प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा « Khabarhub

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ ।

स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो । 

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यका लागि अन्ताराष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण भएकाले प्रधानमन्त्री ओलीबाट भ्रमण हुन लागेको बताए ।

प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका काम पूरा भएको जनाउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताए । 

प्रवक्ता क्षेत्रीले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा विकसित मुलुक र विकासशील एवं कम विकसित मुलुकबीचको सर्वाधिक महत्वको सम्मेलन भएकाले त्यहीअनुरूप उच्च प्राथमिकता र उच्चस्तरीय सहभागिता महत्त्वपूर्ण हुने जनाए । 

नेपालले हाल अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेको अवस्थामा नेपालको छुट्टै भूमिका हुनेसमेत बनाए  ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नेछन् ।

यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली असार १४ गते शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।

कूल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । काठमाडौँबाट २१, स्पेन र न्युयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।

भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ५१ बजे

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना