काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवम् सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो ।
‘भिजिट भिसा’ मा ‘सेटिङ’ गरेर अवैध ढंगबाट रकम असुलिएको सूचनाका आधारमा सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर टंगालस्थित कार्यालय पुर्याएको थियो ।
अध्यागमन कार्यालयका प्रमुख भट्टराई ‘भिजिट भिसा’ प्रकरणमा पक्राउ परेपछि उनको तालुकदार मन्त्रालय गृहको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नेता रमेश लेखकको पनि नाम मुछियो ।
गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई चार महिनामै हटाएर गत असोज २३ गते भट्टराईलाई जिम्मेवारी दिएका थिए ।
विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाए लगत्तै अध्यागमनमा ‘भिजिट भिसा’मा जानेबाट रकम असुलीको सेटिङ बढेको थियो । अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले गत मंगलबार साँझ भट्टराईलाई जोगाउन अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो ।
तर, सरुवाको रमाना पत्र नबुझ्दै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएपछि ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री लेखकबारे छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाक्यो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकमा सुरु भएको छलफल क्रममा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दाजु डा. शेखर कोइरालामाथि कारबाहीको प्रस्ताव गरे ।
उनले देउवासमक्ष प्रस्ताव राखे– गृहमन्त्री लेखकको राजीनामा माग्ने शेखर र पार्टीको आन्तरिक मोर्चामा उनीसँग उभिदै आएका सांसदहरू सुनील शर्मा र राजेन्द्र बजागाईँलाई बोलाएर स्पष्टीकरण मागौँ ।

बूढानीलकण्ठमा सोमबार देखिएको बैठकको दृश्यले एकाएक कांग्रेसका संस्थापक नेताहरू मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको झल्को दिलाइदिएको छ । मातृका जहानियाँ राणा शासनविरुद्ध कांग्रेसले गरेको सशस्त्र क्रान्तिका कमान्डर हुन् भने बीपी कांग्रेसका संस्थापक र सिद्धान्तकार ।
सौतेला भाइ मातृका–बीपीबीचको आपसी टकरावले कांग्रेसको मात्रै नभएर सिंगो मुलुकको राजनीति नै प्रभावित बन्न पुगेको इतिहास छ । उनीहरूबीचको द्वन्द्व र स्वार्थ यतिसम्म चर्कियो कि दुईजना एकै पार्टीमा बस्न नसक्ने अवस्था नै निम्तियो ।
००७ सालको राणा–कांग्रेस संयुक्त सरकार पतनसँगै कांग्रेसमा बीपी र मातृकामध्ये को प्रधानमन्त्री बन्ने भन्ने विषयमा तीव्र विवाद चलिरहेको थियो । बीपी र मातृका दुवै सरकारको नेतृत्व आफूले पाउनेमा ढुक्क थिए ।
भावी प्रधानमन्त्रीबारेको बहस र रस्साकस्सी उत्कर्षमा पुग्दै गर्दा २००८ कात्तिक २८ मा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो ।
उक्त बैठकमा मातृकाले बीपीलाई प्रधानमन्त्रीको उम्मेदवार चयन हुन नदिन भरमग्दुर प्रयास गरे । यसबारे पत्रकार जगत नेपालले आफ्नो पुस्तक ‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’ मा लेखेका छन् ।
महावीर शमशेरको नक्सालस्थित दरबारमा केन्द्रीय कार्यसमितिको बैठक जारी थियो । त्यहीँ मातृकाले भने– ‘पार्टीले बीपीको पक्षमा निर्णय गर्यो भने पनि राजा र भारत दुवैले मान्दैनन् । भारतीय प्रधानमन्त्री नेहरूले ‘बीपीलाई हामी मान्दैनौँ’ भनेर राजालाई पत्र नै लेखेका छन्,’ पुस्तकमा उल्लेख छ ।
बीपीलाई गृहमन्त्रीबाट राजीनामा दिएपछि प्रधनमन्त्री बनाउने भनेर आश्वस्त पारिएको थियो । तर, बीपीले गृहमन्त्रीबाट राजीनामा दिएसँगै तत्कालीन राजा महेन्द्र शाह र भारतबीच उनलाई रोक्न मोर्चाबन्दी भएको थियो ।
यस्तै मातृका पनि भाइ बीपीलाई रोकेर आफैँ प्रधानमन्त्री बन्ने दाउमा राजा महेन्द्रसँग छलफलमा थिए । दाइ मातृकाले पनि राजीनामा दिनुअगावै आफूलाई प्रधानमन्त्री बनाउनका लागि राजा महेन्द्रसमक्ष बिन्ति गरेकोबारे बीपी अनभिज्ञ थिए ।
‘सरकारमा पार्टीको नेतृत्व गर्दै गृहमन्त्री भएकाले पार्टीको तर्फबाट आफैँ प्रधानमन्त्री हुनेमा उनी विश्वस्त थिए,’ पुस्तकमा लेखिएको छ, ‘तर, मोहन शमशेरको राजीनामापछि आफूलाई रोक्न राजा र नेहरू (भारतीय प्रधानमन्त्री जवाहरलाल) लागेको थाहा पाएपछि चकित भए ।’
पिता बीपी ००८ सालमा चकित भएजस्तै ७४ वर्षपछि शशांकले कांग्रेस बैठकमा आफ्नै काकाका छोरा शेखर (दाजु) माथि कारबाही गर्नुपर्ने प्रस्ताव गरेर अरूलाई चकित पारिदिएका छन् ।
उनले सोमबारको बैठकमा आफूले दाजु शेखर र उनीनिकट सांसदहरू शर्मा र बजगाईंलाई गृहमन्त्री लेखकको राजीनामा मागेको विषयमा पार्टीले स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव सभापति देउवासमक्ष गरेका छन् ।

‘हामीले के भन्यौँ भने सभापति शेरबहादुर देउवाजीलाई, तपाईंले उनीहरूलाई बोलाउनुस् र सोध्नुस् के भएको हो ? किन भने यसको त समाधान निकाल्नु पर्यो नि,’ शशांकले बैठकपछि भने, ‘एक आपसमा मुठभेड गरेर कसको फाइदा हुन्छ ? कांग्रेसको त कहिल्यै फाइदा हुँदैन । त्यसैले उहाँलाई बोलाउन्सु, सोध्नुस्, स्पष्टीकरण माग्नुस् । शेखर डाक्सापसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग ।’
तर, सभापति देउवाले यस विषयमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोध्नेबारे कुनै ठोस जवाफ नदिएको पनि उनले जानकारी दिए । ‘उहाँ (सभापति) ले हुन्छ, हुँदैन केही भन्नुभएन । हेर्छु भन्नुभयो,’ पूर्वमहामन्त्री कोइरालाले भने, ‘मलाई लाग्छ, त्यो गर्नै पर्छ ।’
शशांक बीपीपुत्र हुन् भने शेखर बीपीका सहोदर साइँला भाइ केशवपुत्र । दुवै नेताहरू पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने तयारीमा छन् । शशांकले सभापति देउवाको समर्थनमा कांग्रेसको भावी नेतृत्व लिन चाहिरहेका छन् ।
यस्तै अघिल्लो महाधिवेशनमा देउवासँग पराजित शेखर पनि सभापतिका लागि जिल्ला दौडाहामा छन् । जिल्ला दौडाहाकै क्रममा गत शनिबार गृहनगर विराटनगर पुगेका शेखरले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।
‘सबभन्दा इम्पोटेन्ट (महत्त्वपूर्ण) के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा छ नि त ’ उनको भनाइ थियो, ‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईंहरू भने भइहाल्यो ।’
गृह मातहतको अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’ मा भइरहेको भनिएको अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्री लेखकको नैतिकता प्रदर्शन हुने शेखरको भनाइ थियो । ‘त्यसले मोरल स्टेटस देखिन्छ,’ उनले भनेका थिए ।
प्रतिक्रिया