एमाले महासचिवमा हुन सक्छ प्रदीप र योगेशबीच प्रतिस्पर्धा, पार्टी संरचना फेरिँदा नेता व्यवस्थापनमा चुनौती « Khabarhub

एमाले महासचिवमा हुन सक्छ प्रदीप र योगेशबीच प्रतिस्पर्धा, पार्टी संरचना फेरिँदा नेता व्यवस्थापनमा चुनौती



काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा आफ्नो पद सुरक्षित राख्न नेताहरूलाई भ्याइ-नभ्याइ छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएपछि अब तलका पदमा पनि दौडधूप सुरू भएको छ। नेताहरूले पद सुरक्षित पार्न आफूलाई सक्रिय बनाएका छन् ।

नेताहरूले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छनोट पछाडि मनस्थिति बदल्ने आँकलनसमेत गरिएको छ । महाधिवेशन प्रतिनिधिका लागि अहिले ओली र पोखरेल गुटबीच हानथापको अवस्था छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले मंगलबार अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरिसकेका छन् ।

यसको जानकारी उनले गत बिहीबारको सचिवालय बैठकमा गराएका थिए । सचिवालयको बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले ईश्वर पोखरेलबाहेक अरूले उम्मेदवारी घोषणा नगरेको खबरहबलाई जानकारी गराए ।

पोखरेलको त्यही जानकारी अनुसार उनले मंगलबार एक भिडियो सन्देश जारी गर्दै आफूले अध्यक्ष पदमा उठ्ने निर्णय लिएको बताएका हुन् ।

उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

पोखरेलले भण्डारीलाई सदस्यताबाट बञ्चित गर्नु पार्टीका लागि राजनीतिक रूपमा हानिकारक भएको पनि बताएका छन् ।

पोखरेलले पार्टीलाई पुनःएकताबद्ध पार्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउने र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्ने दिशामा आफूलाई केन्द्रित गरेका छन् ।

उनले महाधिवेशनका लागि विस्तृत राजनीतिक दस्तावेज चाँडै सार्वजनिक गर्ने पनि बताएका छन् ।

महासचिवमा योगेश र प्रदीप ?

अध्यक्षपछि एमालेको शक्तिशाली महासचिव पदमा उपमहासचिव प्रदीप ज्ञवाली र सचिव योगेश भट्टराईबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । एमालेको महासचिवमा अन्य नेता पनि आकांक्षी छन् । पोखरेल र ओली प्यानल मिलाउँदा यी दुई नेताहरूबीच प्रतिस्पर्धा हुने बलियो सम्भावना छ । महासचिवका लागि पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्टसहितका नेता पनि आकांक्षी छन् ।

उपमहासचिव ज्ञवाली ओली समूहका नेता हुन् । सचिव भट्टराई पोखरेल समूहका नेता हुन् । ओलीलाई निरन्तर साथ दिएका ज्ञवालीलाई यो पटक महासचिवमा प्रस्ताव गर्ने तयारी भएको छ। विभिन्न महत्वपूर्ण राजनीतिक निर्णयमा ओलीका भरपर्दा सारथि ज्ञवालीलाई महासचिव बनाएर आफू अध्यक्षमा कायमै रहने दाउ ‌ओलीको छ ।

महासचिवका लागि ओली टीमबाटै गुरुङसँगै विष्णु रिमाल पनि आकांक्षी हुन् ।  तर, उनीहरूलाई उपाध्यक्ष अथवा उपमहासचिवमै राखेर ज्ञवालीलाई ओलीले महासचिव बनाउने तयारी भएको छ।

आइतबार खबरहबसँगको कुराकानीमा गुरुङले आफू सके महासचिव नभए उपाध्यक्ष बन्ने दाबी गरेका थिए ।

 ‘दुईवटा प्यानल भयो भने म ओली कमरेडलाई साथ दिन्छु । उहाँको टिमबाट सकेसम्म महासचिव नभए उपाध्यक्षमा आउँछु’, गुरुङले खबरहबलाई भने, ‘मैले इच्छा चाहिँ महासचिवमा राखेको हो । तर उपाध्यक्ष बन्नुपर्छ कि भन्ने पनि लाग्दै छ। साथीहरूले उपाध्यक्ष नै बने हुन्थ्यो भन्ने चाहना राख्नुभएको छ ।’

रिमाल पनि ओलीका विश्वासिला पात्र हुन् । ओली प्रधानमन्त्री हुँदा उनी मुख्य राजनीति सल्लाहकार थिए । त्यसबेला उनले ओलीलाई असफल बनाउन भूमिका खेलेको आरोप पनि लागेको थियो ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला ओलीलाई सही सल्लाह नदिएको आरोप उनीमाथि छ । रिमालले उचित राजनीतिक निर्णयका लागि परामर्श नदिएका कारण ओलीले दुईतिहाइको सत्ता छाडेर हेलिकप्टरमा भाग्नुपरेको पनि टिप्पणी हुने गरेको छ।

‘यो पटकको महाधिवेशनबाट प्रदीपजी महासचिवमा जाने सम्भावना बलियो छ। पृथ्वी गुरुङ उपाध्यक्ष हुनुहुन्छ, विष्णुजीलाई  पनि उपाध्यक्ष अथवा कुनै पदमा अटाउने सम्भावना छ’, ओलीनिकट एक नेत भन्छन् ।  

ओली निकट ती नेताले प्रदीप ज्ञवाली अहिलेका लागि महासचिवको भूमिकामा फिट हुने बताएका छन् । उनका अनुसार विष्णु रिमाल उपमहासचिवमै दोहोरिने सम्भावना छ।

महासचिवमा उम्मेदवारी दिनेबारे ज्ञवालीले आोवश्यकताअनुसार निर्णय हुने बताए । ‘देशको र पार्टीको आवश्यकताअनुसार अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ। स्वाभाविक प्रक्रियाले मेरो त्यसमा दाबी भन्दा पनि साथीहरूले माया गर्नुहुन्छ। तपाईं अगाडि बढ्नुपर्छ भनिरहनुभएको छ’, उनले भने ।  

यता पोखरेल पक्षबाट पनि सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट महासचिवको आकाङ्क्षी छन् । तर अन्तिममा भट्टराईलाई विष्टले सहयोग गरेर उपमहासचिवमा जाने योजनामा छन् । ‘महासचिवमा प्रतिस्पर्धा गर्ने अवस्था आए हाम्रोबाट योगेश कमरेड नै हो । गोकर्ण कमरेडले पनि दाबी गर्नुभएको छ, तर उहाँ उपमहासचिव भएर सहयोग गर्नुहुन्छ’, पोखरेल पक्षका ती नेताले भने ।

वर्तमान सचिव रघुवीर महासेठलाई उपमहासचिव बनाउने तयारी वरिष्ठ उपाध्यक्ष पोखरेलले गरेका छन्।

यसबारे योगेशले साथीहरूसँग छलफल गरेर निर्णय लिने बताएका छन् । महासचिवमा आकांक्षी हुनुहुन्छ रे हो ? भन्ने प्रश्नमा भने, ‘जटिल परिस्थितिलाई सामना गर्न लाग्नुपर्ने आवश्यक छ। यसका लागि हामी छलफल गरिरहेका छौँ ।’

दसौँ महाधिवेशनबाट सर्वसम्मत उपमहासचिव बनेका ज्ञवालीलाई वैचारिक नेताका मानिन्छ। तर ‘ओलीवाद’ बोकेर हिँडेको भन्दै उनको आलोचना हुने गरेको छ । उनी २०७९ को निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीसँग १९२ मतले पराजित भएका थिए । त्यसपछि पार्टी काममा सक्रिय छन् ।

२०७४ मा नेकपा विभाजनपछि केपी ओलीविरुद्ध लागेका भट्टराई निरन्तर किनारा पर्दै आएका छन् । नेकपा विघटन हुँदा माधव नेपाललाई साथ दिएका भट्टराईले पार्टी फुटाएर जाँदा आफूलाई एमालेमा समाहित गरे ।

पूर्वपर्यटनमन्त्री उनलाई माधव नेपालतिर लागेपछि ओलीले ‘बैगुनी केटो’ भनेर टिप्पणी थिए। एमालेको सचिव भएपछि ताप्लेजुङबाट २०७९ को निर्वाचन जितेका भट्टराई पार्टीमा लोकप्रिय र चलायनमान नेताका रूपमा चिनिन्छन् ।

ओलीप्रति आलोचनात्मक दृष्टिकोण राख्ने उनको नाम पटक पटक मन्त्रीको सूचीमा परेर अन्तिममा हट्ने गरेको छ। प्रतिनिधिसभामा खासगरी माओवादीप्रति आक्रमक मत राख्ने उनलाई यो महाधिवेशनमा युवाहरूको बलियो साथ मिल्न सक्छ ।

महाधिवेशनमा प्रतिस्पर्धा भए योगेशलाई भन्दा प्रदीपलाई केही सजिलो हुने धेरैले आँकलन गरेका छन् । ओलीले आफ्नो सहजतका लागि महासचिवमा ज्ञवाली जिताउन जोड गर्न सक्छन् । तर युवाहरूमा परिचित छविका भट्टराई पनि बलियो प८क भएका नेता हुन् ।

उता वर्तमान महासचिव शंकर पोखेललाई अध्यक्ष ओलीले आफूपछि दोस्रो वरीयताको उपाध्यक्ष बनाउने तयारी गरेका छन् । दोस्रो विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद आगामी महाधिवेशनबाट हटाउने निर्णय गरिसकेकाले शंकरलाई महासचिवबाट सिनियर उपाध्यक्षमा लैजाने तयारी ओलीले गरेका हुन् ।

नेता व्यवस्थापनको चुनौती

एमालेको विधान अधिवेशनबाट पारित नयाँ विधानअनुसार अहिले धेरैको पद जाने अवस्था छ। सचिवालय र केन्द्रीय कमिटीको सङ्ख्या घटाएपछि नेताहरूलाई आफ्नो पद सुरक्षित गर्न हम्मेहम्मे परेको छ । भदौ २० मा पास भएको विधान अधिवेशनले एमालेका धेरै नेताहरूको पद गुमेको छ। विधानबाट वरिष्ठ उपाध्यक्ष पद हटेको छ।  यस्तै ३५१ केन्द्रीय कमिटीमा अब नयाँ विधानबाट २५१ मात्र केन्द्रीय कमिटी बन्नेछ । 

एमालेमा अहिले १९ जना पदाधिकारी छन् । अब बन्ने नयाँ विधानबाट १५ सदस्य पदाधिकारी हुने व्यवस्था गरिएको छ। एघारौँ महाधिवेशनमा ६ उपाध्यक्षको सङ्ख्या घटाएर ३ मा पुर्‍याइएको छ। यसो हुँदा आगामी  महाधिवेशनबाट निर्वाचित भएर आउने एमाले सचिवालयमा अध्यक्ष १ ,उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सहित १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ। पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको छ ।

‘सानो आकारको सचिवालय हुने भएपछि नेताहरू मिलाएर सहमत गराउनुपर्ने चुनौती छ’, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन, ‘सर्वसम्मत चुनिने सम्भावना कम देख्दैछु । किनकी लोकतान्त्रिक पद्धतिलाई अङ्गिकार गर्नुपर्ने छ ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ३८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर