काठमाडौं– लाखौँको सङ्ख्यामा घरलौरी नेपाली भारतको प्रयागराज पुगेर स्थान गरेर आए । आँगन नै परदेश भएकादेखि किशोर किशोरीसमेत महाकुम्भमा रमाए । भारतले धर्मलाई आर्थिक उपार्जनको माध्यम बनायो । त्यहाँका सञ्चारमाध्यमहरुको दाबीअनुसार महाकुम्भले त्यहाँको जीडीपी नै उकालो लागेको छ ।
भारतबाट धार्मिक पर्यटनको सुखद समाचार आइरहँदा नेपालमा रहेको सुविख्यात तीर्थस्थल पाथीभरा क्षेत्रमा कर्फयु छ । एउटा व्यापारीक केबुलकार बनाउने विषयलाई लिएर समाज विभाजित छ ।
जनताको अभिभावक मानिने सरकारको व्यवहार सन्दिग्ध रहेको अनुभव स्थानीयवासीले गरेका छन् । शास्त्रमा उल्लेख भएका हाम्रा धार्मिक र सांस्कृतिक सम्पदा खोटो मोहोर बनाइएको छ ।
उत्तरप्रदेशस्थित ‘प्रयागराज महाकुम्भ मेलाबाट भारतले प्राप्त गरेको आर्थिक, सामाजिक र सांस्कृतिक ख्यातीबारे राजनीतिज्ञ, नीति निर्माता बेखबर छन् । हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेलालाई हिन्दु धार्मिक तथा पौराणिक ग्रन्थहरूका अनुसार ‘अमर मेला’ पनि भनिन्छ ।

गएको पुस २९ बाट सुरु भएको मेलाले विश्वमै नयाँ इतिहास रचेको दाबी गरिएको छ। टाइम्स अफ इन्डिया दैनिकमा प्रकाशित समाचारका अनुसार महाकुम्भमा स्नान गर्न करिब ५० करोड धार्मिक पर्यटक पुगेको जनाएको छ।
आयोजकका अनुसार प्रयागराजमा दैनिक एक करोड बढी तीर्थालु आएका थिए । जसको गणना हरेक चोकमा आर्टिफिसियल इन्टेलिजेन्सक्यामेराबाट गरिएको थियो । डिजिटल मिडिया र सामाजिक सञ्जालबाट व्यापक प्रचार भएपछि महाकुम्भमा मानव सागर ओइरिएको देखिन्छ ।
हिन्दुहरूको आस्थाको धरोहर भएकाले प्रयागराजमा स्नान गर्न ठुलो सङ्ख्यामा मानिस पुगे । नेपाल, ग्रीस, बेल्जियम, अमेरिका, जापान, थाइल्यान्डलगायत विभिन्न देशका धार्मिक पर्यटकहरू पुगे ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको परिवार र बलिउड तथा खेलकुद जगतका सेलिब्रेटीहरू पनि स्नान गर्न पुगे ।
त्यस्तै, नेपालबाट नागरिक, उद्योगी, व्यापारी, नेता, खेलाडीहरू स्नान गरेर फर्किएका छन् । काँग्रेस महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, पूर्व परराष्ट्रमन्त्री एनपी साउद, एमालेका महेश बस्नेत र रास्वपाका नेता डा.स्वर्णिम वाग्ले लगायतका नेताहरु स्नान गर्न पुगे । त्यसैगरी क्रिकेटका राष्ट्रिय खेलाडी सोमपाल कामी र करण केसी पुगेका थिए ।
करिब आधा अर्ब मानिसको आवतजावत हुँदा भारतीय अर्थतन्त्र नै चलायमान बनेको छ । अन्तर्राष्ट्रिय धार्मिक पर्यटकहरूले विदेशी मुद्रा आर्जनसमेत सघाएको छ।नेपालमा पनि देवघाट, कालीगण्डकी, गोसाइकुण्ड लगायतका धार्मिक क्षेत्रहरू छन् । जहाँ महाकुम्भ जस्ता मेला आयोजना गर्न सकिन्छ । तर नेपालमा सरकार वा सरोकारवाला निकाय यस्ता विषयमा मौन देखिन्छन् ।

महाकुम्भ नेपालमा सम्भव छ वा छैन ? भारतको महाकुम्भ मेलाबाट नेपालले सिक्नुपर्ने के–के कुराहरू छन् लगायतका विषयमा चीनमा अध्यापनरत भरत शर्मासँग प्रयागराजको बारेमा खबरहबले कुराकानी गरेको छ । उनी त्यहाँ भारत र नेपालको धर्म, संस्कृतिबारे चिनियाँ विद्यार्थीलाई पढाउँछन् ।
प्रयागराजको सबैभन्दा महत्त्व भनेको स्नान हो । तीन वटा नदी गंगा यमुना र सरस्वतीको सङ्गममा स्नान गर्दा पवित्र हुने विश्वास छ । आध्यात्मिक दृष्टिकोणबाट हेर्दा जहाँ ठूला–ठूला तपस्वी, ऋषिमुनिहरुले स्नान गरेको ठाउँ हो ।
यो १४४ वर्षमा भएको भनेर भारतीय मिडिया, सामाजिक सञ्जाल र प्रचार बाजहरूले गलत सन्देश दिए । अर्थतन्त्र पनि उकास्ने हुनाले प्रचार गर्नेलाई सरकारले पनि नियमन नगरेको देखिन्छ । यसबारे कुनै शास्त्रीय मान्यता छैन ।
यो १२ वर्षमा आउने, ६ वर्षको कुम्भ र अर्धकुम्भ भन्ने हुन्छ । १४४ यही समयमा आउने भन्ने कुरो हो । आधिकारिक रूपमा भारतमा चार जना मात्रै शंकाचार्य छन् । उहाँहरुले पनि भन्नुभएको छैन । शास्त्रीय प्रमाण भने छैन । खाली भीड बढाउनको लागि गलत प्रचार गरेको देखिन्छ । अहिले त्यो भीडको असर अयोध्या र बनारसमा देखिएको छ ।
म १९९९ देखि हरेक वर्ष बनारस गइराखेको छु । तर यो वर्ष बनारसमा भक्तजनको चाप अहिलेसम्म देखेको थिइनँ । प्रयागराज जानेहरूले पशुपतिको जात्रा सिद्राको व्यापार भने जस्तो अयोध्यालाई पनि रोजे, काशी विश्वनाथलाई पनि रोजे । अहिले २४ घण्टा मन्दिर खुला गरिएको छ । भक्तजनको ओइरो छ । प्रयागराजको प्रभाव अयोध्या र काशीमासमेत देखिएको छ ।
देवघाटधाम आदि प्रयाग हो । देवघाटमा स्नान नगरी प्रयागराजमा स्नान गर्दा फल मिल्दैन भनेर शास्त्रमै लेखिएको छ । व्यक्तिगत रूपमा म आफू देवघाटमा स्नान गरेर प्रयागराज गएँ । हामी आफ्नो धार्मिक स्थलको प्रचार गर्नमा चुकेका छाैँ । गोसाईंकुण्डबाट बगेर आएको नदी उता दामोदर नदी बगेर आएको संगमस्थल देवघाट आदी प्रयाग हो ।
कम्तीमा नेपालीहरूले देवघाटमा स्नान नगरी प्रयाग गएका छौँ भने त्यसको अर्थ छैन । व्यक्तिगत रूपमा मैले चिनेका साथी आफन्तलाई भने । तर यो सरकारीस्तरबाटै प्रचार हुन आवश्यक छ । धेरैलाई थाहा नगएर प्रयाग गए, थाहा भएको भए, पहिले देवघाट जान्थे नि ।
देवघाट हुँदै त्यही बाटो हुँदै प्रयाग गए । तर थाहा नहुँदा फल नै प्राप्त नहुने स्नान गर्नुप¥यो । तर देवघाटका गुरुहरूले यदाकदा भनेपछि प्रयागबाट फर्किदा देवघाट स्नान गर्न पुगेका छन् । तर यो उल्टो भयो । थाहा नपाएपछि धर्ममा माफी हुन्छ । भारत देश र जनसंख्याको हिसाबले ठूलो छ ।
त्यहाँ सन्त महात्मा धार्मिक गुरुहरू छन् । जसले धार्मिक स्थलको प्रचारमा जोड दिन्छन् । त्यहाँ सरकारको पनि उत्तिकै साथ छ । तर नेपालमा प्रचार हुन नसक्दा र धार्मिक पर्यटकीय क्षेत्रमा सरकारको चासो नहुँदा भक्तजनहरू ल्याउन सकिएन । धार्मिक स्थलको प्रचार गर्नु भनेको पून्य कमाउनु हो । भक्तजनलाई सूचना दिनु महापून्यको काम हो । तर यो नेपालमा हुन सकिरहेको छैन ।
भारतको रिजर्व बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतको जीडीपी एक प्रतिशतले वृद्धि भएको छ । देवघाट, कालीगण्डकी, मुक्तिनाथलगायतका धार्मिकस्थलका प्रचार गर्न सकेनौँ । जनसङ्ख्या अनुसार प्रयागमा भारतीय भन्दा नेपाली गएको देखिन्छ । प्रतिशतको हिसाबले नेपालीले बढी स्नान गरेका छन् । हामीले आफ्नो तीर्थस्थललाई प्राथमिकता दिएनौ । त्यसको परिणाम नेपालीहरू पुरै उल्टिएर प्रयाग पुगे ।
भारतीय सञ्चारमाध्यमहरूले भक्तजनमा छालाको समस्या देखिएको समाचार लेखे । नदीमा पनि विभिन्न स्थानले फरक पार्यो । बगिरहेको पानीमा स्नान गर्नेहरूलाई केही भएको छैन । पानी जमिरहेको अथवा नबगेको स्थानमा स्नान गर्नेहरूमा समस्या देखियो ।
६२ करोड भक्तजन पुगेको ठाउँमा फोहोर जम्मा हुने भयो । ३ दिन बसे व्यवस्थापनमा कमजोरी देखे । जलसुरक्षाकर्मीहरु थिए । उनीहरूको निगरानीमा स्नान थियो । ६ सय भन्दा बढी निजी जहाज पुगे । नेपालमा कुम्भ लाग्ने भन्ने कुरा उठ्यो भने नेपालीहरू नै विरोध गर्छन् । हामीले आफ्नो चिज चिन्न सकेनौ । भारतमा भएको विरोध हुँदैन, यहाँ विरोध हुन्छ ।
महाकुम्भको पौराणिक मान्यता के हो ?
ग्रन्थका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । जसको सुरुवात शंकराचार्यले गरेका थिए । कतिपयले समुद्र मन्थनको बगैँचाबाट कुम्भ मेला सुरु भएको विश्वास गर्छन् । महाकुम्भको ऐतिहासिक उल्लेख पुरातन शिलालेखहरूमा पनि पाइन्छ।
ईसा पूर्व ६०० मा बौद्ध लेखहरूमा नदीमा मेलाहरू लाग्ने गरेको र भगवानमा लीन भएको प्रमाण उल्लेख छ । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउन लडिरहेको समयमा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागेको र पछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे ।
जयन्त अमृत कलश लिएर भाग्दा अमृत कलशको थोपा–थोपाचार ठाउँमा खसेको थियो । जहाँ–जहाँ अमृत कलश खस्यो आज त्यसस्थानहरुमा महाकुम्भ आयोजना गरिन्छ। त्यस बेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा कुम्भ मेला आयोजना गरिँदै आएको हो ।
प्रतिक्रिया