हेडलाइन…
अनुबन्ध हुँदा हाइलाइट मिस पबी प्रचार सामाग्रीमा गायब
६१ लाख फन्डामा माफी माग्न बाध्य भए निर्देशक ऋषि लामिछाने
सुस्ताएको फिल्मी व्यापार उकास्ने अवसर छ यी फिल्मलाई
र, हुबहु शब्द नक्कल गरिएको गीत गाए खेम सेञ्चुरीले

खेमको आलोचना
अहिले गायक खेम सेञ्चुरीको करिअरको ग्राफ उकालो लागिरहेको छ । भ्वाइस अफ नेपालको जज बने, गीत लगातार हिट भइरहेका छन् ।
फिल्ममा पनि उनको स्वर बिक्न लागेको छ । खेमकै भनाइअनुसार उनको स्वर रहेको गीत समावेश पहिलो फिल्म ‘कोशेढुङ्गा’ हो ।
तर, उनी अर्काको शब्द चोरेको गीत गाएको आरोपमा आलोचित बनेका छन् । गीत ‘कृष्णजीको मुरली’मा स्वर र संगीत दिएका कारण उनी आलोचित बन्नु परेको हो ।
‘मायाले त हँसाउन पर्ने, ढुङ्गा पनि रसाउन पर्ने’ उक्त गीतमा प्रयोग भएको शब्द ‘डाँफे नाँचेर’बोलको पुरानो गीतसँग हुबहु मिल्छ ।
कुनै समयको सुपरहिट गीत ‘डाँफे नाचेर’को लेखक एक नारायण भण्डारी हुन् । यो शब्द नक्कल गरिएको गीतको लेखक नेत्र अर्याल हुन् ।
सोहीकारण शब्द नक्कल गरेको आरोप नेत्रलाई जान्छ । तर, संगीत र स्वर दिएका कारण खेममाथि पनि नैतिक प्रश्न स्वाभाविक उठ्छ ।
नभन्दै सामाजिक सञ्जालमा उनीमाथि नैतिक प्रश्न उठ्न सुरु भइसेकको छ ।
कुनै समयको सुपरहिट गीत ‘डाँफे नाँचेर’ खेमले सुनेका छैनन भनेर कसरी पत्याउनु ? तथापि यसरी शब्द चोरिएको गीतमा स्वर र संगीत दिने आँट उनले कसरी गरे होलान् ? खेमप्रति प्रश्न तेर्सिएका छन् ।
‘यो अग्रजमाथिको अपमान हो । खेमबाट अनपेक्षित गीत पाइयो । यो दर्शकमाथिको धोका हो’ भन्नेसम्म टिप्पणी देखापरेका छन् ।
‘माग्ने राजा’को प्रचार सामाग्रीमा मिस पबी गायब
मिस पबीको ठूलो पर्दामा डेब्यू रहने भनिएको फिल्म ‘माग्ने राजा’ प्रदर्शनको संघारमा छ । अहिले यस फिल्मको प्रचारको काम भइरहेको छ ।
प्रचार सामाग्री स्वरुप फिल्मका दुई पोस्टर, दुई गीत र टिजर सार्वजनिक भइसक्यो ।
सामाजिक सञ्जालमा चर्चित प्रोफाइल भएकाले मिस पबीलाई फिल्ममा अनुबन्ध गर्दा निर्माण पक्षले हाइलाइट गरेको थियो । उनी मुख्य भूमिकामै रहेको बताइएको थियो ।

तर, यति धेरै प्रचार सामाग्रीमा मिस पबी अटाएकी छैनन् । अनुबन्ध हुँदा हाइटलाइट गरिएकी उनी प्रचार सामाग्रीमा गायब छिन् ।
छायाङ्कनमा पुगेपछि अभिनय गर्न नसक्दा भूमिका छोट्याइएकाले उनी प्रचार सामाग्रीबाट गायब भएको बुझिएको छ । अर्थात्, अभिनय गर्न नसकेकाले उनको भूमिका पूर्वनिर्धारितभन्दा छोटो बनाइएको चर्चा छ ।
तर यहाँ अर्को शंकाको स्थान भेटिएको छ । प्रचार सामाग्रीमा गायब बन्दा कतै उनलाई फिल्मबाटै त निकालिएको होइन ? प्रश्न उब्जिएको छ ।
यसबारे खबरहबले निर्देशक ऋषि लामिछानेसँग जिज्ञासा राखेको छ । उनले मिस पबीलाई फिल्मबाट निकालिएको चर्चा झुटो रहेको बताए ।
उनले भने, ‘उहाँ फिल्ममा हुनुहुन्छ । भूमिका पनि छ । पोस्टरमा पनि उहाँको नाम राखिएको छ ।’
मिस पबी प्रचार सामाग्रीमा मात्रै होइन प्रचारका कार्यक्रममा सहभागी छैनन् । ‘यसको कारण के हो त ?’ भन्ने प्रश्नमा निर्देशक लामिछाने भन्छन्, ‘उहाँ व्यस्त भएर हो ।’
अर्थात्, निर्देशकका अनुसार मिस पबीलाई फिल्मबाटै भने निकालिएको छैन । तर, कमजोर अभिनय क्षमताले मिस पबी यति धेरै चर्चाको पात्र बनेकी छन् ।
छोट्याइको भूमिकामा उनले कस्तो काम गरेकी छन् , त्यो थाहा अब धेरै दिन बाँकी छैन । भदौ ६ मा ‘माग्ने राजा’ प्रदर्शनमा आउँदैछ ।
जिग्री र पाँडेको सम्बन्ध बिग्रियो

टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण बन्द भएको करिब ४ महिना भयो । प्रसारण बन्द भएको जानकारी दिँदा यस सिरियलका लेखक तथा निर्देशकद्वय कुमार कट्टेल र अर्जुन घिमिरे पाँडेले परिष्कृत गरेर यही सिरियलको नयाँ सिजन ल्याउने बताएका थिए ।
चार महिना बित्यो । यो सिरियल प्रसारणमा आएको छैन । दर्शकले सिरियलबारे चासो राखेका छन् ।
यहाँ रोचक कुरा – जिग्री र पाँडे दुवै सिरियल पुन प्रसारणबारे बोल्न चाहँदैनन् । उनीहरु दुवैले अवस्था कठीन रहेकाले सिरियल बारे बोल्न नमिल्ने खबरहबलाई बताए ।
अर्थात्, सिरियल पुनः सुचारु हुनेमा अन्योल छ । पाँडे नयाँ फिल्मको ‘झरीपछिको इन्द्रेणी’ निर्देशनको तयारीमा छन् । यसले पनि यो सिरियल तत्कालै सुचारु हुने सम्भावना कम देखिन्छ ।
स्रोतका अनुसार अहिले जिग्री र पाँडेको सम्बन्ध सुमधुर छैन । पाँडेको फिल्ममा जिग्री कुनै पनि जिम्मेवारीमा नरहने सम्भावना उच्च रहेको स्रोत बताउँछ । यही अवस्थामा कसरी सिरियल आइहाल्ने ग्यारेन्टी देखिँदैन ।
त्यहीमाथि ‘सक्किगोनी’का कलाकार समेत रहेका कमलमणि नेपालले त सार्वजनिक स्थानमै सिरियल पुन सुचारु हुने सम्भावना कम रहेको बताइसकेका छन् ।
अब भविष्यमा के हुन्छ– त्यो जिग्री र पाँडे कि भगवानलाई नै थाहा होला ।
माग्ने राजाका निर्देशकले मागे माफी

फिल्म कला देखाउने स्थान हो । यहाँ चर्चिकला देखाइयो भने आफैँलाई घाटा हो । स्थापित हुने कलाले नै हो । चर्चिकता फगत एक दुई दिनको तडकभडक हो ।
यो भाष्य ‘माग्ने राजा’का निर्देशक र निर्मातामा लागु भएको देखिन्छ । केदारलाई ६१ लाख पारिश्रमिक दिएको झुटो दाबीको चर्तिकलाले अहिले उनीहरु नैतिक संकटमा छन् । यो फन्डाले फिल्मलाई ब्याकफायर गरेपछि निर्देशक माफी माग्न बाध्य भएका छन् ।
केदार घिमिरे माग्ने बूढा असार ६ देखि २२ गतेसम्मका १६ दिन देशका महँगा कलाकारमा गनिए ।
निर्माता मुनाल घिमिरेले कसम खाएरै केदारलाई ६१ लाख पारिश्रमिक दिएको दाबी गरेपछि उनी महँगा कलाकारमा गनिएका हुन् ।
तर, पारिश्रमिकको दाबी झुटो भएको उनै कलाकार केदारले सार्वजनिक गरे ।
‘६१ पारिश्रमिक’ बुझेको खबर बाहिरिएपछि फिल्म र केदार लक्षित नकारात्मक टिप्पणी बढ्न थाले । एक हिसाबले भन्ने हो भने फिल्मलाई ब्याकफायर नै गर्यो ।
केदारको खुलासापछि फिल्मप्रति नकारात्मक टिप्पणी झन् बढ्दो छ । यसले रिलिजको संघारमा रहेको फिल्म ‘माग्ने राजा’लाई नै संकटमा पारेको छ ।
सोमबार फिल्मको गीत रिलिज कार्यक्रममा निर्माता मुनाल घिमिरे मिडिया सामु बोल्नै सकेनन् । सायद झुट बोलेको लाजले होला !
उनलाई माइक पनि दिइयो । मात्रै उनले फिल्मको प्रदर्शन मिति ‘भदौ ६’ दोहोर्याई तेहेर्याई बोले ।
निर्देशक ऋषि लामिछाने भने पत्रकारहरुसँग माफी नै मागे । उनले भने, ‘म सबैको खुट्टा छोएर माफी माग्छु । हामीबाट गल्ती भयो ।’
साउन र भदौंको रिलिज क्यालेन्डर

यो वर्षको एक्लो हिट फिल्म ‘ऊनको स्वीटर’ हो । यो फिल्म न्युन शोका साथ ७६ दिनमा प्रदर्शनरत छ ।
असारमा एक मात्रै नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आयो र त्यसले पनि सुखद व्यापार गर्न नसक्दा हलमा अहिले विदेशी फिल्म हाबी छन् ।
सुस्ताएको नेपाली फिल्मको व्यापार उक्सने अवसर र दबाब अब प्रदर्शनमा फिल्महरुलाई छ ।
साउनको तेस्रो शुक्रबार १६ गते फिल्म ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउँदैछ । विभोर पोखरेलको निर्देशनमा नबेको यस फिल्म एक मात्र स्टार कलाकार निता ढुङ्गाना छिन् ।
त्यस्तै साउन २३ गते फिल्म ‘सिटामोल’ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा नायक सौगात मल्ल र नायिका वेनिशा हमाल शीर्ष भूमिका छन् । यसको निर्देशक राजबहादुर साने हुन् । कथा निर्देशक सानेले प्रदीप भारद्धाजसँग मिलेर लेखेका हुन् ।
नायक पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाह स्टारर फिल्म ‘मोहर’ पनि साउन २३ मै प्रदर्शनमा आउँदैछ ।
हलमा देखिएको नेपाली फिल्मको व्यापारको खडेरी तोड्ने अवसर यी तीन फिल्मले पाएका छन् । सँगै, हलमा विदेशी फिल्मको हाबी तोड्न यी फिल्मलाई उच्च अकुपेन्सी लिनुपर्ने दबाब देखिन्छ ।

त्यस्तै, भदौका सबै रिलिज डेट भने प्याक छन् । पहिलो शुक्रबार भदौ ६ गते फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ एक साथ प्रदर्शनमा आउँदैछ ।
भदौ १२ गते फिल्म पूर्णबहादुरको सारङ्गीका निर्देशक सरोज पौडेललको निर्देशन रहेने ‘कोशेढुङगा’ प्रदर्शनमा आउने तय भएको छ ।
कलाकार खड्कबहादुर पुन शीर्ष भूमिकामा रहेको फिल्म ‘चिठी’को प्रदर्शन मिति भदौं २० लाई तोकिएको छ । यही मितिमा दयाहाङ राई र रिश्मा गुरुङ शीर्ष भूमिकामा रहेको फिल्म ‘रिमै’ पनि प्रदर्शनमा आउने भएको छ ।
त्यस्तै, नायक कामेश्वर चौरसिया, नायिकाहरु सरिता गिरी, गौमाया गुरुङ र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा रहेको फिल्म ‘अभिमन्यू’ भदौंको अन्तिम शुक्रबार २७ गते प्रदर्शनमा आउँदैछ ।
सरसर्ती हेर्दा भदौंमा फिल्मको मारामार देखिन्छ । तर यी सबै फिल्म तोकिएकै मितिमा प्रदर्शनमा आउँछन् भन्ने ग्यारेन्टी चाहिँ छैन । विगतको अभ्यासले यो शंकाको सुबिधा दिएको छ ।
प्रतिक्रिया