भोक मार्ने ओखती उमार्ने असार | Khabarhub Khabarhub

भोक मार्ने ओखती उमार्ने असार

माटोको यज्ञमा झरीको चरु 



प्रिय न्यान्सी !

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु । तप तप पानीको बाछिटा सङ्गीतको सारेगमभन्दा कम छैन । हाम्रा पुराना गायक मास्टर रत्नदास प्रकाशले प्रकृतिको झङ्कारलाई सङ्गीतमा उनेर कालजयी गीत बनाए । कविले कविता लेखे । सोमरसका पारखीहरूले गजलका ताना लगाए । अर्थशास्त्रीहरूले नाफा नोक्सानको ठेली पल्टाए । जागिरेहरूले विगत र वर्तमानको केस्रा केलाए । किसान खेतका गह्रामा परेड खेल्न निस्किए । असार मानो रोपेर मंसिरमा मुरी भित्र्याउने सपना बाँच्ने महिना हो । अर्को भाषामा भन्दा सिर्जना हो असार, मनोरञ्जन हो असार, संस्कृति हो असार अझ भनौँ भोक मार्ने ओखती जन्माउने साइत हो असार ।

बाउसेले रोपाहारलाई हिलाम्य खेतमा खाल्डो खनेर लडाउने मनोरञ्जनको आनन्द न बेबिलोनको झुलन बगैँचाले दिन्छ, न त बुर्ज खलिफा टावरको अग्लाइले नै । भनिन्छ, विश्वमा मानव निर्मित सात आश्चर्य छन् । तर म त ठोकेर भन्छु– माटोसँगको सामीप्य आठौँ आश्चर्य हो । त्यसले दिने आनन्द आमाको काखभन्दा मधुर हुन्छ ।

तिमीलाई लाग्ला एआईको युगमा हिलो माटो बखान ! हो नि, अहिले मुटु रोगीलाई समेत चिकित्सकले हिलोमा खेल्ने र लेप गर्ने कोर्स दिने गरेका छन् । हाम्रा प्राकृतिक उपचारका विधि जल, वायु र वनस्पतिसँग आश्रित छन् ।

तिमीजस्तै सौखिन जीवन बाँचेका युवतीहरू हाम्रो पर्यटकीय गन्तव्य पोखरामा रोपाहारको स्वाद लिन असार १५ को हुटहुटीमा रहन्छन् । हिलोको अक्षता र बीउको सगुन थाप्दा तिनीहरू धन्य हुने गरेका छन् । मेसो मिलाएर हाम्रो गाउँको बेठीमा तिमीलाई छमछमी नचाउने उत्कट इच्छा छ ।

खेतको हिलाम्य गह्रामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको पञ्चेबाजा तालमा हाकुपटासीमा तिमीलाई सजाउँदा कस्तो देखिएला ? त्यो अनुष्ठानको पुजारी बन्ने धोको छ । यसखाले इन्द्रेणी दृश्यले तिमीलाई साकिराको मादकता भुलाउने छ । तिम्रो देशका कालजयी प्रतिभा जेम्स ब्राउन, एल्भिस प्रिस्ले, जोन लिजेन्ड, जिमि हेन्ड्रिक्सका सिर्जना फिका लाग्नेछ । बीउको मुठा छप्ल्याङ , छप्ल्याङकाे आवाजले अर्केस्ट्रा धुन बिर्साउने छ । असारको साइतमा जुनकिरीको बत्ती र झ्याउँकिरीको कोरसका अगाडि सङ्गीतको सात सुर बेसुर बन्न बेर लाग्ने छैन ।

तिमीलाई इतिहासको एउटा रोचक परिघटना शेयर गर्छु ल । हाम्रो इतिहासका नायक जंगबहादुर तिमीहरूकी महारानी भिक्टोरियाको निम्तोमा बेलायत गएका थिए । उनले दैनिक पूजाआजा गर्न पिपल र गाईसँगै लगेका थिए भन्ने सुन्दा अनौठो लाग्ला । हो, जीवनलाई अनुशासनमा अनुवाद गर्नेहरू यस्तै कठिन ब्रतमा विश्वास गर्छन् ।

अंग्रेजी नबुझ्ने जंगबहादुरलाई महारानीले अंग्रेजी गीत बजाएर भोज ख्वाइछन् । गीत सुनेर जंगबहादुर पनि मच्चीमच्ची नाचेछन् । यो देखेर आश्चर्य मान्दै महारानीले सोधिन्– ‘अंग्रेजी नबुझ्ने तपाईँ कसरी मच्चीमच्ची नाचिरहनु भएको छ त ?’ जंगबहादुरको चलाखी प्रतिप्रश्न थियो– ‘त्यसो भए तपाईं चराले बोलेको बुझ्नुहुन्छ ?’ अहँ । जंगबहादुर बोल्दै गए– ‘तर तपाईँलाई चराको आवाज त मिठो लाग्छ नि हैन ? हो, मलाई नबुझेकै संगीतले पनि आनन्द दिएको छ ।’ लौ भन त पढेका मूर्खहरूले यस्तो चलाखी जवाफ देलान् त न्यान्सी ?

इतिहासको पोको पनि विचित्र छ है ! कति इतिहास कहालीलाग्दा हुन्छन् भने कति चार्लिन च्याप्लिनको सिनेमा हेरेजस्तो । हामी यतिबेला झरीको रौसमा छौँ । हिलोको व्याकरणमा रोपोको गीत गाउनेहरूको रहर आफैँमा विचित्र छ । हो, हामी प्रकृतिका पूजक हौँ । माटोमा यज्ञ गर्नु धर्म, कर्म दुवै हो । प्रकृतिका दुई उत्सव गर्मी र जाडो हाम्रा लागि उस्तै छ । ज्ञानी मान्छेले प्रकृतिका यी सुन्दर उपहारलाई समान रूपमा लिनुपर्छ रे !
रातोमा भन्नु त्यो गेरु माटो पहेँलो बेसार 
पूर्वको ढोका उघारी हेर्दा लागेछ असार 
असारलाई कुटेको चिउरा कति दिन साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ?

असारको माटोमा हाम्रो सङ्गीत यसरी पोखिन्छ । गीतभित्र भोगाइका व्यथा छन् । घरभित्रका तीतापीरा छन् । ताउलोमा झ्वाईँ पार्न नसकिएका पीरव्यथा छन् । गुन्यू र मजेत्रो फेर्न नसकिएका विवशता छन् । सासु–बुहारीका ठुस्काठुस्की छन् । छानो टाल्न इरान, इराक, इजरायल पुगेकाहरूको भत्किँदो सपनाका चाङ थपिएका छन् ।  मानिस उही छ, कथाका बान्की फेरिँदो छ । पहिलापहिला पाप धुरीबाट कराउँथ्यो, धुरी भएका घर नभएपछि पाप पनि बाटो फेरेर साइबरतर्फ सरेको छ ।

​​​​​​​गर्मीमा जाडो र जाडोमा गर्मी त्यही मानिस कलियुगको सहारा लिएर कुतर्कको पहाड उभ्याउँछ । दुःखभित्र सुख र सुखभित्र दुःख खोज्नु उसको नियति हो । मानिसका गुनासा बीचमा पनि प्रकृति आफ्नो स्वधर्ममा अडिग छ । गर्मीले उकुसमुकुस भएको वातावरणमा पानीका छ्टिाहरू यसरी बर्सँदैछन्, मानौँ त्यहाँ जीवन बर्सिरहेको छ । आलसतालस बिरामीलाई स्लाइन चढाएर नयाँ स्फूर्ति दिएजस्तै ।

असार यसको नामजस्तो निस्सार र खोक्रो छैन । सारपूर्ण छ । नत्र असार १५ दही च्यूरा खाने पर्वका रूपमा स्थापित हुने थिएन ।

राजनीतिको तमासाले तातेको राजनीति असारे झरीले पनि सेलाएको छैन ।  आस्थाका बगैँचाहरूमा खडेरी पर्न थालेको छ । सबै सबैतिर एउटा अतृप्‍त तिर्खा दिनदिनै बढिरहेको छ । र, यो बेला तप्लक तप्लक खसिरहेका शीतल छिटाहरू पानीमात्र नभएर सञ्जीवनी जस्ता लागिरहेका छन् । खडेरीमा प्राणवायु बनेको जल रोपाइँ गर्न कस्सिएका रोपाहार र बाउसे मात्र हैन, सबैलाई एउटा उत्साह र आशा बनेको छ । पानीको दर्केनीले कतै टाढा पुगेको आफ्नो मान्छेको सम्झनालाई अझ ताजा र जीवन्त बनाएको छ । त्यही भएर असारसँग सङ्गीतले बोक्ने प्रेमको सिसार अपार छ । 
काटेर खानु सुपारी दाना बेल खानु फोरेर
हाँस खेल गर ए कान्छी नानी के लान्छ्यौ मरेर
कतिमा जाती खेतका मालिक मुहार हँसिलो
बोली र बचन त्यस्तै छ मिठो जीउडाल कसिलो ।

असार यसको नामजस्तो निस्सार र खोक्रो छैन । सारपूर्ण छ । नत्र असार १५ दही च्यूरा खाने पर्वका रूपमा स्थापित हुने थिएन । असार रसपूर्ण पनि छ । झमझम पानी परिरहेका बेला एक्लै घोत्लियौ भने रोमाञ्चक भावनाहरू आउँछन् । तिमीलाई केही लेखौँ लेखौँ लाग्नेछ । ठोकेर भन्छु– थाहै नपाई तिमी गुनगुनाउन थाल्नेछ्यौ र पानीको दरर्र आवाजसँगै कविता जन्मन्छन् । गीत कोरलिन्छन् । हार्मोनियममा सारेगमको छन्द ओल्टाइपल्टाई गर्दागर्दै एउटा नयाँ धुन निस्कन्छ । क्यानभासमा ब्रसहरूको रङ्गीन  नृत्य सुरु हुन्छ । अनि, तिमी आफ्नो सिर्जनादेखि आफैँ फुरुङ्ग पर्छ्यौ  ।

मलाई लाग्दैन तिम्रो भूगोल यति भाग्यमानी छ । पात बजाएर प्रेम बर्साउने संस्कृति निसन्देह नेपालमा मात्रै छ । यदि यस्तो सुविधा तिमीहरूको परिवेशमा हुँदो हो त विस्टन चर्चिल प्रेम अस्वीकृत भएकै कारण जिन्दगीभर दिल भाँचेर बस्नुपर्ने थिएन । खेतका गह्रामा पनि प्रेम अंकुरित हुन सक्थ्यो । आइतबारे पाखामा जुहारी खेल्दा होस् या घलेगाउँमा रोदी बस्दा प्रेमले पखेटा हाल्न सक्थ्यो । यही हिसावकिताब नमिल्दा उनका प्रेमपत्र अन्ततः संग्रहालयका पाहुना हुन विवश भए । जुन प्रेमपत्रमा बिलौना गर्दै उनी भन्छन्– ‘तिमी आफ्नो घरको ढोका मेरा निम्ति बन्द नगर । म जति पनि धैर्य गर्न सक्छु । म असल बन्ने लाख कोसिसमा छु । अनौठो लागिरहेको छ– किन तिमी मेरो मर्म बुझ्ने प्रयास गर्दिनौ ? तिम्रो लागि मेरो मन मस्तिष्कमा उच्च ठाउँ छ । आशा गर्छु– भाग्यले मलाई साथ दिनेछ ।’

असार प्रकृतिको भाषा हो । प्रकृतिको बिम्ब बुझाउने भाका पनि हो । अनुहारको भावभङ्गिमा जस्तै, आँखाको भाकाजस्तै निधारको खुम्चाइ र ओठको चाल जस्तै ।

शक्तिशाली योद्धा नेपोलियनले युद्ध मैदानबाट आफ्नी प्रेमिका जोसेफिनलाई लेखेको पत्र उत्तिकै टिठलाग्दो छ । प्रेमको याचक हुँदै भन्छन्– ‘हृदयेश्वरी, मेरो कुनै पनि रात यसरी बितेका छैनन्, जब म तिम्रो प्रेममा नतड्पेको हुँ । हरेक रात तिमीसँग टाढा रहेर पनि मैले तिम्रो आलिङ्गनमा बिताएको छु । चियाको हरेक घुट्कोको साथमा मैले आफ्नो आडम्बरी झुटो अहंलाई धिक्कारेको छु । आफ्नो महत्वाकांक्षालाई चिथोर्न चाहेको छु । किनकी यी दुई कुराले मलाई बलपूर्वक तिमीबाट अलग गराइदिएको छ । आफ्नो कर्तव्यलाई निर्वाह गरेको समय चाहे म आफ्नो सेनाको नेतृत्व गरेको समय चाहे सैनिक छाउनी निरीक्षण गरको समयमा होस्, मेरो हृदयको सिंहासनमा प्रिया जोसेफिन तिमी नै विराजमान छौ ।’

सम्राट नेपोलियनले युद्ध मैदानबाट लेखेको पत्रमा करुण भाव र आराधना पाइन्छ । प्रेमको दरबारमा नेपोलियनजस्ता सम्राट पनि भिखारी बन्न सक्छन् । प्रेम सर्वशक्तिमान् अदृश्य शक्ति हो । शेक्सपियर, इलियट, टल्सटाय, बर्नाड शा, जाँ पाल सार्त्रजस्ता प्रसिद्ध साहित्यकारहरू हुन् या हिटलरजस्ता तानाशाह नै किन नहुन् उनीहरूका प्रेमालाप र प्रेमपत्रको चर्चा अद्यावधि हुने गरेको छ । मलाई लाग्छ, उनीहरूले हामीले पाएजस्तै असारे हिलोको सङ्गत पाएको भए त्यो प्रेम कति प्रेमिल र हार्दिक हुने थियो ।

वर्षा प्रकृतिको जीवनदायिनी उपहार पनि हो । मेघमालाहरू प्रेम र स्नेहका खानी हुन् । लाग्छ, आकास र बादलका गुत्थीहरू आँखा र आँखाका नानीहरू हुन् । र, वर्षा बादलकी रानीले वर्षाएको हर्षाश्रु हो । झरी उनै रानीको गीत गुञ्जन हो । कहिलेकाहीँ झडङ्ग रिसाउँदा त्यही गीत मुसलधारे वर्षा बनेर ओइरिन्छ । तर, चोखो र स्नेहपूर्ण छ बादलको अनुकम्पा । असार हरेक वर्ष त्यो आशीर्वाद लिएर आउँछ । कहिले गीत बनेर आउँछ । कहिले सङ्गीत बनेर आउँछ ।

जब झम्झम् झरीसँगै धर्तीका पाटा पाटा भिज्न थाल्छन् अनि मानो रोपेर मुरी फलाउनेहरूको खेतका आलीआलीमा मार्चपास सुरु हुन्छ । असार प्रकृतिको भाषा हो । प्रकृतिको बिम्ब बुझाउने भाका पनि हो । अनुहारको भावभङ्गिमा जस्तै, आँखाको भाकाजस्तै निधारको खुम्चाइ र ओठको चाल जस्तै । असारले त्यस्तै अनुभूतिजन्य थुप्रै भाकाहरू बोकेको छ । तिमी आँखाको भाका कतिको बुझ्छ्यौ कुन्नि ? एक्लै हुँदा मन खोलेर बोल्ने ती प्रिय मान्छेहरू समूह वा अरूका अघिल्तिर बोल्न हिच्किचाइरहेका हुन्छन् । त्यतिखेर नियालेर आँखामा हेर त्यहाँ थुप्रै अभिव्यक्तिहरू पाउँछ्यौ । आँखाले प्रश्न गर्छ, जवाफ दिन्छ र आँखाको जिज्ञासाले अधैर्य बनाउँछ मान्छेलाई । धेरैजसो मनको भाका आँखाले नै प्रकट गर्छ ।

चाहनालाई अठोटका रूपमा रूपान्तरित गर्ने मन, रुचि अनि छनोटलाई उद्देश्य र संकल्प बनाउने मन । त्यो पनि आँखाबाटै बोलिरहेको हुनसक्छ । त्यस्तै आँखा हो असार । त्यो आँखा मान्छेको आँखाजस्तै भावपूर्ण बनोस् । असार इन्द्रेणीजस्तै बनोस् । इन्द्रेणी असारजस्तै बनोस् । 
तिमीलाई माया गर्ने

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ८ : ०० बजे

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका मूल नेता तथा

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने

काठमाडौं– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

काठमाडौं– गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक