५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ « Khabarhub

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

६ वटा डिग्रीबाट नथाकेका कृष्णहरिले गरे विद्यावारिधी


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली उमेरमा स्मरणशक्ति कमजोर हुन्छ भन्ने भाष्यलाई निरन्तरको मिहिनेतले चिर्न सफल भएका उदाहरणका रुपमा खडा भएका छन् सुजयराज खरेल ।

काभ्रेको हुम्लु गाउँपालिका घर भएका खरेलले ५६ वर्षको उमेरमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे ।

बुढ्यौली उमेरमा उनी बिहिबार उनी जवान जस्तै फुर्तिलो भएर त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहबाट दीक्षित भए ।

श्रीमती र बुहारीको साथमा आएका उनी निकै हर्षित थिए । शिक्षण पेशामा अहोरात्र खटिरहेका उनले ३१ वर्षदेखि आराम गरेका छैनन् ।

अरुलाई शैक्षिक चेतना बाँडिरहेका उनले न त अध्ययन नै छोडेका छन् । गाउँकै चैतन्य बहुमुखी क्याम्पसअन्तर्गत् शिक्षा संकायका शिक्षक उनी आफूलाई विद्यार्थीकै रूपमा हेर्छन् ।

‘म शिक्षक हुँ । शिक्षा पेशामा रहुञ्जेल पेशागत वृत्तिविकासका लागि पढिरहनुपर्छ, मैले त्यहीँ गरेको हुँ’, उनी भन्छन् ।

खरेलले आफ्नो अध्ययन केवल व्यक्तिगत उपलब्धिका लागि मात्रै नभई परिवार र समाजलाई प्रेरित गर्ने माध्यम भनेका छन् । ‘छोराछोरी, बुहारी र श्रीमती सबैलाई पढाएर मैले पनि पढिरहेको छु’, उनले भने, ‘मलाई देखेर उनीहरूमा पढ्ने इच्छा जागोस् भन्ने अभिप्राय पनि हो ।’

उनको परिवारमा उनी र श्रीमतीसहित एक छोरा, एक छोरी र बुहारी छन् । छोरी र बुहारीले गत वर्ष त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरिसकेका छन्।
छोरा अष्ट्रेलियामा आईटी विषयमा दीक्षित भइसकेका छन् । छोरी पनि अहिले अध्ययनकै लागि अष्ट्रेलियामै छिन् ।

खरेलले यसअघि कानुनमा स्नातकसमेत गरिसकेका छन् । अध्यापन क्षेत्रमा रहेकाले अब यही संकायमा विद्यावारिधि गर्ने योजना बनाएका छन् ।

अध्ययनलाई जीवनसँग तुलना गर्दै भन्छन्, ‘चिल निकै माथिसम्म उड्ने पंक्षी हो । उडानका क्रममा त्यसका पुराना नङ्ग्रा खिइँदै जान्छन्, नयाँ पलाउँछन् । हामीले पनि समयअनुसार आफूलाई सुदृढ बनाउँदै जानुपर्छ ।’

उमेर पाको भयो भनेर पढाइ छाड्न नहुने उनको धारणा छ । ‘मानिस चितामा नपुग्दासम्म विद्यार्थी नै हो,’ उनी थप्छन् ।

अध्ययनलाई उमेरले छेक्दैन : बुढाथोकी

यस्तै, अर्थशास्त्रमा विद्यावारिधि गरेपछि दीक्षित भएका कृष्णहरि बुढाथोकी पनि अध्ययनलाई उमेरको अर्थ नहुने बताउँछन् ।

‘अध्ययनमा उमेरलाई हाबी गराउन हुँदैन । जीवन र समाजलाई उन्नत गराउन बाँचेसम्म अध्ययन गर्नुपर्छ । उमेरलाई ल्याइए त्यो पूर्वाग्राही सोच हुन्छ’, उनले भने ।

उनी अध्ययनलाई जीवनको अभिन्न अंगका रूपमा व्याख्या गर्छन् । ‘जीवन र जगत् बुझ्न, जानेका कुरा व्याख्या गर्न, सीप र सोच विकास गर्न अध्ययन अनिवार्य छ’, उनी थप्छन्, ‘सद्मानव बन्न पनि अध्ययन जरुरी छ । कुनै पनि बिषय बुझ्न औपचारिक वा अनौपचारिक रुपमा अध्ययन गर्नैपर्छ ।’

उनले यसअघि नै ६ वटा विषयमा स्नातकोत्तर गरिसकेका छन् । बुढाथोकी हाल नेपाल बैंकमा कार्यरत छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ८ : २८ बजे

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ