व्यभिचारपूर्वक गोरु मारिएपछि धनीको आक्रोश– अब मेरो ऋण कसले तिरिदिन्छ ? « Khabarhub

व्यभिचारपूर्वक गोरु मारिएपछि धनीको आक्रोश– अब मेरो ऋण कसले तिरिदिन्छ ?



इलामको सूर्योदय नगरपालिका–६, कन्याममा गतहप्ता जिउँदो गोरुको फिलाको मासु चोरेर लगिएको घटना सार्वजनिक भयो । स्थानीय पत्रकार गोपाल गिरीले फिला काटिएको घाइते गोरुको भिडियो सार्वजनिक गरेका थिए । 

उक्त गोरुको मृत्यु भयो । तर, साथीले दिएको गोरुको क्षतिपूर्ति कसरी तिर्ने भनेर यतिबेला गोरुधनी राम राई चिन्तित छन् । उनको मुटुमा समस्या छ । साथै, कोलेस्ट्रोल र सुगर पनि छ । ४३ वर्षकै उमेरमा विभिन्न रोगले सङ्क्रमण गरेपछि व्यवसाय घाटामा गएर उनकी श्रीमती वैदेशिक रोजगारमा छिन् । केही शत्रुले आफूले गरेर खाएको रिस गोरुमाथि पोखेको राईको आरोप छ । 

उनी भन्छन्, ‘गाउँमा खेतीपाती गरेर राम्रो आयआर्जन गरेको देख्न नसक्ने जमात छ । त्यही जमातले मान्छे कोपर्न नसकेर गोरु कोपरे ।’

खबरहबसँग कुरा गर्दै उनले घटनाबारे यसरी बेलिबिस्तार लगाएका छन् । 

गोरुको फिला काट्ने काम पहिलेदेखि हुँदै आइरहेको थियो । पहिले पनि प्रशासनमा जानकारी गराएको हो । तर, अपराधी पत्ता लाग्न सकेन । फेरि पनि उस्तै घटना दोहोरियो । अब यसै चुप लागेर बस्ने स्थिति भएन । आज गोरुमाथि हमला गरेका छन् । भोलि मैमाथि अथवा मान्छेमाथि नै हमला गर्न सक्छन् । 

त्यसकारण स्थानीय प्रतिनिधि र प्रहरी प्रशासनलाई दोषी पत्ता लगाई कारवाहीको लागि पहल गरेको छु । तर, छलफलमा जंगली जनावरले पनि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । तथ्य प्रमाण नभएपछि कसैलाई आरोप लगाउन पनि भएन । तर, जंगली जनावरको आक्रमण हो भनेर विश्वास गर्ने कुनै आधार छैन । 

जंगली जनावरले तानेको अथवा आक्रमण गरेको त्यस्तो हुँदैन । मान्छेले मासु खानकै लागि फिला काटेका हुन् भन्ने कुरामा म ढुक्क छु । काटेर हड्डी नै खुर्किएको छ । उनीहरु सग्लो गोरु खाने योजनाले आएका थिए । पहिले दाम्लो काटेर गोरु डोर्याएर केही परसम्म पुर्याएका छन् । 

तर, जनावर नै भएपनि नचिनेको मान्छेसँग गोरु हिँड्दैन । अँध्यारो भएपनि मालिक चिन्छ । गोरुले मालिक नचिनेपछि उ हिँड्न मानेन । थलाबाट हिँड्न नमानेपछि हतियारले टुक्रा–टुक्रा मासु झिकेछन् । दश रोपनी जग्गा भाडामा लिएर कृषि गर्दै आएको थिए । वर्षको एक लाख भाडा छ । पाँच वर्षको लागि लिइएको हो । दुई वर्ष भयो लिएको । तरकारी र चियाखेती छ । 

मैले दर्ता गरेरै व्यवसाय गरेको हो । भाडामा जग्गा लिएर गरेपनि सरकारलाई कर तिरेको छु । यहाँनिर पहाडको ठाउँगोठ अलि सुनसानमा पर्छ । गोरु कराएको सुनिँदैन । त्यसमाथि रातको समयमा गाउँका मान्छेहरू थकित भएर सुत्छन् । गहिरो निद्रामा थाहा हुँदैन । करिब चारसय मिटरमा मात्रै वस्ती छ । गोरु कराएको त्यहाँ वरिपरि रहेकाले पनि नसुनेको बताए । 

असुरक्षा अनुभव भएर दिउँसो साथीहरुसँग मात्रै काम गर्न गएको छु । बेलुका निजी घरमै गएको छु । कन्याम बसेको छैन । मेरो निजी घर कन्यामदेखि केही पर थाली गाउँमा पर्छ । मैले जानेर कसैसँग दुश्मनी गरेको छु जस्तो लागेको छैन । तर, मैले गरिखाको देखेर डाहा गर्नेहरू थिए । तिनैले मेरो रिस गोरुमाथि पोखे जस्तो लाग्छ । 

प्रहरीले शंका गरेकासँग मेरो दोहोरो कुरा भएको छैन । मौसम र दुख विरामले गर्दा काम गर्न नसकेपछि खेतीपाती डुब्यो । सबै घाटामा गएपछि ६ महिना अगाडि श्रीमती वैदेशिक रोजगारमा कुवेत गएकी छिन् । खेतीपाती डुबेर १५ लाख घाटा भयो । हामीमध्ये एक  विदेश जानुपर्ने भयो । मलाई त्यति सन्चो नहुने भएपछि श्रीमती गइन् । उनलाई पनि ऋण खोजेर पठाएको हो । हाम्रो ९ वर्षकी छोरी २ कक्षामा पढ्छिन् । 

 क्षतिपूर्ति नपाएको गुनासो

स्थानीय साथीले किनिदिएको गोरु हो । साथीलाई ऋण तिर्नै बाँकी छ । त्यही गोरु कज्याएर कमाउला भन्ने थियो । शत्रु लागेर गोरु नै मारिदिए । मेरो सम्पत्ति जमिनमुनि गाड्नुपर्‍यो । तर अब साथीलाई ऋण जसरी पनि तिर्नुपर्छ । ऋणमाथि ऋण थपियो । स्थानीय सरकार र प्रहरी प्रशासनले मैले क्षतिपूर्ति दाबी गर्ने कुनै निकाय छैन भनेका छन् । 

प्रशासन र वडा कार्यालयमा भएको छलफल अनुसार क्षतिपूर्ति पाउँदैनस् भने । मलाई न्याय गर्ने कुनै कानुनी आधार रहेनछ । अनुसन्धान जारी हुन्छ, दोषी पत्ता लगाएर कारवाही गर्ने त भनेका छन् । एक हल गोरु थियो । एउटा फागुन २७ गते मर्‍यो । चैत ८ गते अर्को मर्‍यो। मासु झिकिएको अप्ठ्यारो तरिकाले मर्‍यो। हल गोरुको मूल्याङ्कन मूल्य २० हजार हो । 

गाउँमा जाँडरक्सी धेरै हुन्छ : वडाध्यक्ष बस्नेत
वडाध्यक्ष शिवकुमार बस्नेतले उक्त गाउँमा बेलुका भएपछि धेरै जाँडरक्सी चल्ने भएकाले बाख्रा चोर्ने र कुखुरा चोर्ने काम पहिलेदेखि हुँदै आएको बताएका छन् । 

उनले खबरहबसँग कुरा गर्दै भने, ‘तर, यसपटक जिउँदो गोरुको फिला काटियो भन्ने कुरा आयो । यो नै अन्तिम सत्य होइन । प्रारम्भिक अनुसन्धानमा अन्य वन्यजन्तुले आक्रमण गरेको पनि अनुमान गरिएको छ ।’ ‘बेलुका जाँडरक्सी बन्द गर्न खबरदारी गर्दै आएको हो । तर, अटेर गरेर खाइरहेका छन् । पीडितले पहिले पनि उजुरी गर्नुभएको हो । हामीले पहिलेदेखि अनुसन्धान गर्दै आएको हो ।’ उनले थपे–‘टोल विकासलाई वडामा बोलाएर घच्घच्याएको हो । यही बीचमा फेरि गोरुको फिला हरायो । अब त्यो मान्छेले हो वा कुकुरले यसै भन्न सकिएन ।’

पहिले पनि टोलमा बाख्रा हराएर झगडा भइरहेको थियो । त्यही शंकाको हिसाबले दुईजनालाई तारिखमा बोलाउने काम भइरहेको अध्यक्षले बस्नेतले बताए ।

‘शंका लागेकाहरू निगरानीमा छन् । शंकामा परेका व्यक्तिलाई तारिखमा चौकीमा बोलाउने बुझ्ने र अनुसन्धान गर्ने काम भइरहेको छ । टोलमा र वडामा पनि व्यापक छलफल गरियो तर कसले गरेको हो यकिन गर्न सकिएको छैन, उनले भने । पीडितलाई कोहीमाथि शंका छ ? भनेर सोध्दा उनले शत्रु लागे भन्ने मात्रै जवाफ दिएको तर शंका लागेको व्यक्तिको नाम भन्न नसक्दा अनुसन्धानमा समस्या भएको बस्नेतको भनाइ छ । भन्छन् , ‘कसैले किटानी जाहेरी दिँदैन । स्थानीय कसैले देखेँ भन्दैनन् । टोलमार्फत किटानी दिनु भन्दा कोही अघि सर्दैनन् ।’

उनले पीडितले पाउनुपर्ने क्षतिपूर्तिको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए । 

‘के रहेछ अझै बुझ्दै जानुपर्छ । घटना हुँदा गोरु मरिसकेको थिएन । तर, अहिले मर्‍यो अब थप छलफल गर्नुपर्छ । सकिन्छ सकिदैन आफ्नो ठाउँमा छ’ उनले भने । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ०२ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल