बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन « Khabarhub

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

स्थानीय भन्छन् : राजनीति प्रतिशोधको जोखिम उचित हुँदैन



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा क्षेत्र नम्बर ५ को चर्चा भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकछत्र मत ल्याएर जित्दै आएको उनको गृहनगर दमकसमेत समेटिएको यो क्षेत्रमा बालेनले साँच्चिकै आँखा लगाएका हुन् या गसिप मात्रै हो, त्यो चाहिँ उनी राजनीतिमा होमिएपछि थाहा हुन सक्छ ।

शाहले साँच्चिकै झापा ५ नै रोजेका हुन् त ? कि हात्ती तर्साउन नाङ्लो ठटाए जस्तै हल्ला मात्रै गरिएको हो ? धेरैको मनमा रहेको यो प्रश्न हामीले बालेनको सचिवालयका एक सदस्यलाई सोध्यौँ । उनले ठट्यौली शैलीमा भने, ‘के केपी ओलीलाई हराउन सकिँदैन र ? तयारी गरेको पनि हुनसक्छ । अथवा, शुभचिन्तकहरूले राजनीतिक कार्ड फ्याँकेर माया गरेको पनि हुनसक्छ ।’

ओलीलाई सञ्चारकर्मीहरूले बिहीबार यसबारे घेरेर जिज्ञासा राखे । एघारौँ महाधिवेशनका स्वयमसेवकलाई धन्यवाद दिन कार्की ब्यांक्वेट आइपुगेका उनलाई पत्रकारले सोधे, ‘तपाईँको निर्वाचन क्षेत्रबाट चुनाव लड्न बालेन आउँदै हुनुहुन्छ रे नि त ? त्यहीबेला ओलीले छोटो जवाफ दिए, ‘बहुत राम्रो।’

बालेन अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । ओलीले सरकारको नेतृत्व गर्दा बालेनले निरन्तर आक्रमण गरिरहे । उनले सामाजिक सञ्जालको शक्ति देखाउँदै ओलीविरुद्ध अनफलो अभियान पनि चलाए ।

हरेक मोर्चामा उत्रिरहेका बालेनलाई मेयरको चुनाव जित्दा बालकोटमा बोलाएर उनै ओलीले तबला उपहार दिएका थिए । त्यही तबला ठोकेकै शैलीमा ओलीविरुद्ध जाइ लागिरहेका बालेन यदि उनले चाहे जस्तै झापा ५ मा चुनाव लड्लान् ? त्यो अबको केही समयका राजनीतिक घटनाक्रमले देखाउला । तर, अहिलेलाई गृहनगरसमेत रहेको झापा ५ मा ओली र एमालेको लालकिल्ला जस्तै हो ।

झापा ५ मा ओलीले थालेको विकास निर्माण अभियान हेर्दा उनले मतदाताहरूको मनोभावनालाई राम्रोसँग कब्जा गरेको पाइन्छ । यति मात्रै होइन, आफ्नो क्षेत्रका नेता व्यवस्थापनमा पनि ओली सिपालु छन् । मंसिर २६ देखि पुस पहिलो सातासम्म चलेको एघारौँ महाधिवेशनमा झापा ५ बाटमात्रै १४ जना नेता केन्द्रीय सदस्य बने । ओली त तेस्रो कार्यकाल अध्यक्ष नै भए ।

बालेनले साँच्चै यही क्षेत्रबाट उठ्लान्, नउठ्लान या उनी राजनीतिमै आउलान्, नआउलान् निश्चित भइसकेको छैन । बालेनले ओलीलाई जिस्काउने गरी उठ्छ भनेको झापा ५ को २०७४ देखिको निर्वाचनको राजनीतिक हिसाबकिताब भने एक पटक हेरौँ न त ।

२०७२ सालमा नयाँ संविधान बनेपछि २०७४ मा निर्वाचनमा २८ हजार ८४२ मतान्तरसहित यहाँबाट प्रतिनिधि सभामा विजयी भए । ०७४ को झापा ५ मा एक लाख ३७ हजार ५४१ मतदाता थिए। जसबाट ओलीले मात्रै ९७ हजार १३९ मत पाए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याए।

२०७९ मा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बन्दा पनि ओली रक्षात्मक अवस्थामा पुग्ने अवस्था थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितले यहाँ ओलीलाई परास्त गर्न सारा रणनीति बनाए । तर परिस्थिति उल्टो भयो । ओलीको निर्वाचन क्षेत्र रहेको दमक नगरमा राप्रपाले स्थानीय तहको चुनाव जित्दा अनेक आशंका पनि गरिए । तर ओलीले त्यही राप्रपाको पनि साथ लिएर गठबन्धनलाई लोकप्रिय मतसहित घुँडा टेकाए ।

अहिले पनि ओलीले खुट्टो मात्रै उचाले पनि उनलाई जुरुक्कै बोक्न सबै तयार हुने एमाले जिल्ला सदस्य रमला भण्डारी बताउँछिन् । त्यहाँका युवा, वृद्ध, विद्यार्थी, सबैले ओलीलाई विश्वास गरेको उनी बताउँछिन ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा बढी मत ल्याएर ओलीले जितेका थिए । २०७९ को निर्वाचनमा उनको लोकप्रिय मतलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट उछिने । २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले झापा ३ मा सघायो ।
झापा ५ मा ओलीलाई राप्रपाले साथ दियो । दुवैले निर्वाचन जिते। ०७९ को निर्वाचनमा सहकार्य त्यही थियो । एमाले–राप्रपा सहकार्यको पीडित बने कांग्रेस नेता कृष्णप्रसाद सिटौला । दुई दुई पटक लिङ्देनसँग हारेपछि सिटौलाको राजनीतिक उचाइमा पनि धक्का लाग्यो ।

२०७९ को अवस्था

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूको मत हेर्दा झापा ५ मा एमालेको मात्रै मत ४१ हजार ६१९ थियो।

यहाँ दोस्रो बनेको कांग्रेसको २२ हजार २२ थियो । नेकपा माओवादी केन्द्रको जम्मा १० हजार ७७८ मात्रै थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस निर्वाचन क्षेत्रमा ८ हजार ३५३ मात्रै मत ल्यायो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक हजार ९८८ मत ल्यायो ।

दमक नगरपालिकाको प्रमुख जितेका राप्रपाका राम थापाले कांग्रेस र माओवादीसहितको गठबन्धनको बलियो साथ पाएका थिए । तर स्थानीय तहको गठबन्धन प्रतिनिधिसभामा आइपुग्दा उल्टियो । जहाँ एमाले र राप्रपा मिलेर कांग्रेस र माओवादीलाई धक्का दिए ।

ओली झापा क्षेत्र नम्बर ५ मा २०४८ सालदेखि उठिरहेका छन् । माओवादीको लहर भएको ०६४ सालमा उनी विश्वदीप लिङ्देनसँग पराजित भए । विश्वदीप अहिले कांग्रेसमा छन् ।

२०७९ मङ्सिरमा भएको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रसेसका डा. खगेन्द्र अधिकारीलाई हराए। त्यसबेला अधिकारीको मत २३ हजार ७४३ थियो । बालेन जस्तै ओलीविरुद्ध सार्वजनिक रुपमै लेख्ने बोल्ने गर्दै आएका युग पाठक सञ्चारमाध्यममा हल्ला गरेर २०७९ सालमा झापा पुगे ।

झापा ५ मा ओली हराउने भन्दै गएका उनले जमानत जफत भएर फर्किनुप¥यो । उनले हजार भोट पनि कटाउन सकेनन् । त्यसबेला उनले ३५६ मत ल्याएर काठमाडौं फर्किए ।

झापा ५ मा चार स्थानीय तह पर्छन् । जसमा ओलीको गृहनगर दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका पर्छन् ।
यी चार स्थानीय तहमध्ये एमालेले गौरादहमा मात्रै प्रमुख जितेको थियो । अन्य तीन स्थानीय तहमा गठबन्धनका उम्मेदवारले जिते ।

गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिका अध्यक्ष पनि कांग्रेसकै छन्। कमलको उपाध्यक्ष एमालेले जितेको थियो । गौरादहमा एमालेका अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका छन् ।

ओलीको गृह क्षेत्र दमकमा राप्रपाले मेयर जितेको छ । उपमेयर कांग्रेसले जितेको छ। यहाँ एमालेले सातवटा वडा जितेको छ । कांग्रेसले दुईवटा र एउटा राप्रपाले जित्यो ।
यी सबै स्थानीय तहको मत हेर्दा एमाले अहिले पनि बलियो नै देखिन्छ । यो निर्वाचन क्षेत्रमा २९ वटा वडा छन्, जहाँ स्थानीय तह निर्वाचनमा एमालेले १८ वडा जितेको थियो।

के भन्छन् स्थानीय ?

कमल गाउँपालिकाका स्थानीय मोती राजवंशी यो क्षेत्रमा जोसुकै आए पनि ओली नै विजयी हुने बताउँछन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई यो क्षेत्रबाट जित्ने कल्पनासमेत नगर्न सुझाव दिन्छन् ।

‘अध्यक्ष ओलीको कार्यशैली सुधार गर्नुपर्ला, त्यसमा हाम्रो मत छैन। जेन–जी आन्दोलनले ओलीलाई हटाउनुपर्ने निष्कर्ष निकालेको होला,’ २६ वर्षीय उनले भने, ‘तर झापा ५ को हकमा यो लागु हुने अवस्था छैन। किनकि स्थानीय क्षेत्रमा २०४८ सालदेखि विकास निर्माण गरेको मान्छेलाई यहाँ हराउँछन् भनेर कल्पना पनि नगरे हुन्छ ।’

दमकै राप्रपा समर्थक सुरेन्द्र मैनाली पनि बालेन्द्रले झापा ५ मा जित्ने अवस्था नभएको बताउँछन्। ४२ वर्षीय मैनाली भन्छन्, ‘म एक व्यवसायी भएको नाताले झापा ५ मा काठमाडौँको जस्तो नरहेको देख्छु, यहाँका र काठमाडौंका मतदाताको मनस्थिति र चेतना फरक छ । विकास–निर्माणसहित सबै दृष्टिमा यहाँ ओली नै रोज्छन्।’

पटक–पटक प्रधानमन्त्री भइसकेको शक्तिशाली व्यक्तिको साटो एकजना पपुलिस्ट व्यक्तिको पछाडि लागेर झापा ५ का मतदाता नहिँड्ने उनी बताउँछन् । बालेनलाई उनी केपीसँग भिड्ने गल्ती नगरी काठमाडौंबाटै उठेर अघि बढ्न सुझाउँछन् ।

एमाले जिल्ला कार्यसमिति सदस्य रमला भण्डारी पनि चारै स्थानीय तहमा ओलीको एकछत्र रहेको बताउँछिन् । उनी ओलीले संसदीय राजनीति त्यागे मात्रै अरुलाई विकल्प आउने बताउँदै भन्छिन्, ‘अध्यक्षले संसदीय राजनीति त्यागे पनि यहाँ एमाले बलियो छ। उहाँको निर्वाचन क्षेत्रमा बालेन उठे पनि जित्ने अवस्था छैन। यो राजनीति प्रतिशोधको जोखिम नलिन म बालेनलाई आग्रह गर्छु।’

जेन–जी आन्दोलनपछि देशको परिस्थिति फेरिए पनि ओली आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर पुगेका छन् । आन्दोलनको हावाले ओलीलाई झापा ५ मा कुनै फरक नपार्ने यहाँका स्थानीयको तर्क छ । तर बालेनले यहाँ पुगेर निर्वाचन लड्ने नलड्ने त्यो समयले बताउनेछ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ५५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण