दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन « Khabarhub

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन



काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन् । सन्तानको हेरचाह, परिवारिक जिम्मेवारी र पढाइबीच सन्तुलन मिलाउन अध्ययनशील महिलालाई परिवार भित्र र बाहिर निरन्तर संघर्ष गर्नु नै पर्छ ।

जसकारण कति आमाले यो यात्रालाई बीचमै पूर्णबिराम दिने गरेका छन् । तर कति भने परिवारलाई सहमतिमा ल्याउँदै त्यही चुनौतीलाई अवसरमा बदल्न संघर्षरत देखिन्छन् ।

तिनै आमामध्ये एक हुन्, त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा भेटिएकी चन्द्रकला राई । राई खोटाङबाट ३ वर्षे छोरी च्यापेर समारोहमा आएकी थिइन् ।

सरकारी विद्यालयबाटै स्नातकोत्तरसम्म अध्ययन सकेकी उनले परिवार र श्रीमानको अर्थपूर्ण साथ पाएकै कारण अध्ययनलाई निरन्तरता दिन सकेको बताइन् ।

‘नानी गर्भमा आए पनि पढ्ने दृढ इच्छाशक्ति कम भएन । छोरी हुर्काउँदै श्रीमान श्रीमती एकअर्काको सारथि बनेर स्नातकोत्तर पास गर्यौं‍’, उनले गर्वका साथ भनिन् ।

आर्थिक सशक्तिकरणसँगै आत्मसम्मानका लागि हरेक महिलाले पढाईलाई निरन्तरता दिनुपर्ने उनले सुझाइन् ।

‘कोही महिला घरभित्रै सीमित नहुनुस् । शैक्षिक, अर्थिक, सामाजिक सबै क्षेत्रमा आफ्नो क्षमता बढाउनेमा लाग्नुपर्छ । बच्चा जन्माइसकेपछि अनेक जिम्मेवारी हुन्छ’, उनले थपिन्, ‘यो अवस्थामा परिवारको साथ सहयोग भए सफलता हात पर्छ । त्यसैले मेरो परिवारले जस्तै बुहारीलाई पनि छोरीको दर्जामा राखेर सक्षम बनाउन प्रेरित गर्न सबैलाई अनुरोध गर्छु ।’

यस्तै उनले शिक्षा नीति व्यावहारिक नभएकै कारण युवा विदेश पलायन हुनुपरेको गुनासो पोखिन् । ‘हाम्रो शिक्षा नीति सैद्धान्तिक छ, व्यवहारिक हुन सकेको छैन । सरकारले यसो गर्न सके विदेश पलायन भएका युवाको पसिनाले आफ्नै देशको रङ्ग बदल्ने थियो ।’

रोजगारी र स्नातक तहसम्मको अध्ययन सकिसकेपछि मात्रै विवाह रोजेकी राई एक दशकदेखि सरकारी सेवामा कार्यरत छिन् ।

उता दाङको तुलसीपुर महानगरपालिकाकी मायाधनी चौधरीको कथा पनि राईसँग मिल्दोजुल्दो छ ।

एक दशकदेखि नेपाल प्रहरीका रुपमा देश र जनताको सेवा गरिरहेकी उनलाई पनि पारिवारिक पृष्ठभूमिले पढाइबाट टाढा हुन दिएन ।

स्नात्तकोत्तर सकेर दीक्षान्त हुन आएकी उनको साथमा साढे २ वर्षको छोरा र श्रीमान पनि आएका छन् ।

‘बच्चा हुर्काउँदै गर्दा अफ्ठ्यारो त छ नि । हामी श्रीमान श्रीमाती दुवै प्रहरी सेवामा छौं । मेरो दाजु पनि पढ्दै हुनुहुन्छ । त्यसैले मलाई प्रेरणा मिलेको हो, ’ हर्षका साथ उनले सुनाइन् ।

बच्चा गर्भमै हुँदा परीक्षा दिए पनि श्रीमती सफल भएको देखेर निकै खुसी लागेको मायाधनीको श्रीमान सन्त चौधरी सुनाउँछन् ।

‘कार्यक्रममा महिलाको संख्या बढी देखिएको छ । पहिलेको तुलनामा महिला अगाडि आएका छन् । बच्चा पेटमै हुँदा परीक्षा दिएको थिएँ, सफल भएको छ, खुसी छु । महिलालाई हाम्रो सकारात्मक साथको निकै आवश्यकता हुँदो रहेछ’, उनी सुझाउँछन् ।

सुमन चौधरी सप्तरीमै बसेर समाजशास्त्रमा स्नातकोत्तर सकिन् ।अढाइ वर्षको उनको बच्चा सासु ससुराले सम्हालिदिँदा सहज भएको उनले सुनाइन् ।

‘हामीले सोचेको जस्तो सहज कुनै काममा हुँदैन । हामी आफैले वातावरण बनाउनुपर्छ त्यसमा परिवारको साथ त अपरिहार्य नै छ’, उनले भनिन् ।


नेपाल सरकारले एक गाउँ एक प्राविधिक कार्यक्रम ल्याएपछि त्यसमा काम गर्दै आएको उनले सुनाइन् ।

‘म कार्यालय जान्छु, सासुससुराले बच्चा हेरिदिनुभएको छ । मधेशमा महिलालाई घरभित्रै राखिन्छ भनिए पनि हामीले त्यो भोग्नु परेन । महिला भए पनि जाँगरसँग निरन्तरता दिन हिम्मत राख्नुपर्छ’, उनले सुनाइन् ।

आफ्नो समुदायका महिलाका लागि आफू उदाहरण बन्न खोजेको उनले बताइन् । यी दुई दीक्षित आमाको सफलताले बच्चा हुर्काइरहेका अन्यलाई पनि अध्ययन र आत्मविकासतर्फ अघि बढ्न प्रेरणा दिएको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : ०५ बजे

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने

कोराभित्र उम्मेदवार पिता, शोकबीचको चुनावी घरदैलो गर्दैछन् छोरी

विराटनगर- मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन