आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ « Khabarhub

जेन-जी आन्दोलनका सहिद :

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ? जेन-जी आन्दोलनका सहिद शुभराम बलामीले आमा भगवती बलामीलाई आन्दोलनमा जानेबारे केही भनेनन् । घुँडाको बिरामी आमा भगवती अहिले पनि एक्लो छोरा शुभरामलाई सम्झिएर पीर गर्छिन् ।  

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे। केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए । त्यसका लागि ‘मेनपावर’ कम्पनीलाई राहदानीसमेत बुझाइसकेका थिए  । त्यसको प्रक्रियाका लागि गाउँबाटै काठमाडौँ आवतजावत गर्थे । 

‘मेडिकल’ गर्ने, कागजपत्र मिलाउनेलगायत काममा लागि लागिरहेका एक युवा शुभरामको भौतिक चोला गत भदौ २३ गतेको जेन-जी आन्दोलनमा क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर दुःखद अन्त्य भएको थियो । निधनको खबर ‘टिकटक’ मा देखेपछि साथीभाइ र छिमेकीले आमा भगवतीलाई देखाए ।

आमा भगवती बलामी ‘मेरै छोरो हो’ भन्दै रुन थालिन् । सहिद शुभरामकी बहिनी सुनिता बलामीलाई पनि तुरुन्तै माइतीघर बोलाइयो । शुभरामको खप्परमा गोली लागेर वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सोही दिन राति पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो । 

बिहान आफैँले खाना पकाएर खुवाएको छोरा शुभराम बेलुका फर्कनेमा आमा भगवती बलामी ढुक्क नहुने कुरै भएन । बेलुका पनि खाना पकाएर कुरेर बसेको तर त्यहीबेला मृत्युको भिडियो हेर्नुपरेको आमा भगवतीले बताइन् । 

छोराका सम्झना गराउँदा झन् पीडा हुने त हुन्छ नै तर पनि ४५ वर्षीय आमा भगवती बलामीले गर्दै भनिन्, ‘साथीहरुसँग लागेर आन्दोलनमा गएको रहेछ । मलाई केही भनेको थिएन । ‘म्यानपावर’ जान्छु भनेको थियो । अरु साथीहरु लुकेर बाँचेछन् । ऊ कता कसरी गोली खान पुग्यो थाहै भएन ।’

उनले आफूलाई छोरा शुभरामको बेस्सरी सम्झना आइरहने बताउँदै भनिन्, ‘सम्झना त कति आउँछ । आउँछ । बेलुकाबेलुका भएपछि छोरा घर आउँला कि जस्तो लाग्छ…। बुबाले लगाएको ऋण जसरी पनि तिर्न विदेश गएर कमाउने उसको धोको थियो । त्यो अधुरै रह्यो ।’ 

विदेश गएर केही कमाएर फर्किएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने आमाको चाहनामा पनि गहिरो चोट पर्न गएको छ । नेपाल सरकारले जेनजी आन्दोलनका सहिदलाई दिने निर्णय गरेको क्षतिपूर्तिबापत रु १० लाख अन्य खर्च रु पाँच लाख गरी रु १५ लाख शुभरामको परिवारले पनि पाएको छ । त्यो राहतले ऋण तिर्न र घर खर्च चलाउन मद्दत नै भएको शुभरामको परिवारको भनाइ छ ।

शुभरामका पिता रामकृष्ण बलामी वित्तीय संस्थामा धरौटी राखिएको घर जग्गाको ऋण तिर्न नसकेर पारिवारिक बेमेलका कारण विदेशमा गएर बसेको पनि ११ वर्ष भइसकेको थियो । पिता रामकृष्णले घरपरिवारसँग नियमित सम्पर्क नगर्दा उनीहरुको परिवारलाई एक प्रकारको समस्या भइरहेको थियो । अविवाहित शुभराम ऋण तिर्ने र राम्रो आम्दानी गर्ने सोचका लागि मलेसिया जाने तयारीमा थिए । शुभरामका पिताका तीन भाइको गाउँमा सगोलमा नौ/दश रोपनी जग्गा छ । त्यहीमध्येको केही जमिनमा भगवतीले खेती गर्ने गर्थिन्। मल हाल्न र पानी लगाउन सके धान, गहुँको उत्पादन ठिकै हुन्छ । 

कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी भगवती बलामी अहिले कान्छी छोरीलाई साथमा लिएर घरखेत गरेर बसेकी छन् । श्रीमान् रामकृष्ण बलामी ‘विनासकारी भूकम्पपछि ऋण लगाएर कहाँ जाने, के गर्ने केही सल्लाह नगरी फुत्त घरबाट निस्किएको र छोरा बित्नुअघिसम्म सम्पर्कमा नआएको’ भगवती बलामीको गुनासो रहेको छ । 

छिमेकी जिल्ला काठमाडौँको धारापानी माइत भएकी भगवतीको १६/१७ वर्षकै उमेरमा रामकृष्ण बलामीसँग विवाह भएको थियो । शुभरामकी बहिनी सुनिता बलामी दुःख मान्दै भन्छिन्, ‘मेरो एउटा मात्र दाइ हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । त्यही पनि यस्तो दुःखद घटनामा परेर बित्नुभयो… ।’

शुभरामको निधनपछि घरमा आमा भगवती र एक बहिनी मात्रै भएकाले अब खेतीपाती गर्न पनि कठिन भएको र बेला बेलामा हेरचाहका लागि आफू माइती जाने गरेको शुभरामकी बहिनी सुनिता बलामीले बताइन् । 

बहिनी सुनितासँग अन्तिम पटक दाई शुभरामको घटना हुनुभन्दा तीन दिनअघि भेट भएको थियो । विदेश जाने तयारीका कुराकानी भएका थिए । अब केबल सम्झनामा मात्रै दाई शुभराम रहेको सुनिताको भनाइ छ । शुभरामको मृत्युपछि भने पिता रामकृष्ण अहिले परिवारको सम्पर्कमा आएका छैनन् । कक्षा ९ सम्म पढेका शुभराम लामो समय ज्याला मजदुरीमा रहेका थिए । त्यसले मात्रै आफ्नो र परिवारका लागि खर्च धान्न धौधौ हुन्थ्यो । भएको खेतीपातीमा सामान्य उत्पादन भए पनि त्यसबाट खासै आर्थिक उपार्जन हुँदैनथ्यो । 

नातामा शुभरामका मामा राजेश बलामी शुभरामलाई राजनीतिमा खासै चासो नहुने र कुनै दलमा पनि सक्रियतापूर्वक आबद्ध नभएको व्यक्ति कसरी आन्दोलनमा पुगे भन्ने आफूहरूलाई पनि थाहा हुन नसकेको बताउछन् । 

‘ऊ त्यस्तो राजनीतिमा चासो राख्ने मान्छे होइन । साधारण मजदुरी गरेर खाने मान्छे हो’, कागती गाउँका स्थानीय राजनीतिक कार्यकर्ता राजेश बलामीले भने, ‘छोरो काम गर्नसक्ने भएपछि आफूलाई सुःख हुन्छ भन्ने दिदी भगवतीको चाहनामा गम्भीर ठेस लागेको छ । साह्रै दुःखद घटना भयो ।’ परिवारका अरु सदस्यका लागि राज्यका तर्फबाट कुनै रोजगारी वा अरु सहयोग भए आफूहरूलाई सहज हुने भनाइ पनि राजेश बलामीको रहेको छ । 

विगतमा बालविवाहको गाउँका रुपमा चिनिने कागती गाउँमा अहिले पनि बालविवाहका क्रममा सुधार आएको छ । साविकको ओखरपौवा गाविसमा पर्ने कागती गाउँ राजधानी काठमाडौँबाट १५ किलोमिटर पश्चिममा पर्छ । यहाँ बलामी जातिको मुख्य बसोबास रहेको छ । यहाँका बलामी समुदायमा वर्षमा एक दिन मात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने पुरानो परम्पराका कारण बालविवाहले यो गाउँ चर्चित भए पनि हाल त्यो प्रथा हटिसकेको छ । 

काठमाडौँको फोहर विसर्जन स्थल ओखरपौवा डम्पिङसाइटको बाटो निर्माणपश्चात् कागती गाउँको मुहार पनि फेरिएको छ । अहिले सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसको सङ्ख्या बढ्दो छ, जसका कारण स्थानीयवासीको जीवनस्तरमा क्रमशः परिवर्तन आएको छ । यसले भविष्यमा गाउँको बसाइँ सहर जस्तै सुविधा सम्पन्न हुने स्थिति हुँदै थियो, शुभराम बलामीहरू कामकै लागि विदेश जानुपर्ने अवस्था हुँदैनथ्यो । 

तर जेन-जी आन्दोलनमा शुभराम सहिद हुन पुगेपछि स्थानीहरू गाउँ, सहर वा विदेश कहाँ के गर्दा राम्रो भन्नेबारेमा ढुक्कले भन्न सक्ने अवस्थामा छैनन् । आन्दोलन र घटनाबाट पाठ सिकेर मुलुक हाँक्ने नेतृत्व र सरोकार भएका पक्षले जनताको जीवनस्तर सुधार र मुलुकका सुशासन तथा शान्ति कायमका लागि मिलेर काम गरिदिएमा सायद सहिदको सपना पनि पूरा हुने स्थानीयवासीको बुझाइ रहेको छ । रासस
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : २४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक