बिलाउनीको झाडी फाँडेर सुन्तला बगान « Khabarhub

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला बगान बनाएका छन् ।

बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोबाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताए ।

‘कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो’, उनले भने, ‘केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो । घर व्यवहार चलाउने र छोराछोरीको पढाइखर्च जुटाउन खाडीमुलुक जानुपरेको छैन ।’

यस वर्ष करिब पाँच लाख मूल्य बराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप एक लाख आम्दानी हुने बताए । उनले तीन वर्ष खाडीमुलुक साउदीमा भेडा चराएर २०५७ सालमा घर फर्किएपछि सुन्तला र केरा खेती सुरु गरेका थिए । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ ।

भित्रलालसँगै उनका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गरेका छन् । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याएका थिए ।

हाल मालिका गाउँपालिका– ७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताए । पोखरा र चितवनका व्यापारीले बगैचाबाटै प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला खरिद गरेर लगेका छन् । नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ ।

अर्कला, नराले, ओखलढुङ्गा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तलाखेती भएको छ । सुन्तला बेचेर एक जना कृषकले ६० हजारदेखि पाँच लाखसम्म आम्दानी गरेका छन् । साठीभन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान भविराज पुनले बताए ।

पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाएका छन् ।

‘चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए’, उनले भने, ‘त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानुपरेको छैन । सुन्तलाखेती पेन्सनजस्तो भएको छ ।’ उनले वार्षिक चार लाखको सुन्तला बिक्री गर्दछन् । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् । 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ११ : ०२ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई