काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार अपरान्ह प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा युवाहरूसँग साक्षात्कार कार्यक्रम सकेर बाहिरिने क्रममा थिए ।
त्यहीबेला केही पत्रकारहरूको उनले सामना गर्नुपर्यो । राप्रपाले जेठ १५ गतेदेखि हुने राजसंस्था पुनःस्थापनाको आन्दोलनको सन्दर्भमा पार्टीका ४० वर्षमुनिका युवाहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको थियो ।
त्यही कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिने क्रममा उनलाई केही पत्रकारले सत्तारुढ नेकपा (एमाले) सँगको सम्बन्धलाई लिएर घेरी घेरी प्रश्न गरे ।
सुरूमा त उम्किने प्रयास गरेका लिङ्देन केही आक्रोशित हुँदै उत्तर दिन बाध्य भए । पछिल्लो समय लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टको संज्ञा दिँदै आएका छन् ।
तर लिङ्देन आफैं भने झापा क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेसँगकै तालमेलबाट नेपाली कांग्रेसका कृष्ट सिटौलालाई हराउन सफल भएका थिए । उता झापा ५ मा राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाएको थियो ।
२०७९ को निर्वाचनपछि ओलीकै पहलमा बनेको पुष्कमल दाहाल नेतृत्वको सरकारमा लिङ्देन नेतृत्वको राप्रपा पनि सहभागी भयो । लिङ्देन आफैं पनि ऊर्जामन्त्री बनेका थिए । तर त्यो सरकार केही महिना पनि टिकेन ।
त्यसपछि २०८१ असारमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा अरू दललाई सहभागी गराइयो तर राप्रपा र रास्वपालाई दक्षिणपन्थी र राजावादी भनेर पाखा लगाइयो ।
त्यसयता एमाले र कांग्रेसको सम्बन्ध यी दुई दलसँग बिग्रिएको छ । पछिल्लो समय प्रतिपक्षमा बसिरहेको राप्रपाले एमाले र कांग्रेस नेतृत्वको सरकारमाथि निशाना साँधिरहेको छ । अझ चैत १५ को प्रदर्शनपछि त राजावादीसँग दुई ठूला दलको सम्बन्ध शत्रुतापूर्ण बनेको छ ।
चैत १५ को तनाव नसकिँदै जेठ १५ देखि राजावादीले अर्को प्रदर्शन गर्न लाग्दा प्रधानमन्त्री ओली आक्रोशित छन् । राजावादीले पनि आफ्नो सरकारलाई भ्रष्ट भनिरहेपछि ओली निषेधकै विधि अपनाउने दिशामा अघि बढेका देखिन्छन् ।
जेठ १५ को प्रदर्शनलाई भव्य बनाउन खोजिरहेका लिङ्देनलाई सोमबार किशोर श्रेष्ठसहितका केही पत्रकारले एमालेसँगको सम्बन्धबारे चिढ्याउने गरि प्रश्न गरे ।
पत्रकारको प्रश्न पनि त्यही थियो, ‘जसको बुइ चढेर आएको, उसैको सरकारलाई कसरी भ्रष्ट भन्न सक्नु हुन्छ ?’ पत्रकरले एमालेको बुइ चढेको भनेपछि लिङ्देन केही आक्रोशित मुद्रामा देखिएर उत्तर दिन बाध्य भए ।
पत्रकारले एमालेको भोटले जितेर राजा ल्याउने कुरा जनताले कसरी पत्याउने ? तपाईं आफैं केपी ओली बोकेर हिँडेपछि हामीले कसरी पत्याउने ? आदि इत्यादि प्रश्न गरिरहँदा लिङ्देनले झोँक्किँदै जवफा दिए ।
‘केपी ओली पनि राप्रपाकै बुइ चढेर आएको हो । २०९ को चुनावमा कांग्रेस र माओवादी एउटा गठबन्धनमा थिए’, उनले भने, ‘त्यसबेला एमाले एक्लिएको थियो । एमाले एक्लै भएको अवस्थामा हामीलाई पनि मिलौँ भन्यो । त्यहीकारण हामी एमालेसँग मिलेर चुनाव लडेर जितेका हौँ ।’
उनले कांग्रेस-माओवादी गठबन्धनसँग एक्लै लड्दा नजितिने भएकाले एमालेसँग मिल्नु त्यसबेलाको राजनीतिक माग भएको बताए । ‘अर्को गठबन्धनसँग चुनाव लड्दा एक्लै जित्न सकिँदैन थियो । त्यही भएर त्यो बेलाको अवस्था हेरेर एमालेसँग मिलेका थियौँ’, उनले भने, ‘एमालेसँग चुनाव जित्न मिल्यौँ । तर अहिले उसकै एजेन्डा बोकेर हिँडेका छैनौँ । हामी राजसंस्था र हिन्दु राज्यको एजेन्डामा प्रष्ट छौँ ।’
लिङ्देनले राप्रपालाई सघाए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राजसंस्थाको मुद्दामा साथ नदिएको बताए । ‘केपी ओलीले राजसंस्थाको मुद्दामा साथ दिएका होइनन्’, उनले भने, ‘तत्कालीन अवस्थामा तालमेल गरेर चुनाव जित्यौँ । अहिलेको अवस्थामा एमाले र हाम्रो अलग अलग एजेन्डा छ । अहिले हामी राजसंस्थाको मुद्दा लिएर आन्दोलित छौँ ।’
त्यसक्रममा उनलाई पत्रकारले वि.सं. २०८४ मा पनि एमालेसँगै मिल्ने भनेर पनि सोधे । जवाफमा लिङ्देनले यो प्रश्न गर्न अहिले हतार भएको बताए ।
‘०८४ को कुरा अहिले भन्ने होइन, पछि कुरा गरौला तपाईं जानुस्’, उनले भने, ‘कुरा बुझ्नुस् सदन यात्रा तय भइसकेपछि हिजो चुनावमा सहकार्य गरेको दलसँग पनि घोचपेच हुन्छ ।’ लिङ्देनले ०८४ को निर्वाचनमा एमालेसँग तालमेल हुने नहुने कुराको भने केही जवाफ दिन चाहेनन् ।
प्रतिक्रिया