बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ? « Khabarhub

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?



काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी त्यागेको घोषणा गरे । उनले त्यतिबेला माओवादी मात्रै त्यागेका थिएनन्, कम्युनिस्ट पार्टीको सिद्धान्त पनि छाडेको घोषणा गरे ।

उनै बाबुरामले त्यसयता कम्तीमा पनि चारवटा पार्टीमा आफूलाई परीक्षण गरे । तर, कुनै दलमा उनी सफल भएनन् । बरु निरन्तर टुटफुटको शिकार भइरहे ।

कसै गर्दा पनि पार नलागे पनि पार नलागेपछि उनी अहिले भदौ २३ र २४ को ‘जेन–जी विद्रोह’पछि कम्युनिस्ट दलमा देखिएको टुटफुटको बलमा एक पटक फेरि खडा हुने कोसिस गर्दैछन् ।

जेन–जीको उथलपुथलको असरले नेकपा एमालेबाहेक सबैजसो कम्युनिस्ट फुटेका छन् । अरु दलसँग मिल्न जाँदा नेकपा माओवादी केन्द्र पनि फुटेको छ ।

त्यहाँबाट जनयुद्धदेखिका चर्चित कमान्डर जनार्दन शर्मा प्रभाकरसहितका बाहिरिएका छन् । जनार्दनसहितका नेताहरूले माओवादीसँगै कम्युनिष्ट पार्टीसमेत छाडेको घोषणा गर्दा बाबुरामलाई राहत भएको छ । यसरी माओवादी छाड्नेमा शर्मासँगै माओवादी आन्दोलनमा वैचारिक नेताको छवि बनाएका राम कार्कीसमेत छन् ।

जीवनको उर्वर समयमा ३५ वर्ष निरन्तर कम्युनिष्ट पार्टी र आन्दोलनमा लागेका डा. भट्टराईले उत्तराद्र्धमा कम्युनिष्ट विचारले मात्रै मुलुकको रुपान्तरण सम्भव नरहेको निष्कर्ष एक दशकअगाडि नै निकालेका थिए । त्यस्तै, ४८ वर्षदेखि निरन्तर कम्युनिस्ट पार्टी र आन्दोलनमा जीवन व्यतित गरेका जनार्दन शर्माले पनि डा. भट्टराईले नै १० वर्षअघि अंगीकार गरेको मार्गलाई अनुसरण गर्न पुगेका छन् ।

केही दिनअगाडि मात्रै डा भट्टराई र शर्मा लगायतले प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरिसकेका छन् । त्यस पार्टीले आफ्नो संक्षिप्त राजनीतिक मस्यौदा पनि घोषणा गरेको छ । जुन प्रतिबद्धताले प्रगतिशील कम्युनिष्ट पार्टी कम्युनिष्ट वा बामपन्थी नभएर लोकतान्त्रिक पार्टी हुने घोषणा गरिसकेको छ । जसले नेपाली राजनीतिमा केही नयाँ बहस सिर्जना गरेको पाइन्छ ।

बाबुराम–जनार्दन अब ‘विकसित विज्ञानमा आधारित नयाँ सिद्धान्त’तिर

डा. बाबुराम भट्टराईले २०७२ सालमा पार्टी परित्याग गर्दा तत्कालीन माओवादीले एउटा कालखण्डको निम्ति योगदान गरेकाले अब नयाँ युगका लागि नयाँ पार्टी निर्माण गरेर जानुपर्ने बताएका थिए ।

‘अब नयाँ ढंगले एउटा नयाँ पार्टी निर्माण गरेर, नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ नेतृत्व सहितको नवर्निर्माण गरेर जानुपर्छ’, उनले नयाँ शक्ति पार्टी घोषाणाका क्रममा भनेका थिए ।

पार्टी परित्याग गरेको केही समयपछि २०७३ जेठ ३० गते डा. भट्टराईले माओवादी परित्याग गरेका सहकर्मी र अन्य विभिन्न क्षेत्रका व्यक्ति मिलाएर नयाँ शक्ति नेपाल निर्माण गरे । उनले माओवादीबाहेक अन्य पक्ष पनि अटाउनेगरी राजनीतिक विचारको पनि संश्लेषण प्रयास गरेका थिए ।

नयाँ शक्ति निर्माणलगत्तै भएको पार्टीको भेलाले राजनीतिक प्रतिवेदन पनि पारित गरेको थियो । ‘वामपन्थी’ र ‘लोकतान्त्रिक’ एउटा अस्तित्वका दुई पाटा हुन् । जो वास्तविक रूपमा वामपन्थी हुन्छ, त्यही नै वास्तविक रूपमा लोकतान्त्रिक पनि हुनसक्छ र हुनुपर्छ । जो वास्तविक रूपमा लोकतान्त्रिक हुन्छ, उसैले वामपन्थलाई पनि न्याय गर्न सक्छ । वामपन्थ एजेन्डा र त्यसको सारतत्वको विषय हो । लोकतन्त्र पद्धति र त्यसको रूपतत्वको विषय हो’, नयाँ शक्तिको पहिलो राष्ट्रिय भेलाले (२०७३–जेठ) मा पारित गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख थियो ।

डा. भट्टराई तत्कालीन माओवादीमा अर्थराजनीतिक ज्ञान राख्ने नेतृत्वका रूपमासमेत परिचित थिए । उनले अर्थराजनीतिसम्बन्धी धेरै आलेखहरू प्रकाशन गरेका थिए । जुन आलेखमा डा. भट्टराईले राष्ट्रिय पुँजीको संरक्षण र विकासको विषयलाई जोड दिने गरेका थिए ।

तर, तयाँ शक्ति निर्माणसम्म आइपुग्दा उनले आफ्नो अर्थराजनीतिक दृष्टिकोणलाई समेत बदलेर उदारवाद तथा खुला अर्थतन्त्रका पक्ष र समाजवादका पक्षलाई मिलाएर लैजाने विचारलाई नेपालको सापेक्षतामा विकास गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका थिए । जुन विषयलाई एउटा कोणबाट हेर्दा गतिशील मान्न सकिन्छ भने अर्को कोणबाट खिचडी मान्न सकिन्छ ।

तर, नतिजामा दाँजेर हेर्दा भने १० वर्षको अवधिमा डा भट्टराईले अगाडि सारेको विचारले मुलुक र उनका निम्ति कुनै उपलब्धि दिन सकेन । जसले उनले अगाडि सारेको विचारमा केही न केही कमजोरी रहेको स्पष्ट संकेत गर्छ ।

डा भट्टराईले १० वर्षअगाडि सारेको नयाँ शक्ति निर्माणकै विचारनजिक रहेर अहिले माओवादी छाडेका जनार्दन, रास्वपा छाडेका सन्तोष परियार लगायत एकीकृत भएको देखिएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता नामको मस्यौदामार्फत् राजनीतिक तथा वैचारिक दृष्टिकोण सार्वजनिक गरेको छ । उक्त पार्टीले अहिलेको युग भनेको उत्तर पुँजीवाद र राज्य समाजवादको युग भएको संश्लेषण गरेको छ भने समावेशी र सहभागितामूलक लोकतन्त्र आजको आवश्यकता भएको जनाएको छ ।

‘पार्टीले परिवर्तनबाहेक सबै परिवर्तन छन् भन्ने बुद्ध दर्शनलाई आत्मसात् गर्दै माक्र्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौँ आद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत माक्र्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित ‘विकसित विज्ञानमा आधारित समाज विकासको नवीनतम् सिद्धान्तअनुरूपको नेपाली समाजवाद’ पार्टीको मार्गनिर्देशक सिद्धान्त-दार्शनिक आधार हुनेछ’, प्रगतिशील लोकतान्त्रिक पार्टीको संक्षिप्त राजनीतिक प्रतिबद्धता–२०८२ मा उल्लेख छ ।

प्रतिबद्धतामा समावेश विचारका पक्षहरूले कम्युनिस्ट वा वामपन्थ भन्दा पनि ‘सेन्टर टु राइट’ अर्थात् लोकतन्त्रप्रति बढी झुकाव राखेको देखिन्छ ।



विश्लेषक रोका भन्छन् : कम्युनिस्ट नाम नबिक्ने भएपछि छाडेका हुन सक्छन्

वाम विश्लेषक हरि रोकाले नेपालमा कम्युनिस्ट नामका पार्टीहरूले कम्युनिस्ट व्यवहार प्रदर्शन गर्न नसकेर बदनाम भएको टिप्पणी गर्दै पछिल्लो समयमा जनार्दन लगायतले कम्युनिस्ट छाड्नुमा त्यही बदनामीको कारण भएको हुनसक्ने टिप्पणी गरेका छन् ।

उनले कम्युनिस्ट पक्षधर नेपालीहरूले एमालेले पनि सामाजिकीकरणको लागि भूमिका खेल्ने अपेक्षा गरेको र त्यसपछि माओवादीबाट पनि त्यो अपेक्षा पूरा हुन नसकेको बताए । बरु एमाले र माओवादी दुवैले पालैपालो आफ्नो आदर्श छाडेको उनको भनाइ छ ।

‘एमाले हुँदा पनि समाजको सामाजिकीकरण गर्न सहज हुन्छ भन्ने आममान्छले सोचेका थिए, नेपाली कांग्रेस सामाजिक प्रजातन्त्रवादी पार्टी थियो, तर सत्तामा पुगेपछि उसले सबै बजारलाई खुला छाडिदिने नीतिको अख्तियार गर्‍यो’, रोका भन्छन्, ‘त्यसपछि एमाले ९ महिना सत्तामा जाँदा पनि केही लोककल्याणकारी कार्यक्रमबाहेक अरु सबै बजारलाई नै छाडे, त्यो कम्युनिस्ट कार्यक्रम थिएन, उनीहरू कांग्रेसभन्दा अलिकति प्रगतिशील भएर मात्रै टिकेका हुन् ।’

त्यस्तै, माओवादीले पनि कम्युनिस्ट समावेशिताकबाहेक समाजवादको क्षेत्रमा कुनै काम गर्न नसकेको विश्लेषक रोकाको टिप्पणी छ ।

‘माओवादीले एउटा राम्रो काम गरेको भनेको यो देशमा बाहुन–क्षेत्रीबाहेक अरु पनि छन् भनेर अन्यलाई अटाउन समावेशी कार्यक्रम ल्याएको, त्यतिबेला माओवादीले भूमिसुधार गरेन, कृषिको आधुनिकीकरण पनि गरेन, यहीँ रोजगार सिर्जना गर्ने कार्यक्रम पनि गरेन, समाजवाद भनेको त, यहीँ मान्छे अड्याउने पनि गरेन’, उनी भन्छन् ‘बरु सत्तामा गएपछि यिनीहरूले केही पनि गरेनन्, बरु कम्युनिस्टहरूले सत्तामा जो गए पनि त्यस्तै त रहेछन् नि भन्ने स्थापित गरे ।’

विश्लेषक रोकाले कम्युनिष्ट पार्टी बदनाम भएको कारणले नै बाबुराम जनार्दनहरूले छाडेको हुनसक्ने बताए । ‘यिनीहरूले त अब कम्युनिस्ट पार्टीको नाममा ठूलो कुरा गर्नु त अर्थै रहेन, यिनीहरूले माओको नामसमेत गाँसेर ल्याए, माक्र्सवादी लेनिनवादी भनेर पार्टी बनाए, तर गरे के ?’, रोकाले प्रश्न गर्दै भन्छन्, ‘गरे ठिक उल्टो, त्यसो हुँदा समाजमा कम्युनिस्ट भनेर मुख देखाउनलायक पनि भएन, त्यसो भएको कारणले त्यो गरेका हुन् भन्ने मलाई लाग्छ ।’

तर, दीर्घकालीन ढंगले भने इमान्दारीसाथ कम्युनिष्ट आन्दोलनकै माध्यमबाट राजनीति गर्न सम्भव रहेको विश्लेषक रोका बताउँछन् । यसका साथै जनार्दनहरूको प्रयासलाई पनि केही समय सकारात्मक ढंगले हेर्न सकिने उनले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ४६ बजे

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय