नाचिन छाडे ‘धाननाच’ « Khabarhub

नाचिन छाडे ‘धाननाच’


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ ।

याक्थुङ (लिम्बू) समुदायमा हुने सुख–दुःखका कर्मकाण्डसँगै मेला–हाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धाननाच नाच्ने संस्कृति छ ।

पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताए ।

उनका अनुसार उसबेला मेला-हाट, विवाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धाननाच नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ ।

धाननाच याक्थुङ (लिम्बू) जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताउँछन् । उनका अनुसार धाननाच नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ । यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ । धाननाचका क्रममा अज्ञानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ ।

धाननाच नाच्दा पालम (धान नाच्दा गाइने एक प्रकारको गीत) गाइन्छ । धाननाचमा पालम गाउनु अनिवार्य मानिन्छ । केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालममा सृष्टि उत्पत्तिको प्रसङ्ग, मानवसभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र मायाप्रीतिसम्मका कुरा गरिन्छ ।

पालमी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाहसमेत हुन पुग्छ । अध्यक्ष चोङबाङले भने, ‘याक्थुङ (लिम्बू) गाउँघरमा धान नाच्ने क्रममा पालम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन् ।’

याक्थुङ (लिम्बू) जातिको इतिहास र संस्कृतिसम्बन्धी विज्ञहरूका अनुसार मानिसहरू कृषि युगमा प्रवेश गरेपछि धाननाचको सुरुआत भएको हो । मुन्धुममा वर्णन गरिएअनुसार धपाउन नपाउने शर्तमा फाङ्भङना नामको चराले घैया धानको बीउ ल्याएर दिएपछि मानिसले खेतीपाती गर्न थाले । तर, उनीहरूले फलाएको अन्न दिनदिनै हुलका हुल चरा आएर खाइदिन थाले ।

चरालाई धपाउन नपाइने शर्तकाबीच मानिसहरूले अन्न जोगाउने नयाँ उपाय खोजे । उनीहरूले पाकेको अन्नलाई खला बनाई एकैठाउँ जम्मा गरे । युवायुवती भेला भएर एकापसमा हात समाइ गोलो घेरा बनाए ‘छुइ हा ।। हा ।।’ भन्दै धान कुल्चन थाले । यहीँ धान कुल्चनु नै पछि धाननाच भएको र चरा धपाउन प्रयोग गरिएको ‘छुइ हा.. हा..’ बाटै पालामको व्युत्पत्ति भएको बताइन्छ । अहिले धान नाच्ने ठाउँलाई ‘खला’ भन्ने गरिन्छ भने पालम गाउँदा ‘छुई हा.. हा..’ वा ‘हाई हा.. हा..’ भन्ने थेगो प्रयोग गरिने लामो धाननाच संरक्षण अभियन्ता राधा फोम्बोले बताइन् ।

याक्थुङ (लिम्बू) जातिको चिनारी र पहिचान बोकेको यहीँ धाननाच लोप हुने अवस्थामा पुग्नु दुखद् भएको याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवा बताउँछन् । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले युवापुस्ताले बिर्सिँदै गएको धाननाचसँगै अन्य मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ४९ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६