धनुषामा प्रहरीभन्दा तस्कर बलिया, महिनाथपुर नाकामा ‘चाची’ को राज  | Khabarhub Khabarhub

धनुषामा प्रहरीभन्दा तस्कर बलिया, महिनाथपुर नाकामा ‘चाची’ को राज 

तस्करी रोक्न खोज्दा भारतबाट गुण्डा कुटाउँछन् प्रहरी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ । सीमा क्षेत्रमा तैना सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य बराबरका भारतीय सामान अवैध रूपमा जनकपुरधाम आसपासको बजारमा आउने गरेका छन् । 

तस्करहरूले साडी, रेडिमेड कपडा, सर्टिङसुटिङका कपडाबाहेक दैनिक उपभोग्य सामानहरू, स्टिलका भाँडावर्तन, मोटरसाइकलका पार्टपुर्जालगायतका सामान भारतीय बजारबाट दैनिक करोडौँ रुपैयाँ बराबरका सामानहरू अवैध रूपमा जनकपुरलगायत विभिन्न बजारमा ल्याउने गरेका छन् ।

तस्करहरूले सीमाक्षेत्रमा रहेका प्रहरी , सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारेर निर्बाध रूपमा चोरी पैठारी गर्ने गरेका छन् । तस्करहरूले नाकामा भन्सारका कर्मचारी, सुरक्षाकर्मीहरूको व्यापक उपस्थिति भए पनि उनीहरूकै मिलोमतोमा रातिको समयमा तस्करी गरेको आरोप छ । यस्ता अवैध समान ल्याउने तस्करसँग महिनावारी उठाउन प्रहरीका घुमुवा र जनकपुर भन्सार कार्यालयका कर्मचारी खटाइएको छ । 

धनुषाका विभिन्न नाकाबाट दैनिक ३०० भन्दा बढी मोटरसाइकल, सयौँ साइकल र दशदेखि २० वटा पिकअपमा तस्करी हुनेगरेको स्थानीयवासीहरू बताउँछन् । 

सीमावर्ती क्षेत्रमा भइरहन्छ तस्कर र प्रहरीबीच झडप

धनुषको पूर्वी र दक्षिणी सीमावर्ती क्षेत्रमा प्रहरी तस्करबीच प्रायः झडप भइरहन्छ । केही दिनअघि धनुषाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने मुखियापट्टी मुसहरनियास्थित नाकामा तस्कर र प्रहरीबीच झडप भयो ।

चैत पहिलो साता मुखियापट्टी मुसहरनिया–६ बैरियास्थित एक घरको गोठमा भन्सार छलीको सामान रहेको सूचना पाएलगत्तै सादा पोसाकका प्रहरी खटिए । स्थानीय भजु यादवको गोठघरमा रहेको गोदाममा राखेको तस्करीको समान नियन्त्रणमा लिन वडा प्रहरी कार्यालयले छापा मार्न खोजेको सुइँको गोदाम सञ्चालकले पाइसकेका थिए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार छापा मार्नुअघि तस्करको समूहले अन्तिम उपायको रुपमा प्रहरीमाथि प्रतिकार गर्ने योजना बनाइसकेका थिए । प्रहरी त्यहाँ पुग्नासाथ दुई पक्षबीच विवाद सुरु भयो ।

केही व्यक्तिले जबर्जस्ती सामान लिएर जाने प्रयास गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी धनुषाका एसपी भूवनेश्वर तिवारीले बताए ।

थोरै सङ्ख्यामा प्रहरी देखेर तस्करको समूहले झन् आक्रमण गर्न थालेपछी बल प्रयोग गरेको उनको भनाइ छ । एसपी तिवारीले भने ‘प्रहरी १४ जना मात्रै । तस्कर अढाई-तीन सयको सङ्ख्यामा थिए । उनीहरु गोदामको टाटी भत्काएर प्रहरीमाथि ढुंगामुढा गरी सामान लिएर भाग्ने प्रयास गरेका थिए ।’

स्थिति नियन्त्रणमा लिएर प्रहरीले उक्त गोदामबाट चार्जर, ब्याट्रीलगायत मोबाइल सम्बन्धी १९ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको थियो ।

चाचीको राज
यस्तै गत फागुन २४ गते पूर्वी दक्षिणी सीमावर्ती क्षेत्र धनुषाको विदेह नगरपालिका-२ दुहबी महिनाथपुरमा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

दुबही ढाला र गोवराहीको बीचमा जाँच गर्दा तीन वटा मोटरसाइकलमा भारततर्फ मदिरा तस्करी भइरहेको थियो । सशस्त्र प्रहरीका सहायक निरीक्षक माधव अधिकारीको नेतृत्वमा पाँच जना सुरक्षाकर्मी त्यहाँ खटिएका थिए ।

मदिराको बिल नभएका कारण नियन्त्रणमा लिएर बिल ल्याउन लगाउँदा उनीहरु दुई मोटरसाइकलमा फरार भए । लगत्तै ५० जनाको समूह आएर सहायक निरीक्षक अधिकारी र प्रहरी हवलदार बलराम रजाकमाथि कुटपिट गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म महिनाथपुरका इन्चार्ज डीएसपी सुरज रिजालले बताए । 

‘यो घटनाबारे हामीले नेपाल प्रहरीमा निवेदन पनि दिएका छौँ,’ उनले भने, ‘प्रहरीलाई कुटपिट गर्ने स्थानीयभन्दा बाहिरको व्यक्ति देखिएका छन् । त्यसकारण यो घटनामा हामीले केही गर्न सकेका छैनौँ ।’ 

उनका अनुसार चाची भनेर चिनिने स्थानीय एक महिलाले सीमामा गुण्डासमेत राखेर तस्करीमा संलग्न छिन् । उनको सामान समात्नेबित्तिकै भारतबाट मान्छे बोलाएर विवाद गर्न खोज्ने गरेको प्रहरीको भनाइ छ । यो सबै घटनाकी मुख्य नाइके ’चाची’ भनेर चिनिने तस्कर नै रहेको उनको दाबी छ ।

मजबुत तस्कर

धनुषाको गोबराही र दुबही ढाला नाकाबाट सबैभन्दा बढी तस्करी भइरहेको पाइएपछि प्रहरीले त्यहाँ दुई वटा सीसीक्यामरा लगायो । त्यसको विरोधमा तस्करीमा संलग्नहरु मात्रै होइन, जनप्रतिनिधिसमेत देखिए । विदेह नगरपालिका प्रमुख बेचन दास सीसीटीभी हटाउन माग गर्दै तस्करसँगै आन्दोलनमा उत्रिए ।

जनकपुर–जयनगर रेलसमेत अवरुद्ध गरेर उनीहरुले सिसिटिभी हटाउन माग गरे । त्यही दिन आन्दोलन गर्न पुगेको समूहले सिसिटिभी फुटाएको डीएसपी रिजालले आरोप लगाएका छन् । आन्दोलनले हिंसाको रुप नलियोस् भनेर प्रहरी शान्त बसेको उनको भनाइ छ । पछि सीसीटिभी फुटाउन संलग्न रहेको भन्दै चार जना स्थानीयमाथि प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरायो ।

यद्यपि हालसम्म उनीहरु फरार छन् । नगर प्रमुख दास सीसीटिभी फुटाएको विषय स्वीकार्दै उक्त घटनामा प्रहरी दोषी रहेको दाबी गर्छन् । प्रहरीले धेरै दुःख दिन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएको उनको कथन छ । सीमापारिबाट स्थानीयलाई पाँच केजीभन्दा बढी खाद्यान्न समग्री ल्याउन नदिँदा आन्दोलन गरेको उनको तर्क छ ।

मधेश प्रदेश प्रमुख डीआईजी लालमणि अचार्यले सीमित व्यक्तिको स्वार्थका लागि नाकामा झडप हुने गरेको बताए । कानुन पालना नगर्दा पनि कतिपय ठाउँमा झगडा हुने गरेको उनले बताए ।

उनका अनुसार पछिल्लो समय ठूल्ठूला व्यापारी स्थानीय व्यक्तिलाई भरिया बनाएर कम–कम मात्रामा सामान भन्सार छली गरेर गोदाममा राख्ने गरेका छन् । स्थानीयको रोजीरोटी जुरेको कारण प्रहरीसँग बेलाबेला विवाद गर्ने गरेको उनले सुनाए ।

 ‘घरायसी सामान र तस्करीको सामान हेरेर नै प्रहरीले थाहा पाउँछ,’ उनले भने, ‘त्यसकारण प्रहरीले दुःख दिएको कुरा गलत हो । तस्करले त्यसको आडमा फाइदा उठाउन खोजेको मात्रै हो ।’ 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४२ बजे

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका