काठमाडौं– नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङबारे संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण दिनैपर्ने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले अडान राखेका छन् । प्रधानमन्त्री ओलीले संसदमा दिएको स्पष्टीकरण चित्त बुझेन भने आन्दोलन अघि बढ्ने उनको चेतावनी छ ।
‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ’ प्रचण्डले बुधबार पत्रकारहरुसँग भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भयो भने तुरुन्तै हाउस चल्छ । स्पष्टीकरणमा पनि जालझेलको भयो भने चाहिँ आन्दोलन अगाडि बढ्छ ।’
प्रधानमन्त्रीसँगको भेटमा आफूले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) का विषयमा मात्रै छलफल गरेको तर सिंहदरबारबाट बाहिरिनासाथ ‘माओवादीले टीआरसीसँग कुलमान साट्यो’ भनेर झूठो प्रचार गरिएको प्रचण्डको गुनासो छ ।
यो पनि-
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित, भोलि ११ बजे बस्ने
कुलमानबारे ऊर्जामन्त्री खड्काले संसद्लाई जवाफ दिने
पूर्वप्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया उनकै शब्दमा–

लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो भने तुरुन्तै हाउस चल्छ । स्पष्टीकरणमा पनि जालझेलको भयो भने चाहिँ आन्दोलन अगाडि बढ्छ ।
योपटक पनि बडो चिन्तित र दु:खित पनि छु । टीआरसीका लागि भनेर पटक–पटक प्रधानमन्त्रीजीले खबर गर्नुभो । मैले ठीकै छ, टीआरसीको लागि त हामी सबैको साझा चासोको विषय हो, देशकै आवश्यकताको विषय पनि हो भनेर म गएँ ।
कुलमानजीको विषयमा हामीले पटक–पटक सार्वजनिकरुपमै भनेका थियौं । अब चार–पाँच महिनापछि उहाँको समय सिद्धिँदैछ, बीचमा बेकारमा… । जनमत पनि कुलमानजीको पक्षमा छ । उहाँले गरेको पनि राम्रो काम हो । उहाँलाई पुरस्कृत गर्नुपर्ने मान्छेलाई अपमानित गर्न हुँदैन भनिएकै थियो । तर, त्यो दिन म गएको समयमा यो विषयमा कसैले एक शब्द चर्चा गरेको पनि होइन । विल्कुल टीआरसीको बारेमा मात्रै कुरा भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिडेँ । त्यो भन्दा बढी कहीँ कतै कसैले एक शब्द उच्चारण गरेको पनि होइन ।
तर, म निक्लिने वित्तिकै मन्त्रिपरिषद बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एकचोटि निकै ठूलो जालझेल भएको जस्तो महसुस मलाई भयो । एक दुई दिन पर्खिए पनि हुन्थ्यो । म सिंहदरबार गएर टीआरसीबारे टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो ।
अर्को कुरा, त्यही दिन तुरुन्तै राप्रपाका ज्ञानबहादुर शाही लगायतले भने– ल प्रचण्डले टीआरसीसँग कुलमान साट्यो ! यो भन्दा झुठो, यो भन्दा बेइमानीपूर्ण र आपराधिक प्रचार केही हुन सक्छ ?
यो सबै देखेर म यति दुःखित भएको छु, तपाई पत्रकार साथीहरुले पनि अब त बुझिसक्नुभयो होला । सत्यको पक्षमा बोल्दिनु होला ।
भिडियो–
यो पनि-
प्रतिक्रिया