अलपत्र चक्रपथ विस्तार : चिनियाँ ठेकेदारको बाटो हेर्दै सरकार | Khabarhub Khabarhub

अलपत्र चक्रपथ विस्तार : चिनियाँ ठेकेदारको बाटो हेर्दै सरकार



काठमाडौं– केही दिनअघि नेपालस्थित चिनियाँ दूतावासले ठमेलदेखि रत्नपार्कसम्म नयाँ वर्षको अवसरमा कार्यक्रम गर्नेगरी काठमाडौं महानगरसँग अनुमति माग्यो । तर, महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले ती ठाउँमाभन्दा कलंकी–महाराजगञ्ज क्षेत्रमा कार्यक्रम गर्न उपयुक्त हुने सुझावसहितको जवाफ पठाइदिए ।

चक्रपथअन्तर्गत कलंकी–महाराजगञ्ज खण्ड निर्माणका लागि द्विपक्षीय सम्झौता गरेको लामो समय बित्दा पनि काम अगाडि बढ्न सकेको छैन । जसले गर्दा काठमाडौं महानगरअन्तर्गतको उक्त क्षेत्र लामो समयदेखि अस्तव्यस्त र प्रदूषणको मारमा छ ।

उक्त क्षेत्रको सडक विस्तार हुन नसकेको भन्दै महानगरले गत जेठमा सडक डिभिजन कार्यालय काठमाडौंको गेटमा फोहोर पनि थुपारिदिएको थियो । त्यसबेला महानगर प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकममै लेखेर कलंकीदेखि महाराजगञ्जका जनताले मात्रै धुलो खाँदा राम्रो नदेखिने भन्दै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा दैनिक धुलो उपहार पठाउने बताएका थिए । यद्यपि उनको घोषणाले निरन्तरता पाएन ।

तर, चिनियाँ राजदूतावासले नयाँ वर्षको उत्सव र नेपालसँग दौत्यसम्बन्धको खुसी मनाउन कार्यक्रमस्थल मागेको विषयमा महानगरको जवाफलाई चक्रपथ सडक विस्तारमा ढिलाइको रिस पोखेको अर्थमा बुझिएको छ । महानगरले प्रतीकात्मक रुपमा रोष प्रकट गरेको जवाफबाट बुझ्न सकिन्छ । यद्यपि महानगर अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख त्रिपाठीले यस कुरालाई स्वीकारेनन् ।


‘ठमेल र रत्नपार्कमा नयाँ वर्षको कार्यक्रम गर्न चिनियाँ दूतावासमार्फत् पत्र आएको थियो, ती मुख्य क्षेत्रमा ट्राफिक जाम हुनसक्ने भएकाले कलंकीदेखि महाराजगञ्जसम्मको क्षेत्रमा उपयुक्त हुनसक्ने भनेर सुझाव पठाएका हौँ, यद्यपि त्यो जवाफ अन्तिम होइन’, उनले भने ।

तर, महानगरले चिनियाँ दूतावासलाई लेखेको जवाफलाई कटाक्षपूर्ण भनेर चर्चा भइरहेको छ । कूटनीतिक रूपमा उक्त जवाफबाट महानगरले केटाकेटीपन देखाएको भनेर कतिपयले प्रश्न उठाइरहेका छन् ।

ठेकेदारको प्रतीक्षा

चीन सरकारले चक्रपथअन्तर्गतको कोटेश्वर–कलंकी १०.३९ किलोमिटर पहिलो खण्ड ८ लेन निर्माण गरेर २०७५ मैै नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि दोस्रो खण्ड कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर निर्माण गर्नेगरी दुई देशबीच समझदारी भएको थियो । यो समझदारीको ६ वर्षमा पनि निर्माण अगाडि बढेको छैन ।

विगतमा चक्रपथ विस्तारका लागि साइट क्लियरको कुरालालाई चिनियाँ पक्षले उठाउने गरेको थियो । यस क्षेत्रमा अहिले काम अघि बढाउने गरी साइट क्लियरेन्स भइसकेको चक्रपथ आयोजनाका एक अधिकारीले बताएका छन् । सम्झौता बमोजिम मुख्य सडकको दायाँबायाँ अर्थात् ‘सर्भिस ट्रयाक’ निर्माण पनि चालु आर्थिक वर्षमै सक्ने गरीे नेपाली पक्षले काम गरिरहेको छ ।

चक्रपथको दोस्रो खण्ड विस्तारको लागि चिनियाँ पक्षले २ वर्षअगाडि प्रारम्भिक डीपीआर तयार गरेर सुझावका लागि पेस गरेको थियो । सडक विभागले सुझाव दिएपछि पनि चिनियाँ पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको सडक विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर इन्जिनियर मुकुन्द अधिकारीले बताए ।

‘चक्रपथ विस्तारका लागि स्वयम्भू क्षेत्रमा अझै पनि केही समस्या छ, त्यसबाहेक दोस्रो खण्ड विस्तारमा अरु समस्या छैन’, अधिकारीले भने, ‘अब चिनियाँ कन्ट्रयाक्टर आएर काम सुरु गर्ने प्रतीक्षा गरिरहेका छौँ ।’

चक्रपथ निर्माण आयोजनाकाअनुसार अहिले कलंकी–बसुन्धारामा मुख्य सडकका दायाँ र बायाँतर्फका सर्भिस ट्रयाकलाई ४ वटा प्याकेजमा २ ठेकेदारले काम गरिरहेका छन् । सम्झौताअनुसार समयमै काम नसकेपछि रद्द गर्न लागिएको ठेक्का आगामी असार मसान्तसम्म सक्नेगरी निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका अनुसार चिनियाँ पक्षलाई काम गर्न अब कार्यक्षेत्र पूर्णरूपमा तयारी अवस्थामा छ ।



निर्माण सुरु हुने आशा छ : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चक्रपथको दोस्रो खण्डको काम छिट्टै सुरु हुन सक्ने बताए । विभिन्न चरणका द्विपक्षीय समझदारी र पछिल्लो पटक मंसिर १७ देखि २० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको थप समझदारीले पनि आयोजना अगाडि बढ्नसक्ने उनले बताए ।

‘गत भदौ ९ गते परराष्ट्र मन्त्रालयमार्फत् चिनियाँ एजेन्सीलाई काममा सहयोग गरिदिन पत्राचार गरेका थियौँ । त्यस्तै, प्रधानमन्त्रीयज्यूको भ्रमणमा भएको हस्ताक्षरमा यो आयोजना पनि परेको छ’, प्रवक्ता भट्टराईले भने, ‘अद्यावधिक जानकारीअनुसार अब उहाँहरू कार्यान्वयनको लागि आउनु हुन्छ । त्यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गर्छ ।’

प्रवक्ता भट्टराईले चक्रपथ क्षेत्र विस्तारमा समन्वयका लागि अब थप छलफल वा पत्राचारको काम बाँकी नरहेको बताए ।
चिनियाँ पक्षले यसअघि झण्डै ५ अर्बको लागतमा कोटेश्वर–कलंकी सडकखण्ड निर्माण र विस्तार गरेको थियो । पूर्ण अनुदानमा हुने चक्रपथ निर्माण तथा विस्तार ठेकेदार छनौटदेखि निर्माणको काम चीनले नै गर्ने हुँदा नेपाली पक्षको भूमिका आवश्यक सहयोग र समन्वयको मात्रै छ ।

राजनीतिक तहमा आवश्यक समझदारी भइसकेकोले नेपाली पक्ष ठेकेदार आउने बाटो हेरेर बसिरहेको छ । पछिल्लो समयमा बेल्ट एन्ड रोड इनिसियटिभ कार्यान्वयनका लागि फे्रमवर्क सम्झौतामा भएको हस्ताक्षरले आयोजनाले गति लिने विश्वासमा नेपाली पक्ष छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ४७ बजे

जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दाबी

एजेनसी – गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै

सरकारले घोषणा गरेजस्तै पाइएला त पक्षघातको निःशुल्क औषधी ?

कुनै कारणवश रक्त सञ्चारमा बाधा आई मस्तिष्कले आफ्नो नियन्त्रण गुमाएर

द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरूपणको कार्यलाई सरकारले

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको

अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग

अछाम– अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा