मुस्ताङ– प्रतिकूल मौसम र जेन-जी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
अनुकूल मौसमसँगै पर्यटकीययाम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
सो क्षेत्रमा उडान भर्दै आएका निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले उडान स्थगित गरेकामा करिब एक महिनापछि समिट एयरको ट्वीनअटर जहाजले नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीले जानकारी दिए ।
प्रतिकूल मौसम र जेन-जीद्वारा गरिएको प्रदर्शनपछि तीन हप्ता उडान स्थगन गरिएकामा आजदेखि नियमित सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।
पोखरा–जोमसोम नियमित हवाई सेवा सञ्चालनमा आएसँगै पहिलो दिन समिटका जहाजले दुईवटा उडान भरेका छन् । यहाँ १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको स्टेसन इन्चार्ज थकालीले जानकारी दिए ।
‘जेन-जी प्रदर्शन हुनुअघि पोखरा–जोमसोम हवाई सेवा प्रतिकूल मौसमका कारण उडान हुनसकेको थिएन । प्रर्दशनपछि भारतीय सीमानाका बन्द गरिएपछि टिकट बुकिङ गरेका पर्यटकले पनि टिकट रद्द गरेसँगै हवाई सेवा प्रभावित बनेको थियो’, उनले भने ।
हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेसन इन्चार्ज थकालीले जनाए ।उनले भने, ‘प्रदर्शनपछि परिस्थिति सामान्य बन्दै जान थालेको छ, विदेशी पर्यटकको बुकिङ पनि भइरहेको छ, अब समिट एयरलाइन्सको जहाजले नियमित सेवा रोक्दैन, यहाँ हवाई पर्यटक बढेपछि उडानसमेत वृद्धि हुँदै जानेछ ।’
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले स्थगित पोखरा–जोमसोम हवाई सेवा आजदेखि नियमित सञ्चालनमा आएको उल्लेख गरे ।
समिट एयरलाइन्सका जहाजले दुई उडान र माउन्टेन वायर फायर तालिम सकिएर फर्किन लागेका स्वदेशी तथा विदेशी सेनालाई लिन नेपाली सेनाको ट्वीनअटर जहाज जोमसोम अवतरण भएका उनले जानकारी दिए । रासस
तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेसन इन्चार्ज सुजन लालचनले बताए । उनका अनुसार यहाँ तारा एयरलाइन्सले आगामी अक्टोबर १ देखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रतिकूल मौसम र जेन-जी प्रदर्शनले उत्पन्न परिस्थितिका कारण प्रभावित बनेको पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ ।
जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले प्रदर्शनका कारण सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया