सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेन-जी युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका छन् ।
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेन-जी युवाको तर्फबाट शिव यादव, सन्तोष यादवलगायतले अर्थमन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्र बुझाउँदै जेन-जी युवा सन्तोष यादवले भने, ‘शिव यादवलगायत यहाँका आम युवाले पहिलेदेखि नै बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिका लागि पहल गरिरहनुभएको छ । आशा छ, यो भन्सार छिट्टै स्तरोन्नति हुन्छ । चार पाङ्ग्रे सवारीसाधनको आवतजावत खुलेपछि यस क्षेत्रका नागरिक र व्यापारीलाई ठूलो सहयोग पुग्नेछ ।’
स्थानीयका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय बरियारपट्टी बजारको मध्य भागमा अवस्थित छ । यस भन्सारबाट सिरहा जिल्लासहित आसपासका लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन् ।
बरियारपट्टी, औरही, अर्नामा, नवराजपुर, लक्ष्मीपुर पतारी गाउँपालिका तथा सुखिपुर, धनगढीमाइ, गोलबजार र लहान नगरपालिकाका केही वडाका नागरिक तथा साना–ठूला व्यापारीहरूले यस भन्सारमार्फत घरायसी तथा व्यावसायिक सामग्रीको आयात–निर्यात गर्दै आएका छन् ।
भौगोलिक रूपमा नेपालतर्फको बरियारपट्टी बजार र भारततर्फको लदनियाँ बजार सिधैँ जोडिएको हुँदा यस भन्सारको आर्थिक तथा व्यापारिक महत्व उच्च रहेको स्थानीयको भनाइ छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ मा ७० लाख छ हजार राजस्व संकलन गरेको तथ्यांक उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द नगरी यथावत् सञ्चालन गर्न, आवश्यक पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्न र चार पाङ्ग्रे सवारिसाधन सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।













प्रतिक्रिया