जालमा देखाइएका दृश्य कपोलकल्पित, अतिरञ्जित र दूषित मनसायले पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन्।’

देउवाको सचिवालय यसो भने पनि नोट भेटिएकोबारेमा पार्टी बैठकमै कुरा उठेको कुरा सोमबार विराटनगरस्थित कोइराला निवासमा बोल्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले खुलाएका थिए।

अनुसन्धान

महामन्त्री शर्माले भने जस्तै सम्पत्ति शुद्धिकरण विभागले बूढानीलकण्ठस्थित देउवा निवास र कांग्रेस नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पुगेर अनुसन्धानसमेत थालेको थियो ।

स्रोतका अनुसार ललितपुरको हरिहर भवनस्थित विभागका प्रहरी उपरीक्षक नवरत्न पौडेलसहितको टोलीले आइतबार दुवैजना नेताहरूको घरमा पुगेर अनुसन्धान गरेको थियो ।

उक्त टोलीले दुवैजना नेताहरूको घरमा मुचुल्का उठाएर फर्किएको थियो । गत भदौ २४ गते देउवाको घरमा आगजनी गर्ने क्रममा सुरुङमा नोटको थुप्रो रहेको भन्दै फोटो र भिडियो भाइरल भएको थियो ।

उता खड्काको घरमा पनि अमेरिकी डलर उडाएको भिडियो भाइरल भएको थियो । यी दुवै घरमा रहेका नोटबारे सम्पत्ति शुद्धिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पनि अनुसन्धानमा जुटेका छन् ।

जेन-जी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएर ध्वस्त बनाएका थिए । देउवाको निवासमा अमेरिकी डलर र नेपाली ५ सय र हजारका नोटका बिटा जलेका अवस्थामा भेटिएका थिए । पैसा राख्ने सुरुङ भेटिएको दाबी गरिए पनि यसलाई देउवाको सचिवालयले खण्डन गरिसकेको छ।

पूर्वऊर्जामन्त्री खड्काको घरमा रहेको भनिएको अमेरिकी डलर उडाएको भिडियो पनि भदौ २४ गते भाइरल भएको थियो । अहिले सरकारका दुवै संयन्त्रले यी दुई नेताको जलेको घरभित्र पुगेर मुचुल्का उठाएर लगेका छन् । घर जलाइएको डेढ सातापछि सरकारी संयन्त्र सक्रिय भएर अनुसन्धान थालेपछि सरकारको कदम कडा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : १० बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।