‘क्यान्सरले अस्पतालको बेडमा पुगेपछि आफन्त–पराई सबै चिनेँ’ | Khabarhub Khabarhub

‘क्यान्सरले अस्पतालको बेडमा पुगेपछि आफन्त–पराई सबै चिनेँ’



पोखरा- मेरो जीवनका तीन घुम्ती छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्री, जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।

दोस्रो मोड, जब मलाई क्यान्सर भयो, त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन, बाँच्छु, मर्छु, के हुन्छ । त्यो दोस्रो घुम्ती भयो ।

तेस्रो, मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो कोसिस के छ भने नौलो जिन्दगी हुनेछ । मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःख–सुःखको एउटा अनुुभव छ । त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुुम्तीमा छुु ।

म जहिले जवान थिए, मसँग असाध्यै ऊर्जा थियो । त्यसैको प्रभावले कहिले निकै उचाइमा पुगेँ, खस्दा पनि छङ्गै खसेँ ।

क्यान्सरले ग्रसित हुनु मेरो जीवनको एउटा महत्वपूर्ण समय थियो । त्यसैले जहिल्यै पनि सम्झन चाहन्छु । जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ । र त्यतिखेर म मृत्युको बोधले या भयले घेरिएको थिए । एक्लोपनले गिजलेको थियो । मृत्यु, मलाई लाग्छ, हामी सबैको एक न एक दिन सत्य हुन्छ । कसैको छिटो, कसैको ढिलो । तर, हामीले एक दिन भोग्नु नै पर्छ ।

त्यसपछि मलाई लाग्यो, बाँच्न पाए भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ कि ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर । बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु ।

क्यान्सरको उपचार गर्न अस्पतालमा बस्दा आशावादी थिइनँ । निराश थिएँ । लाग्यो कि मलाई यही मेरो जीवनको अन्तिम क्षण हो । अन्तिम दिन हुन् ।

असाध्यै हीनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ । तर त्यसको भरपूूर उपयोग गर्न सकिनँ । त्यसको दुरुपयोग गरेँ । म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षकी थिएँ । मैले ४१ वर्षसम्म बाँच्न पाएकी थिएँ । उपयोग आफैंले बाँच्न गरेँ भनेर असाध्यै हीनताबोध भएको थियो ।

अस्पतालको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर । आफन्त को हो भनेर ? आफन्त देखिने भनेको को रहेछ ? जीवनमा के महत्वपूर्ण रहेछ ? के संवेदनशील छ ? के संवेदनशील छैन भनेर ?

क्यान्सर हुनुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ, मेरो अन्त्य छैन भनेर । अंहकार जस्तो थियो ।’ हामीले आफ्नो मृत्युबारे सोचेकै हुँदैनौँ । कहिले मर्ने थाहा भएन । मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो । एक्लोपन असाध्यै भयो । डर असाध्यै लाग्यो ।

बाँच्छुु, जिउँछु ? कतिसम्म बाँच्छु र कहिलेसम्म कुन हालतमा बाँच्छु ? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ भन्ने पनि थाहा थिएन । अपाङ्ग भएर बाँच्छु कि ? भन्ने सोचहरू मनमा आएको थियो । भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु ।

जब अस्पतालमा थिएँ, त्यतिखेर मैले सोचेका मान्छेहरू, माया गरेका मान्छेहरु म सँग कोही आएनन् । मेरा आमाबुवा र निकट साथीबाहेकका एक दुई आए । मेरो त जमातै हुन्थ्यो, ठूलो सर्कलमा साथी थिए । त्यतिखेर कोही भएन । म एक्लो निराश भएर अस्पतालको बेडमा बसिरहेकी हुन्थेँ ।

एकजना डाक्टर हुनुहुन्थ्यो । हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो । पूरा दिन बस्नुहुन्थ्यो । एकचोटी बस्नुभो । दुईचोटी बस्नुभो । मेरो मनमा धेरै प्रश्न आउन थाले । एकदिन त मैले आफूलाई रोकेर सोधेँ, ‘तपाईं आइतबार यहाँ अएर बस्नुहुन्छ । न्यूयोर्कको राम्रो अस्पतालको डक्टर हुनुहुन्छ । त्यहाँ तपाईं यति व्यस्त हुनुुहुन्छ । आइतबार एक दिन पाउनुहुन्छ त्यो पनि आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो । तर, तपाईं मकहाँ आउनुहुन्छ ? तपाईं मेरो फ्यान पनि होइन । साथी पनि होइन । किन मसँग बस्नुहुन्छ ? आफ्नो महत्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुुभएको छ ?’

उहाँले भन्नुभो, ‘मनिषाजी सो द्याट यु डु दिस समबडी एल्स ।’ म अवाक् भएँ । उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर । र, मलाई साथको खाँचो छ भनेर । त्यसैले उहाँ आउनुभो । उहाँलाई इच्छा रहेछ, मैले पनि त्यसै गरिदिऊँ कसैलाई परेको बेलामा ।

हरेक मान्छेको सोच फरक हुन्छ । तपाईंसँग एक जना होस्, दस जना होस्, कोही नहोस् । तर, तिमी शान्त छौ भने केही हुँदैन । हामलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौँ । यसले माया गर्देला, दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं । तर, उभियो भने ठीकै छ नउभिएपनि ठीकै छ नि त ! भनेर स्वीकार गर्न सक्नुपर्छ । माया प्रेम पाए पनि राम्रो नपाएपनि राम्रो । ब्यालेन्ससिटको फर्मुलामा गयो भने गाह्रो हुन्छ ।

उचाइमा पुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ । म युवा हुँदा एउटै नाक आकाशतिर भएर हिँड्थेँ । इगो धेरै बुस्ट हुन्छ । मेरो सेकेन्ड इनिङमा मैले सफलता पाएर यसमा रमाएँ । किनभने मैले असाध्यै मिहिनेत गरेर सफलता पाएँ । मैले आफैंलाई असाध्यै आशीर्वाद दिएँ । मैले आफैंले स्याबास भनेँ पनि । तर, मलाई यति थाहा छ कि यी सबै सकिने रहेछन् । जिन्दगीको सत्य अस्थायी हो । भोलि के हुन्छ थाहा हुँदैन ।

उचाइमा पुग्दा सीमितता हुन्छ । अब यो पछि के गर्ने भन्ने हुन्छ ? त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन । हामी मनुष्य हरेक जीवनमा साझा सत्य के हुन्छ भने निराश, सफलता । हामी सफल पनि देख्छौं, ओरालो झरिरहेका पनि हुन्छौं । सानो होस् या ठूलो कुरा होस् कहीं हामीलाई धेरै माया इज्जत दिइन्छ ।

त्यो सधैंभरीका लागि हुँदैन । भोलि गएर कहीँ अपमान, बेइज्जती सहनुपर्ला । म धेरै नै ओरोलामा झर्न चाहिन र धेरै नै उचाइमा पुगेर पागल पनि हुन चाहँदिनँ भन्ने मानवीय स्वभाव रहेछ ।

जब मैले जिन्दगीलाई बुझ्दै गएँ, धेरै बुुझ्ने भएँ । युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दा म ओहो ! मीनाकुमारी भन्थेँ । एकदम निराश हुने । हरेक चिज परिवर्तन हुन्छ । अहिले जब उमेर बढ्दै गयो अहिले लाग्छ हरेक चिज परिवर्तनशील छन् । जिन्दगी बुझेर बाँचेको राम्रो ।

क्यान्सर भएर बेडमा हुँदा मैले सोचेको थिएँ – जिन्दगी सुधार गर्छु । जसले मलाई साँचो माया गरेको छ जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपन्तत्व महसुस गराउँछु, झन् सुदृढ गराउँछु, मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछु । त्यो सबै एक एक गर्दै हिँडिराख्याछु अहिले । धेरै मान्छेले बम्बईमा फेरि करियर सुरू हुन्छ भनेर सोचेको थिएँ । किनभने मलाई सिनेमा मन पर्छ । अभिनय, कथाहरू भन्न, सुन्न, हेर्न मन लाग्छ । तर, मेरो अर्को पाटो खुलिसकेको छ ।

अब म एक्सप्लोर जिन्दगी बाँच्न चाहन्छु । जहाँ मेरो आत्मले लाग्छ जहाँ मलाई खुसी लाग्छ त्यो बाटो हिँड्दै जान्छु, जहाँ मलाई दिमागले नबाँधोस् । म जिन्दगीलाई खुला गर्दैछु ।

मनमा एउटा सोच थियो, म जुन उचाइमा थिएँ फेरि त्यही उचाइमा लगेर म निर्णय लिन्छु निरन्तर गर्छु कि गर्न चाहँदिनँ । किनभने जो मान्छेले मृत्युको बोध गरेको हुन्छ, त्यसलाई धैरै कुरा बाँध्दैन । म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन । तर, एउटा फ्लोमा करियर थियो ।

मैले कडा मिहिनेत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु । राम्रो काम गरेपछि अँ राम्रा निर्देशकहरू एक्कासि जिन्दगीले जोडले मलाई लगेको थियो । एकदमै महत्कांक्षी भएर म अगाडि बढेको होइन । पहिला पनि म त्यस्तो महत्कांक्षी होइन, अहिले पनि छैन ।

मलाई अनुभव हुन्छ मैले केही महत्वकांक्षा प्रयोग गरे जब केही महत्वपूर्ण उपलब्धी हासिल गरें । तर, पूर्ण क्षमतावान् थिएँ महत्वकांक्षा हुन ।

मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन । म धैरै कलात्मक, सिर्जनशील, जिप्सी छु । राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिबारे सुन्दा सुन्दा रुचि कम छ । राजनीति सजिलोसँग बुझिन्छ ।

नेपाली सिनेमाको अहिले राम्रो समय छ । ‘पूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि पहिलो ५० करोड बढी कमाउने । यो सुरुआत हो । किनकि पहिले पहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो । अहिले सय करोडमा पुगेपछि सम्भावनाका ढोका खुलेका छन् ।

हामीले सिर्जनशीलता दिनुपर्छ । नेपाली समाजमा किताब पढ्नेहरू बढी छन् । त्यसको मतलव यदि कसैले सिर्जनशील फिल्म बनाउँछ । हाम्रो आफ्नो माटो, परम्परा, कथाहरू फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौं । त्यस्ता फिल्म निर्माताहरू युवापुस्तामा देखिएका छन् ।

(क्यान्सरलाई हराएकीअभिनेत्री मनीषा कोइरालासँग पत्रकार विजयकुमारले पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा गरेको संवादमा आधारित)

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ५७ बजे

अपडेट : सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौं उपत्यकामासहित देशभर ठुलो भूकम्पको

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महुसुस भएको छ

जबरजस्तीकरणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ

भक्तपुर – जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

काठमाडौं – कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति

काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला

काठमाडौं – काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव