व्यभिचारपूर्वक गोरु मारिएपछि धनीको आक्रोश– अब मेरो ऋण कसले तिरिदिन्छ ? | Khabarhub Khabarhub

व्यभिचारपूर्वक गोरु मारिएपछि धनीको आक्रोश– अब मेरो ऋण कसले तिरिदिन्छ ?



इलामको सूर्योदय नगरपालिका–६, कन्याममा गतहप्ता जिउँदो गोरुको फिलाको मासु चोरेर लगिएको घटना सार्वजनिक भयो । स्थानीय पत्रकार गोपाल गिरीले फिला काटिएको घाइते गोरुको भिडियो सार्वजनिक गरेका थिए । 

उक्त गोरुको मृत्यु भयो । तर, साथीले दिएको गोरुको क्षतिपूर्ति कसरी तिर्ने भनेर यतिबेला गोरुधनी राम राई चिन्तित छन् । उनको मुटुमा समस्या छ । साथै, कोलेस्ट्रोल र सुगर पनि छ । ४३ वर्षकै उमेरमा विभिन्न रोगले सङ्क्रमण गरेपछि व्यवसाय घाटामा गएर उनकी श्रीमती वैदेशिक रोजगारमा छिन् । केही शत्रुले आफूले गरेर खाएको रिस गोरुमाथि पोखेको राईको आरोप छ । 

उनी भन्छन्, ‘गाउँमा खेतीपाती गरेर राम्रो आयआर्जन गरेको देख्न नसक्ने जमात छ । त्यही जमातले मान्छे कोपर्न नसकेर गोरु कोपरे ।’

खबरहबसँग कुरा गर्दै उनले घटनाबारे यसरी बेलिबिस्तार लगाएका छन् । 

गोरुको फिला काट्ने काम पहिलेदेखि हुँदै आइरहेको थियो । पहिले पनि प्रशासनमा जानकारी गराएको हो । तर, अपराधी पत्ता लाग्न सकेन । फेरि पनि उस्तै घटना दोहोरियो । अब यसै चुप लागेर बस्ने स्थिति भएन । आज गोरुमाथि हमला गरेका छन् । भोलि मैमाथि अथवा मान्छेमाथि नै हमला गर्न सक्छन् । 

त्यसकारण स्थानीय प्रतिनिधि र प्रहरी प्रशासनलाई दोषी पत्ता लगाई कारवाहीको लागि पहल गरेको छु । तर, छलफलमा जंगली जनावरले पनि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । तथ्य प्रमाण नभएपछि कसैलाई आरोप लगाउन पनि भएन । तर, जंगली जनावरको आक्रमण हो भनेर विश्वास गर्ने कुनै आधार छैन । 

जंगली जनावरले तानेको अथवा आक्रमण गरेको त्यस्तो हुँदैन । मान्छेले मासु खानकै लागि फिला काटेका हुन् भन्ने कुरामा म ढुक्क छु । काटेर हड्डी नै खुर्किएको छ । उनीहरु सग्लो गोरु खाने योजनाले आएका थिए । पहिले दाम्लो काटेर गोरु डोर्याएर केही परसम्म पुर्याएका छन् । 

तर, जनावर नै भएपनि नचिनेको मान्छेसँग गोरु हिँड्दैन । अँध्यारो भएपनि मालिक चिन्छ । गोरुले मालिक नचिनेपछि उ हिँड्न मानेन । थलाबाट हिँड्न नमानेपछि हतियारले टुक्रा–टुक्रा मासु झिकेछन् । दश रोपनी जग्गा भाडामा लिएर कृषि गर्दै आएको थिए । वर्षको एक लाख भाडा छ । पाँच वर्षको लागि लिइएको हो । दुई वर्ष भयो लिएको । तरकारी र चियाखेती छ । 

मैले दर्ता गरेरै व्यवसाय गरेको हो । भाडामा जग्गा लिएर गरेपनि सरकारलाई कर तिरेको छु । यहाँनिर पहाडको ठाउँगोठ अलि सुनसानमा पर्छ । गोरु कराएको सुनिँदैन । त्यसमाथि रातको समयमा गाउँका मान्छेहरू थकित भएर सुत्छन् । गहिरो निद्रामा थाहा हुँदैन । करिब चारसय मिटरमा मात्रै वस्ती छ । गोरु कराएको त्यहाँ वरिपरि रहेकाले पनि नसुनेको बताए । 

असुरक्षा अनुभव भएर दिउँसो साथीहरुसँग मात्रै काम गर्न गएको छु । बेलुका निजी घरमै गएको छु । कन्याम बसेको छैन । मेरो निजी घर कन्यामदेखि केही पर थाली गाउँमा पर्छ । मैले जानेर कसैसँग दुश्मनी गरेको छु जस्तो लागेको छैन । तर, मैले गरिखाको देखेर डाहा गर्नेहरू थिए । तिनैले मेरो रिस गोरुमाथि पोखे जस्तो लाग्छ । 

प्रहरीले शंका गरेकासँग मेरो दोहोरो कुरा भएको छैन । मौसम र दुख विरामले गर्दा काम गर्न नसकेपछि खेतीपाती डुब्यो । सबै घाटामा गएपछि ६ महिना अगाडि श्रीमती वैदेशिक रोजगारमा कुवेत गएकी छिन् । खेतीपाती डुबेर १५ लाख घाटा भयो । हामीमध्ये एक  विदेश जानुपर्ने भयो । मलाई त्यति सन्चो नहुने भएपछि श्रीमती गइन् । उनलाई पनि ऋण खोजेर पठाएको हो । हाम्रो ९ वर्षकी छोरी २ कक्षामा पढ्छिन् । 

 क्षतिपूर्ति नपाएको गुनासो

स्थानीय साथीले किनिदिएको गोरु हो । साथीलाई ऋण तिर्नै बाँकी छ । त्यही गोरु कज्याएर कमाउला भन्ने थियो । शत्रु लागेर गोरु नै मारिदिए । मेरो सम्पत्ति जमिनमुनि गाड्नुपर्‍यो । तर अब साथीलाई ऋण जसरी पनि तिर्नुपर्छ । ऋणमाथि ऋण थपियो । स्थानीय सरकार र प्रहरी प्रशासनले मैले क्षतिपूर्ति दाबी गर्ने कुनै निकाय छैन भनेका छन् । 

प्रशासन र वडा कार्यालयमा भएको छलफल अनुसार क्षतिपूर्ति पाउँदैनस् भने । मलाई न्याय गर्ने कुनै कानुनी आधार रहेनछ । अनुसन्धान जारी हुन्छ, दोषी पत्ता लगाएर कारवाही गर्ने त भनेका छन् । एक हल गोरु थियो । एउटा फागुन २७ गते मर्‍यो । चैत ८ गते अर्को मर्‍यो। मासु झिकिएको अप्ठ्यारो तरिकाले मर्‍यो। हल गोरुको मूल्याङ्कन मूल्य २० हजार हो । 

गाउँमा जाँडरक्सी धेरै हुन्छ : वडाध्यक्ष बस्नेत
वडाध्यक्ष शिवकुमार बस्नेतले उक्त गाउँमा बेलुका भएपछि धेरै जाँडरक्सी चल्ने भएकाले बाख्रा चोर्ने र कुखुरा चोर्ने काम पहिलेदेखि हुँदै आएको बताएका छन् । 

उनले खबरहबसँग कुरा गर्दै भने, ‘तर, यसपटक जिउँदो गोरुको फिला काटियो भन्ने कुरा आयो । यो नै अन्तिम सत्य होइन । प्रारम्भिक अनुसन्धानमा अन्य वन्यजन्तुले आक्रमण गरेको पनि अनुमान गरिएको छ ।’ ‘बेलुका जाँडरक्सी बन्द गर्न खबरदारी गर्दै आएको हो । तर, अटेर गरेर खाइरहेका छन् । पीडितले पहिले पनि उजुरी गर्नुभएको हो । हामीले पहिलेदेखि अनुसन्धान गर्दै आएको हो ।’ उनले थपे–‘टोल विकासलाई वडामा बोलाएर घच्घच्याएको हो । यही बीचमा फेरि गोरुको फिला हरायो । अब त्यो मान्छेले हो वा कुकुरले यसै भन्न सकिएन ।’

पहिले पनि टोलमा बाख्रा हराएर झगडा भइरहेको थियो । त्यही शंकाको हिसाबले दुईजनालाई तारिखमा बोलाउने काम भइरहेको अध्यक्षले बस्नेतले बताए ।

‘शंका लागेकाहरू निगरानीमा छन् । शंकामा परेका व्यक्तिलाई तारिखमा चौकीमा बोलाउने बुझ्ने र अनुसन्धान गर्ने काम भइरहेको छ । टोलमा र वडामा पनि व्यापक छलफल गरियो तर कसले गरेको हो यकिन गर्न सकिएको छैन, उनले भने । पीडितलाई कोहीमाथि शंका छ ? भनेर सोध्दा उनले शत्रु लागे भन्ने मात्रै जवाफ दिएको तर शंका लागेको व्यक्तिको नाम भन्न नसक्दा अनुसन्धानमा समस्या भएको बस्नेतको भनाइ छ । भन्छन् , ‘कसैले किटानी जाहेरी दिँदैन । स्थानीय कसैले देखेँ भन्दैनन् । टोलमार्फत किटानी दिनु भन्दा कोही अघि सर्दैनन् ।’

उनले पीडितले पाउनुपर्ने क्षतिपूर्तिको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए । 

‘के रहेछ अझै बुझ्दै जानुपर्छ । घटना हुँदा गोरु मरिसकेको थिएन । तर, अहिले मर्‍यो अब थप छलफल गर्नुपर्छ । सकिन्छ सकिदैन आफ्नो ठाउँमा छ’ उनले भने । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ०२ बजे

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

कास्की – सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र