सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार | Khabarhub Khabarhub

सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन् । उनीकहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताए ।

बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए। 

‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भने ।  

केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन् । कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यस वर्ष सुन्तलाबाट एक करोड ६० लाख बढी भित्रिएको छ । 

पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए ।

‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तला खेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’, पाइजाले भने। 

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । विसं २०६८ मा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् ।

 परम्परागत रूपमा धान, मकै, कोदो, मटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ ।

दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँ सराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँ सराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तला खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेका छन् । 

खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्वुजाले बताए। 

‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ’, गर्बुजाले भने । 

सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ । 

गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ । 

सुन्तला खेती विस्तार, रोगकीराको उपचार, आजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए । जिल्लामा यस वर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । 

म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा  सुन्तला खेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि एक सय २० सम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : ०९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर