काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई काउन्टर जवाफ फर्काएका छन् ।
महामन्त्री थापाले सोमबार अब कांग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा होमिने बताएका थिए । कांग्रेसले आगामी चुनावमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षरको टिकट बाँड्न लागेपछि गगनले आक्रोश पोखेका थिए ।
गगनको उक्त अभिव्यक्तिलाई लिएर कल्णाले अब विशेष महाधिवेशनमा अल्मलिन नसकिने बताएका छन् । गगनले सभापति देउवाको हस्ताक्षर लिएर कांग्रेस चुनावमा नजाने बताएपछि कल्याण काउन्टरमा उत्रिएका हुन् ।
विशेष महाधिवेशनबाट नयाँ सभापति बनाएर उनकै हस्ताक्षरसहित कांग्रेसले आयोगमा पठाएको निर्णय सच्च्याउने गगनको मतप्रति कल्याणले असहमति जनाउँदै धारणा सार्वजनिक गरेका हुन् । उनले वर्तमान सभापति देउवाकै हस्ताक्षरमा कांग्रेस चुनावमा जाने दाबी गरेका छन् ।
गुरुङले कुरा स्पष्ट रहेको भन्दै विशेष महाधिवेशन फागुन २१ को चुनावअगाडि नहुने बताएका छन् ।
के भने कल्याणले ?
साथीहरूले फोन गरेर सोध्नु हुन्छ : के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?
मैले भने : बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।
एक, केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष महाधिवेशन र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।
दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिए पनि यसको नियमावली र कार्यविधि बनिसकेको छैन ।
तीन, हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण भइसकेको छैन ।
चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहीँकतै लेखिएको छैन ।
पाँच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।
विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई उहाँको राजीनामा स्वीकृत भइसकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
उहाँहरूले फेरि सोध्नु भयो – अब के हुन्छ ?
मैले फेरि भनेँ – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भइसकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन ।
यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ ।
पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ ।
पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।
यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ ।
यसर्थ, ढुक्क हुनुहोस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।
पार्टीलाई अझै बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नका लागि विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन । कुरो सुस्पष्ट छ ।
आफैँ विचार गर्नु होला । भ्रममा नपर्नु होला । किमधिकम् । जय नेपाल !













प्रतिक्रिया