कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै « Khabarhub

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ ।

पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पुर्‍याउँथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।
 
‘बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्’, स्थानीय ६३ वर्षीय गोपाल सुनारले भने ।

उनका अनुसार कोठेगाउँका बेरोजगार युवा पनि यो पेसामा आउन मान्दैनन् । ‘बरु विदेशको खाडीमा पुगेर काम गर्न तयार छन् तर यो पेसा गर्दैनन् । अहिलेका केटाकेटीलाई बाँसको काम गर्न लाज लाग्छ अरे’, उनले भने ।

चोयाबाट कोठो, कोक्रो, भकारी, डोका, नाङ्लो बुनेर मासिक रु ३० हजार आम्दानी हुने गोपालले जानकारी दिए । ‘पहिलेको जस्तो चोयाका सामग्री बिक्रीका लागि बजार खोज्दै जानु पनि पर्दैन, अहिले घरमै आएर व्यापारीले लैजान्छन् । सीप जानेपछि त्यसले जीवनभर आम्दानीको स्रोत सुनिश्चित गरिरहन्छ’, उनले भने ।

विसं २०२७ मा गुल्मीबाट आएर पोखरा–३२ को मालेपाटनमा बसेका २८ सुनार परिवारको मुख्य पेसा चोयाका सामग्री बुन्ने र गाउँगाउँमा लगेर बिक्री गर्ने थियो । विशेषगरी कोदो राख्नका लागि प्रयोग हुने कोठो बढी बुन्ने गरिने भएकाले गाउँको नामाकरण नै कोठेगाउँ रहेको गोपालको भनाइ छ ।

आगामी १० वर्षपछि कोठेगाउँमा यो पेसा लोप हुने अवस्थामा पुगेको भन्दै गोपालले दुखेसो गरे । ‘युवा बुन्दैनन्, बुढाहरू मरेर जान्छन्, अनि गाउँको पहिचान नै मेटिन्छ । एक–दुई जना युवाले यो पेसालाई निरन्तरता हो भने पनि गाउँको पहिचान रहने थियो कि ?’, उनले प्रश्न गरे । 

मानिसको जन्मदेखि मरणसम्म बाँस र बाँसबाट बनेका सामग्रीको प्रयोग हुने भएकाले यो पेसाको संरक्षण र पुस्तान्तरणमा सरोकार भएका निकाय लाग्नुपर्नेमा गोपालले जोड दिए । ‘ससाना घरायसी सामग्रीदेखि ठूलाठूला होटल रेस्टुरेन्टसम्म बाँसबाट बनेका सामग्री प्रयोग हुन्छन् । तर, हामीले त्यसको महत्त्व नबुझ्दा पछि परेका छौँ’, उनले भने, ‘युवाहरूलाई यो पेसामा आकर्षण गर्नका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको व्यापार मेलामा मैले कोठो बुनिरहेको छु ।’

घरेलु उपयोगदेखि फर्निचर, खाद्य सामग्री, व्यापारिक प्रयोजन, पशुआहाराका रूपमा पनि बाँसका सामग्री प्रयोग गरिँदै आइएको छ । साथै भू–क्षय तथा बाढी,पहिरो नियन्त्रणमा पनि यसले सहयोग पुर्‍याउने कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताए । उनका अनुसार बाँस ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको महत्त्वपूर्ण स्रोत बनिरहेको छ । 

नेपालमा १२ जातिअन्तर्गत ५३ भन्दा बढी प्रजातिका बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिए । उनका अनुसार यीमध्ये सात प्रजातिका बाँस संसारमा कतै नपाइने रैथाने (इन्डेमिक) प्रजातिका छन् । ‘नेपालमा दुई जातिअन्तर्गत १० प्रजातिका बेतहरू पाइन्छ । बेत पनि बाँस प्रजातिम पर्ने विज्ञहरू बताउछन्’, उनले भने ।

नेपालका तराईदेखि पहाडी क्षेत्रमा बाँस पाइन्छ । तराईको सबैभन्दा होचो भाग झापा जिल्लाको कचनकवल क्षेत्रदेखि चार हजार मिटर उचाइसम्म बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिए ।  

नेपालमा बाँसको टुसा खानेदेखि बाँसका ह्यान्डीग्राफका रूपमा समेत प्रयोग हुन्छ । बाँसका टुसा अचार, तरकारीका रूपमा खाने गरिन्छ । 

‘बाँसबाट एक हजार ५०० प्रकारका वस्तु बनाउन सकिन्छ’, बस्नेतले भने, ‘डोको, नाम्लो, सुपो (नाङ्लो), टेबल, कुर्सीलगायत विभिन्न सामग्री बनाउन सकिन्छ ।’ बाँसबाट निर्मित हस्तकला, फर्निचर र घरायसी सामग्रीको माग स्वदेश तथा विदेशमा बढिरहे पनि पर्याप्त ज्ञान र सीपको कमीले व्यावसायिक खेती प्रणालीको विकास हुन नसकेको उनको भनाइ छ ।

बाँसको आन्तरिक बजार अनुमानित एक अर्ब बराबर रहेको जनाउँदै कृषिविज्ञ बस्नेतले छिमेकी मुलुक चीन र भारतसँग समन्वय गरी सरकारले व्यावसायिक बाँसखेतीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

‘यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर छ । तर, बेत सामग्री भारत र बङ्गलादेशबाट आयात हुन्छ । बाँसका सामग्री आयात र निर्यातमा नेपालले व्यापार घाटा व्यहोर्नु परिरहेको छ’, उनले भने । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : २३ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा